• ११ माघ २०८१, शुक्रबार

रुरुक्षेत्रकाे तीनमुखे पुल सञ्चालनमा, पूर्व मुख्यसचिव पौडेलकाे सपना पूरा

blog

तिलाचन पाण्डे

तम्घास, वैशाख ६ गते । पूर्व मुख्यसचिव लीलामणि पौडेललाई २०३३ सालमा रिडीखोलामा बगाएको स्मरण गर्नुहुँदै बनाइएको पुल सञ्चालनमा आएको छ । विद्यार्थी हुँदा अध्ययन गरेर फिर्ता हुँदा उहाँलाई रिडीखोलाले बगाएको थियो । 

रिडीको पारी स्याङजाको कारीकोटमा हनुमानको मूर्ति भए पनि त्यो मूर्ति हेर्न जान पुल नभएकै कारणले अँध्यारोमा परेको र स्याङजासँगको सम्बन्ध नै नभएजस्तो हुने गरेकाले पनि पुलको आवश्यकता बढेको उहाँको भनाइ छ । 

वि.सं.२०६९ सालदेखि तीनमुखे पुलको अवधारणा र २०७१ साल मङ्सिर १५ गते सो पुल शिलान्यासपछि अहिले सञ्चालनमा आउँदा रुरुक्षेत्रको पहिचान स्थापित भएको छ । तीन वटै जिल्लाहरुको सम्बन्धलाई थप विस्तार गर्न र पर्यटकीयस्थल बनाउन यो तीनमुखे पुलले मद्दत गरेको छ । 

नयाँ  डिजाइन भएकाले तत्कालीन इन्जिनियरले जोखिम मोलेर काम गर्न डराएकाले केही समय निर्माणमा ढिलाइ भएको पौडेल बताउनुहुन्छ । नेपालकै आकर्षक नमूना पुल निर्माणले तीन जिल्लाबीच थप सम्बन्ध बढ्ने र आन्तरिक पर्यटकमा समेत वृद्धि हुने उहाँको दाबी छ ।

यता, रुरुक्षेत्रका स्थानीय चुरामणी तिमिल्सेनाले तीनमुखे पुल बनेपछि पर्यटकको मुख्य केन्द्रबिन्दु पुल बनेको प्रतिक्रिया दिनुभयो ।

अन्य कुनै स्थानमा यस्तो पुल नभएकाले अवलोकन गर्न आउने भएकाले पर्यटनसँगै धार्मिक क्षेत्रको पनि थप प्रचारप्रसार हुने बताउनुभयो । यो सँगै यहाँका होटल व्यवसायीहरु पनि फस्टाउँदै जाने र पैदल यात्रीहरुका लागि तीन जिल्ला जान र आउन थप सहज हुने उहाँको भनाइ छ । 

अहिले सो पुलमा फोटो खिच्न र टिकटक बनाउन आउँनेहरुको भीड लाग्ने गरेको उहाँले बताउनुभयो । पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ रिडी, स्याङ्जाको कालीगण्डकी १, कारिकोट चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका १४ अर्गली जोडेको छ ।

कालीगण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर १७७.४ मिटर लम्बाइमा तीन जिल्लाको मध्य भागको दुरीमा रहेको छ । मध्य भागमा रहेको पिलरबाट हरेक जिल्लामा पुग्न बराबर दूरी छ । 

तत्कालीन नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल र गुल्मी क्षेत्र नम्वर–२ का सांसद चन्द्र भण्डारीले शिलान्यास गरेको पुल निर्माण सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख भरत अर्यालले जानकारी दिनुभयो । 

पुल निर्माणको जिम्मा नयाँबाटो, रुबिना, मना जेबीले पाएको थियो । नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा ती संस्था र स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकबीच सम्झौता भएको थियो  । 

तीन पटक सम्म म्याद थप गरी कार्य सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । 

प्रधानमन्त्रीले उद्घाटन गर्ने योजना

निर्माण सम्पन्न भएकाले प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने योजना भएकोमा निर्वाचन आचारसंहिताका कारण रोकिएको अर्यालले बताउनुभयो ।