• ३१ वैशाख २०८३, बिहिबार

प्रतिनिधि सभाका नवनियुक्त सचिव अधिकारीद्वारा शपथ ग्रहण

blog

सभामुख डोल प्रसाद अर्यालले नवनियुक्त सङ्घीय संसद् सचिवालयका सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुहुँदै । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख ३१ गते । नवनियुक्त सङ्घीय संसद् सचिवालयका सचिव प्रकाश अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित समारोहमा उहाँले आफ्नो पदको शपथ लिनुभएको हो । उहाँलाई सभामुख डोल प्रसाद अर्यालले शपथ गराउनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको थियो ।

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–३ का स्थायी बासिन्दा अधिकारी निजामती सेवाको उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुनुहुन्छ । सभामुख अर्यालले हर्कराज राईलाई सचिव पदबाट मुक्त गर्दै रिक्त स्थानमा अधिकारीको नाम सिफारिस गर्नुभएको थियो ।

संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवलाई सम्बन्धित सदनका सभामुख वा अध्यक्षको सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति तथा पदमुक्त गर्ने व्यवस्था रहेको छ ।