• २६ साउन २०८२, सोमबार

कैलाली कारागारभित्र सुरक्षाकर्मीको प्रवेश, गरियो कैदीको गणना

blog

कारागारभित्र प्रवेश गर्दै सुरक्षाकर्मी ।

अविनाश चौधरी

धनगढी, साउन २५ गते । दुई पक्षका कैदीबिच भएको हिंसात्मक झडपपछि तनावग्रस्त बनेको कैलाली कारागारभित्र आज हातहतियारसहित सुरक्षाकर्मी, कारागार प्रशासन र मानव अधिकार आयोगको टोली प्रवेश गरेको छ । 

घटना भएको एक दिनपछि कारागारभित्र प्रवेश गरेर कैदीको अवस्था बुझ्नुका साथै उनीहरुको गणना गरिएको हो । हिंसात्मक झडपपछि कैदीले कारागारलाई नियन्त्रणमा लिएका थिए । जसको कारण सुरक्षा निकाय प्रवेश गर्न सकेको थिएन । 

आज गरिएको गणनामा कैदीको संख्यामा तलमाथि नभएको पाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । गणनानुसार ब्लक ए मा ३९६, ब्लक बी मा १९८ र महिला ब्लक सी मा ५६ जना रहेका छन् । 

कारागारमा क्षमताभन्दा पाँच गुणा बढी सातसय कैदी रहेका छन् । शुक्रबार राति ब्लक ए मा रहेका कैदीले ब्लक बी मा रहेका कैदीमाथि आक्रमण गर्दा धनगढी उपमहानगरपालिका –४ का ४० वर्षीय भरत चौधरीको ज्यान गएको थियो । घटनामा घाइते भएका ४९ जना कैदीको उपचार भइरहेको छ । घाइतेसमेत गरेर अब कारागारमा ६९९ कैदी छन् । 

घटनापछि तनावग्रस्त बनेको कारागारभित्र अवस्था सहज बनेको राष्ट्रिय मानवअधिकार आयोगले पनि जनाएको छ । कारागारभित्र घटनास्थलसम्म पुग्दा वातावरण शान्त बनेको र सुरक्षा निकाय, कारागार प्रशासनसहित आयोगको टोलीले कैदीको गणना गरेको आयोगका अधिकृत विदेश चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अवस्था शान्त देखियो । वातावरण सहज बनेको छ ।”