राजकुमार भट्टराई
खोटाङ, साउन २५ गते। दुई दिन अघि गाडिएको दिदीभाइको शव जिल्ला प्रहरी कार्यालय खोटाङले निकालेको छ। साउन २२ गते राति मृत भेटिएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका एकैघरका ११ वर्षीय मेनिषा बस्नेत र ६ वर्षका मेगराज बस्नेतको शव निकालिएको हो।
साउन २३ गते गाडिएको शवलाई प्रहरीले साउन २५ गते साँझ निकालेको हो। कानुनी प्रकृया पुरा नगरी सामसुम पारेर गाडिएको भन्दै प्रहरीले चिहानलाई खोतलेर शव निकालेको हो। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले बताउनुभयो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ।
साउन २२ गते बिहीबार मृत भेटिएका दुईसहित ६ जना बालबालिका हराएका थिए। गोविन्द नामले चिनिने नवराज बस्नेतकाका दुई छोरी, एक छोरा र छिमेकीका तीन छोरी हराएकोमा बस्नेतको जेठी छोरी र छोरो मृत भेटिएका थिए। बस्नेतको माइली छोरी र छिमेकीका छोरी भने सकुसल भेटिएको स्थानीयले बताएका छन्। भीरबाट लडेर मृत अवस्थामा भेटिएका दिदिभाइको शुक्रबार गाउँलेले अन्त्येष्टि गरेका थिए। ‘मृत भेटिएका बालबालिकाको प्रहरीलाई जानकारी नगराई अन्त्येष्टि’ शीर्षकमा गोरखापत्र अनलाइनमा शनिबार समाचार प्रकाशित भएको थियो।
मृतक बालबालिकाका बुवा नवराज बस्नेत शान्ति निकेतन मावि छोरम्बु सापतेलका कार्यालय सहयोगीको रूपमा कार्यरत हुनुहुन्छ। श्रीमतीले अर्कै बिहे गरेपछि दुई छोरी र एक छोरासहित नवराज घरमा बस्दै आउनुभएको थिाये। प्राय सधैं छोराछोरी विद्यालयसँगै लिएर जाने नवराजले बिहीबार भने घरमा डिसहोम जडान गरेकाले ढिलाहुँदा छोराछोरीलाई आउँदै गर्नु भनेर विद्यालय एक्लै जानुभएको थियो। तर, सो दिन विद्यालय नपुगेका छोराछोरी घरमा नभेटेपछि खोज्दैजाँदा जङ्गलमा मृत भेटिएको बताइएको छ।
नवराजका दुई छोरी र एक छोरासहित छिमेकीकाका तीन छोरी हराएका थिए। उनीहरू साप्सु खोला तरेर थ्रि स्टार हाइड्रोपावरसम्म पुगेर फर्किएको पाइएको छ। घर फर्किँदा बाटो बिराएर उनीहरू वडा नम्बर २ स्थित खमारे भन्ने ठाउँमा पुगेका थिए। साँझसम्म बालबालिका घर नपुगेपछि खोज्दै जाँदा बुवा नवराजले आफ्ना दुई सन्तान मृत भेटेको बताउनुभएको थियो। बाटोमा बच्चाको चप्पल भेटिएपछि खोज्दै जाँदा खरुवा खोलामा जेठी छोरीको शव भेटिएको थियो। त्यसपछि विद्यालयका प्रधानाध्यापक लगायत गाउँलेलाई बुवा नवराजले खबर गरेको स्थानीय बस्नेतले बताउनुभयो। छोरीको भन्दा केही माथि छोराको पनि शव भेटिएको थियो।
नवराजकै माइली छोरीसहित अन्य तीन जना बच्चा भने बाटोमुनि ओढारमा भेटिएका थिए। सँगै आइरहेका साथी एक्कासी पछाडि नदेखिएपछि उनीहरू पनि खोज्दै फर्किएको तर नभेटेपछि आफुहरू अलपत्र परेर बसेको बताएका थिए। बिहीबार राति करिब ८ बजेको समयमा आफ्नै बुवाले मृत भेटेका बच्चा रातभरि गाउँलेले त्यही रुँगेर शुक्रबार छोरम्बु ल्याएर दाहसंस्कार गरेका थिए। लडेर मृत्यु भएको प्रष्ट देखिएपछि प्रहरीलाई खबर नगरिएको गाउँलेले बताएका थिए। आइतबार प्रहरीले भने कानूनी प्रक्रिया पुरा नभएको भन्दै शव गाडेको ठाउँबाट निकालेर ल्याएको हो। बालबालिकाको मृत्युको विषयमा अब गम्भीर अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ।