• १३ साउन २०८१, आइतबार

गाउँमा सडकको पहुँच पुगेसँगै भरिया पेशा विस्थापित

blog

बाबुराम देवकोटा
सिन्धुलीमाढी, वैशाख ७ गते ।
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसँगै वर्षौदेखि भारी बोकेर गुजरा चलाउँदै आएका भरियाहरु पेशाबाट विस्थापित भएका छन् ।

सडकको पहुँच पुगेसँगै गाउँमा यातायात सञ्चालनमा आएपछि भरियाहरु पेशाबाट विस्थापित हुन पुगेका हुन् । स्थानीयवासीका अनुसार भरियाले बोक्दै आएको सामान गाडीले बोक्न थालेपछि भरिया पेशा सङ्कटमा परेको हो ।

कमलामाई नगरपालिका–३ निवासी व्यापारी उत्तरबहादुर स्याङवाले एक दशक अघिसम्म धेरै भेटिने भरिया अहिले मुस्किलले भेटिने गरेको बताउनुभयो । ‘‘बीपी राजमार्ग बन्नु अघि मेरो पसलका लागि आवश्यक सामान दैनिक रुपमा चार/पाच जना भरियाले सदरमुकाम सिन्धुलीमाढीबाट बोकेर ल्याउँथे ।,’’ उहाँले भन्नुभयो, ‘‘अहिले बीपी राजमार्गको सोलभन्ज्याङदेखि मझुवासम्म सडक निर्माण भई यातायात सञ्चालन भएपछि भरियाले बोक्ने सामान गाडीले ढुवानी गर्दै आएको छ ।’’

गाडीले सामान बोक्दा ढुवानी ज्याला पनि सस्तो पर्ने र चाँडै पनि सामान आइपुग्ने भएकाले भरिया पेसाबाट विस्थापित भएका उहाँको अनुभव छ । उहाँले भन्नुभयो, ‘‘चार/पाँच जना भरिया पसलको सामान बोक्ने मासिक रोजगारी जस्तै थिए ।’

त्यस्तै, कमलामाई नगरपालिका–४ ढुङग्रेबास निवासी सन्तोष दाहाल पनि बीपी राजमार्ग निर्माण हुनुअघि सिन्धुलीमाढीबाट रामेछाप जिल्ला सामान ढुवानी गर्ने भरियाको थेगिनसाध्य चाप हुने स्मरण गर्नुहुन्छ । उहाँका अनुसार सिन्धुलीमाढीदेखि खुर्कोट हुँदै मन्थलीसम्म सडक नै निर्माण भएको थिएन । रामेछापको अन्नपात, निर्माण सामग्री भरियामार्फत ढुवानी गरी सबै सिन्धुलीले थेगेको थियो ।

उहाँले बाटोमा हिँड्दा भरियाको भिडले किचेर मार्लान भन्ने डर हुने सुनाउनुभयो । सुनकोसी गाँउपालिका–७ खुर्कोट निवासी ३५ वर्षीय बिरबहादुर माझी सुनकोसीमा पक्की पुल बनेपछि अहिले बेरोजगार जीवन बिताई रहेको बताउनुहुन्छ । खुर्कोट–मन्थली सडकअन्तर्गत सुनकोसी नदीमा पक्कि पुल बनेपछि आफु जस्तै सयौं मजदुर यतिखेर फुर्सदिलो जीवन बिताई रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘सुनकोसी नदीमा पक्कि पुल नबन्दा झोलुङगेपुलबाट वारीको सामान पारी पु¥याउँदा भरियाको कमाई राम्रै थियो । दैनिक हजार रुपियाँभन्दा माथि नै कमाई हुन्थ्यो । वारीको सामान पारी पु-याउन भरियाबीच नै हारालुछ हुन्थ्यो ।’’ पुल बनेर आवतजावत गर्न सजिलो भय पनि अरु पेसा गर्न पुजी नभएका भरियाको रोजगारी भने खोसिएको उहाँको गुनासो छ ।

स्थानीयका अनुसार बीपी राजमार्ग हुँदै तराईबाट रामेछाप लैजान ट्रकमा ल्याएको खाद्यान्न खुर्कोटमा झोलुङ्गेपुल नजिकैको बगरमा झारेपछि सुनकोसी नदी पारी पु¥याउन मजदुरहरु बीच तछाडमछाड नै हुने गर्दथ्यो । खाद्यान्न, निर्माण सामग्रीलगायतका सामान सुनकोसी पारी पु¥याउदा मजदुरहरुले प्रतिबोरा तीसदेखि चालीस रुपियाँसम्म पाउँथे ।

त्यसो त स्थानीय तहमा जनप्रतिनिधि आएसँगै अधिकांश ग्रामीण बस्तिमा हिउँदको समयमा सञ्चालन हुने कच्ची मोटरबाटो निर्माण भएको छ । जनप्रतिनिधिले पनि गाउँमा सडक निर्माणलाई प्राथमिकता दिएर काम गरेका छन् । ती सडकमा यातायातको साधन वर्षादको मौसममा चार महिना सञ्चालन नभए पनि हिउँदको मौसममा राम्रोसँग सञ्चालन हुने कमलामाई नगरपालिका–३ का वडा अध्यक्ष खड्गप्रसाद चौलागाई बताउनुहुन्छ ।

सडक विभागले विशेष प्राथमिकता राखेर करिब १८ करोड रुपियाँको लागतमा सुनकोसी नदीमा पक्की पुल साँढे चार वर्ष लगाएर निर्माण गरेको हो । उक्त पुल निर्माणसँगै हिमाली जिल्ला दोलखाको तराईका जिल्लासँग सिधा सम्पर्क जोडिएको खुर्कोटका बासिन्दा बताउँछन् ।