• २६ साउन २०८२, सोमबार

लैङ्गिक समानताले समाज सम्मानित र समावेशी बन्छ : सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य नेता । तस्बिर : रासस

 पाटन (ललितपुर), साउन २५ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभएको धारणा राख्नुभएको छ। 

नेपाली कांग्रेसको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैङ्गिक समानताका विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताउनुभयो । 

“लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा होइन, यो समग्र सामाजिक रूपान्तरणको एक महत्वपूर्ण विषय पनि हो, हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सक्छौं भन्ने हाम्रो दृढ विश्वास छ, लैङ्गिक संवेदनशीलतासँग सम्बन्धित विचार र सुझावलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ”, सभापति देउवाले भन्नुभयो ।

सोसल डेमोक्रेसीको सञ्जालसँग विभिन्न देशका सामाजिक लोकतान्त्रिक राजनीतिक दलहरू आवद्ध रहेको उल्लेख गर्नुहुँदै सभापति देउवाले यस सञ्जालले एसियाली क्षेत्रको समसामयिक राजनीतिक, आर्थिक र सामाजिक बहसलाई गहिरो र फराकिलो बनाउँदै आएको बताउनुभयो । 

उहाँले सोसल डेमोक्रेसीले विकास, समानता र न्यायमा आधारित समावेशी नीति निर्माणका लागि एउटा सशक्त प्लेटफर्मको रुपमा काम गर्दै आएको बताउनुभयो । 

त्यस अवसरमा सभापति देउवाले नेपाली कांग्रेसकी नेतृ, नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष स्वर्गीय मंङ्गलादेवी सिंहलाई स्मरण  गर्नुभयो । “विसं २००४ मा भएको पहिलो नगर परिषद्को निर्वाचनमा महिलाहरुको मताधिकार हकका लागि उहाँले आन्दोलन गर्नुभएको थियो”, उहाँले भन्नुभयो । 

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले नेपाली समाजको चेनताको स्तर उच्च रहेको भन्दै लैङ्गिक समानतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । 

पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले लैङ्गिक समानता महिलाको मात्रै नभै सामाजिक रुपमा पछाडि पारिएका व्यक्ति तथा समुदायहरुको समेतको सरोकारको बिषय रहेको बताउनुभयो । 

कांग्रेस सहमहामन्त्री जीवन परियारले विश्वभरि नै महिलाहरूको अधिकारका विषयमा केन्द्रित भएर महिलामाथि भएको अन्याय, अपमानबाट आन्दोलनको कुरा उठेको चर्चा गर्नुभयो । उहाँले नेपालका महिला, दलित, सुकुम्बासी, थारुलगायतको विषयमा नेपाली कांग्रेस सचेत रहेको उल्लेख गर्नुभयो । 


जनता समाजवादी पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापाले लोककल्याणकारी राज्य स्थापनाका लागि स्थानीयदेखि केन्द्रीय तहको नेतृत्वसम्म महिलाको सहभागिता अभिबृद्धि हुनुपर्नेमा जोड दिनुभयो । 

नेपाली कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले नेपाली समुदाय महिला र कमजोर वर्ग, समुदायप्रति असंवेदनशील हुँदै गइरहेको उल्लेख गर्नुभयो । उहाँले महिला र पुरुषलाई समान रुपले हेर्ने मनस्थिति हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल महिला सङ्घको अध्यक्ष उषा मिश्र राउतले लैङ्गिक समानताका विषयमा समाजलाई जागरुक बनाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस र स्थानीय राजनीतिमा महिलाहरूको सहभागितालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न र महिलाहरूको क्षमता अभिबृद्धि गर्न सातै प्रदेशका स्थानीय तहमा समेत गएर गोष्ठी सञ्चालन गर्ने जानकारी गराइएको छ । रासस