• ३१ वैशाख २०८३, बिहिबार

एसइई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने

blog

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय

भक्तपुर, वैशाख ३१ गते । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी भक्तपुरले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले सूचना जारी गर्दै पूरक परीक्षा असार १ गतेदेखि सुरु हुने जनाएको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

सार्वजनिक तालिकाअनुसार असार १ गते अनिवार्य अङ्ग्रेजी, असार २ गते अनिवार्य नेपाली, असार ३ गते अनिवार्य गणित, असार ४ गते अनिवार्य विज्ञान तथा प्रविधि र असार ५ गते अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा सञ्चालन गरिनेछ ।

त्यसैगरी असार ६ गतेदेखि प्राविधिक धार तथा संस्कृत–वेदविद्याश्रमतर्फका विभिन्न विषयहरूको परीक्षा हुनेछ । परीक्षा असार ९ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

सूचनाअनुसार २०८२ सालको मूल परीक्षामा नियमित समूहबाट सहभागी भई ‘नन–ग्रेडेड’ भएका परीक्षार्थी मात्र पूरक परीक्षामा सहभागी हुन पाउनेछन् ।

बोर्डले परीक्षा केन्द्रसम्बन्धी जानकारी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइबाट उपलब्ध गराइने जनाएको छ । परीक्षार्थीलाई प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउन तथा मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण परीक्षा हलमा लैजान निषेध गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र परिवर्तन नहुने पनि स्पष्ट पारेको छ ।