• २६ साउन २०८२, सोमबार

दुधपोखरीमा नुहाउन गएका किशोर बेपत्ता

blog

लमजुङ, कास्की र मनाङको सिमानामा रहेको प्रसिद्ध तीर्थस्थल दुधपोखरी । तस्विरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, साउन २५ गते । लमजुङ, कास्की र मनाङको सिमानामा रहेको प्रसिद्ध तीर्थस्थल दुधपोखरीमा जनैपूर्णिमाको दिन नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्। पाँच हजार तीनसय मिटर उचाइमा रहेको दुधपोखरीमा नुहाउन लाग्दा लमजुङको क्व्होलासोथार गाउँपालिका –४, भुजुङका १८ वर्षीय मनोज गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

प्रहरी र स्थानीयका अनुसार गुरुङ शनिबार बिहान साथीसँग दुधपोखरी पुग्नुभएको थियो । जनैपूर्णिमामा नुहाउने जात्रामा सहभागी हुनुभएका उहाँ बिहान करिब ८ बजेतिर पोखरीको छेउबाट पौडी खेल्दै केही टाढा पुग्नुभएको र त्यसपछि हराएको उहाँका साथीहरूले बताएका छन्।

उहाँसहित नौ जना साथीहरू शुक्रबार राति थुर्जुमा बास बसेर शनिबार बिहान पोखरीतर्फ गएका थिए। क्व्होलासोथार गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङका अनुसार पौडी खेल्ने क्रममा गुरुङलाई उद्धार गर्ने प्रयास भए पनि सफल हुन नसकेपछि साथीहरूले नजिकैको टेलिफोन सिग्नल आउने स्थानमा पुगेर घटनाबारे जानकारी दिएका थिए।

उपाध्यक्ष गुरुङले स्थानीयवासीको समूह आइतबार बिहानै घटनास्थलतर्फ हिँडेको र साँझसम्म थुर्जु पुगेर सोमबार बिहान पोखरी पुग्ने योजना रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) रेशम बोहराले घटनापछि प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा ९ जनाको संयुक्त टोली घटनास्थलतर्फ पठाइएको बताउनुभयो । उक्त टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहयोगीहरू रहेका छन्। डिएसपी बोहराका अनुसार दूधपोखरी मानवबस्तीबाट करिब दुई दिनको पैदल दूरीमा पर्ने भएकाले उद्धार टोली सकेसम्म चाँडो घटनास्थल पुग्ने प्रयास भइरहेको छ।