• ३१ वैशाख २०८३, बिहिबार

एक हप्तामा लेबनानमा ५९ जना बालबालिका द्वन्द्वको मारमा : युनिसेफ

blog

बेरुत, वैशाख ३१ गते । युद्धविराम सम्झौताको बाबजुद गत हप्तामा मात्र लेबनानमा कम्तिमा ५९ जना  बालबालिका युद्वको मारमा परेको संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल गत १६ र १७ को मध्यरातमा युद्धविराम लागु भए देखि कम्तिमा २३ जना बच्चाको मृत्यु भएको छ  भने ९३ घाइते भएका छन् । गत मार्च –२ देखि २०० जना बालबालिकाको मृत्यु भएको र ८०६ जना घाइते भएको उल्लेख गरिएको छ ।

लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र र स्थानीय मिडियाका अनुसार दक्षिणी र मध्य लेबनानमा बुधबार भएको इजरायली आक्रमणमा महिला तथा बालबालिका सहित कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

महिनौंको डरबाट त्रसित हुँदै बालबालिकाहरु कक्षाकोठामा फर्कने, साथीहरूसँग खेल्ने क्रममा द्वन्द्वको सिकार हुनु पुगेको मध्य पूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरले बताउनु भएको छ ।

हिंसा रोक्ने उद्देश्यले गरिएको युद्व विराम सम्झौताको बाबजुद पनि बालबालिकाले बारम्बार आक्रमण र आघात भोग्नु परेको उल्लेख गर्दै  उहाँले यसको परिणाम दीर्घकालीन हुन सक्ने बताउनु भएको छ ।

यसैवीच युनिसेफले लेबनानमा सात लाख ७० हजारभन्दा बढी बालबालिकाहरूले हिंसा, विस्थापन र हानिको बारम्बार जोखिमका कारण बढ्दो मनोवैज्ञानिक संकटको सामना गरिरहेको चेतावनी दिएको छ।