काठमाडौँ, मङ्सिर २२ गते । गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा.सुबोधकुमार पोखरेलको गीति एल्बम ‘परेली’को आज यहाँ एक समारोहबिच विमोचन गरिएको छ ।
छ वटा गीत सङ्ग्रहित सो एल्वमका दुई वटा गीतको भिडियो निर्माण गरिएको छ । डा.पोखरेलको लेखनका ती गीतहरूमा वरिष्ठ सङ्गीतकार दीपक शर्माको सङ्गीत तथा वरिष्ठ गायक राजेश पायल राई, शिव परियारलगायतका गायकहरूले स्वर दिनुभएको छ ।
वरिष्ठ चलचित्रकर्मी एवं गीतकार नीर शाह, चलचित्र पत्रकार प्रकाश सुवेदी, टेलिभिजन पत्रकार टीकाराम यात्री, गायक परियार र चलचित्र निर्माता सुनील पोखरेलले एल्वमको विमोचन गर्नुभएको थियो ।
सो अवसरमा वरिष्ठ चलचित्रकर्मी एवं गीतकार शाहले सङ्गीत क्षेत्रमा नवीनतम् प्रयोग नभएसम्म यसको श्रीवृद्धि हुन सक्दैन भन्नुभयो । उहाँले गीति साहित्य सरल, सुसंस्कृत साहित्य भएको बताउँदै साहित्यका अन्य विधाभन्दा गीति क्षेत्र कम सशक्त छैन भन्नुभयो ।
संविधान सभाका सदस्यसमेत रहनुभएका गीतकार डा. पोखरेलले गीतसङ्गीत क्षेत्रको विकास बिना राष्ट्रको विकास हुन नसक्ने भएकाले आफूले चिकित्सकीय क्षेत्रको अतिरिक्त चलचित्र र साङ्गीतिक क्षेत्रलाई पनि आफूले महत्त्व दिएको बताउनुभयो ।
कार्यक्रममा पत्रकारद्वय सुवेदी र यात्रीले साहित्य, कला र सङ्गीत बिनाको मानिस पशुतुल्य हुने बताउँदै डा. पोखरेलको गीति लेखन, चलचित्र निर्माता एवं निर्देशनको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । रासस