• ३१ वैशाख २०८३, बिहिबार

सभामुखद्वारा असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

blog

सभामुख डोल प्रसाद अर्याल

काठमाडौँ, वैशाख ३१ गते । सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा प्रयोग भएका असंसदीय तथा आपत्तिजनक शब्द संसद्को अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम १२१ को खण्ड ९९० बमोजिम सांसदहरूलाई आफ्नो अभिव्यक्तिप्रति संवेदनशील हुन ध्यानाकर्षण गराउनुभयो ।

उक्त नियमावलीअनुसार बैठकमा अशिष्ट, अश्लील, अपमानजनक वा सार्वजनिक शिष्टाचार र नैतिकताविपरीत हुने शब्द प्रयोग गर्न पाइँदैन । साथै कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने तथा असंसदीय शब्द प्रयोग गर्न निषेध गरिएको प्रावधानबारे पनि उहाँले स्मरण गराउनुभयो ।

यसै क्रममा सभामुख अर्यालले २०८२ वैशाख २९ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले प्रयोग गर्नुभएका केही शब्द नियमावलीविपरीत रहेको भन्दै हटाउन आदेश दिनुभयो ।

सांसद पराजुलीले सम्बोधनका क्रममा प्रयोग गर्नुभएको ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी’ भन्ने वाक्यांश संसद्को गरिमा प्रतिकूल रहेको ठहर गर्दै ती शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिइएको हो ।

सभामुख अर्यालले आगामी दिनमा धारणा राख्दा संसदीय मर्यादा र नियमावलीको पूर्ण पालना गर्न सबै सदस्यलाई सचेत गराउनुभएको छ ।