• ३१ वैशाख २०८३, बिहिबार

पर्वतका किसानलाई अनुदानमा एक लाख २३ हजार माछाका भुरा

blog

कृषकलाई माछाका भुरा वितरण गर्दै । तस्बिर सौजन्य : प्रकाश परियार

साजन परियार
पर्वत, वैशाख ३१ गते ।
पर्वतका मत्स्यपालक कृषकलाई माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले शतप्रतिशत अनुदानमा पर्वतका ५७ जना कृषकलाई एक लाख २३ हजार माछाका भुरा विवरण गरेको हो ।

व्यावसायिक रुपमा माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न कृषकको पोखरीमा पुगेर माछा विवरण गरेको कार्यालयका पशु स्वास्थ्य प्राविधिक प्रकाश परियारले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयदेखि माछापालन व्यवसायमा आवद्ध कृषकबाट निवेदन संकलन गरी सबै कृषकलाई माछाका भुरा उपलव्ध गराइएको छ ।

कार्यालय प्रमुख सुरेश कुमार श्रेष्ठले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत दुई लाख रुपियाँ बजेट विनियोजन गरेर माछाका भुरा विवरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय हावापानीसँग सहज रुपमा हुर्किन सक्ने कमनकार्प जातका भुरा उपलव्ध गराइएको हो । ‘‘यो जातको माछा एक वर्षमै करिव दुई किलोसम्म पुग्ने भएकाले कृषकलाई राम्रो आम्दानी लिन सहज हुन्छ,’’ उहाँले भन्नुभयो ।

कार्यालयले मत्स्य अनुसन्धान केन्द्र वेगनासबाट माछाका भुरा खरिद गरि कृषकलाई विवरण गरेको जनाएको छ । केन्द्र नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत सञ्चालनमा रहेको मत्स्य अनुसन्धान संस्था हो । यस कार्यक्रमले जिल्लामा व्यावसायिक मत्स्यपालन विस्तारसँगै कृषकको आयआर्जन वृद्धि हुने अपेक्षा गरिएको छ ।