• ८ जेठ २०८१, मङ्गलबार

अनुगमन गर्दा अधिकांश फर्म पर्छन् कारबाहीमा

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १८ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा बजार अनुगमन गरेकामध्ये अधिकांशमा कुनै न कुनै जरिबाना वा कारबाहीमा पर्ने गरेका छन् । विभागले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाख १३ गतेसम्म अनुगमन टोलीले तीन हजार ७६६ वटा व्यवसायी फर्मको अनुगमन गरेकोमा तीन हजार ७२९ मा कुनै न कुनै कैफियत भेटिएको हो । 

जसमा ३७ वटा व्यवसायी फर्म मात्रै सामान्य अवस्थाका भेटिएको विभागले जनाएको छ । त्यसो विभागले वैशाख १३ गतेसम्म एक हजार ९२४ वटा अनुगमन गर्ने लक्ष्य लिएकोमा वैशाख १३ गतेसम्म हजार ७६६ वटा व्यवसायी फर्मको अनुगमन गरिसकेको छ । 

 विभागका अनुसार सो अवधिमा अनुगमन गरेकोमा ८८४ वटा व्यवसायी फर्मलाई जरिबाना गरेर तीन करोड ४३ लाख ८३ हजार बराबरको रकम राजस्व सङ्कलन गरेको छ । यो तथ्याङ्क हेर्दा सरकारको बजार अनुगमन लक्ष्यभन्दा माथि देखिन्छ तर त्यसबाट आउने परिणाम भने सन्तोष मान्न सक्ने अवस्था नरहेको बताइएको छ । 

यता बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विगतका वर्षमा भन्दा फरक तरिकारले निगरानीमा आधारित भएर बजार अनुगमन गर्दा कैफियत धेरै आएको दाबी गरेको छ । 

विभागका महानिर्देशक तीर्थराज चिलवालले सूचनामा आधारित भएर विभागको अनुगमन टोलीले अनुचित कारोबार गर्ने व्यवसायी फर्मलाई निर्मम भएर अधिकतम जरिबाना गरेकाले कैफियत बढी भेटिएको स्वीकार गर्नुभयो । स्वच्छ र स्वस्थ बजार प्रणालीमा सञ्चालनका लागि विभागले जबरजस्त हस्तक्षेप गरेर गलत गर्ने व्यवसायी फर्मलाई सूक्ष्म तरिकारले निगरानी गरेर प्रमाणका आधारमा कारबाही गरेको उहाँको दाबी थियो । 

विभागका महानिर्देशक चिलवालले विद्यमान उपभोक्ता संरक्षण ऐन उपभोक्तामैत्री भन्दा पनि व्यवसायीमैत्री भएको स्वीकार गर्दै अनुचित व्यवसायी क्रियाकलाप गर्ने व्यवसायी फर्मलाई कसुरको मात्रा र प्रकृति अनुसार सजाय गर्न सकिने कानुनको प्रस्ताव गरिएको जानकारी दिनुभयो ।