काठमाडौँ, मङ्सिर ११ गते । भदौ २३ र २४ गतेको विद्रोहको जगमा बनेको सरकारले घोषणा गरेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ राजनीतिक दलहरू अग्रसर हुँदै गएका छन् । विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसहित ८० वटा दल निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता र दलहरूभित्र आन्तरिक र अन्तरदलीय ध्रुवीकरण व्यापक भएसँगै निर्वाचनको माहोल देखिन थालेको हो ।
दलहरूले आन्तरिक सुदृढीकरण, नेतृत्व र नीति तथा कार्यक्रम रूपान्तरण गर्ने र साङ्गठनिक संरचना सक्रिय बनाउन थालेका छन् । सरकारले निर्वाचनका लागि गरिरहेका काम, आयोगको पूर्वतयारी र नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीसहित विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र जेनजी पुस्ताकै नेतृत्वमा पनि दल दर्ता भएपछि निर्वाचनमार्फत राजनीतिक निकास हुने अपेक्षा आमनागरिकको छ । त्यसै गरी राजनीतिक दलका नेताहरूले निर्वाचनको माहोल बनाउन सरकारलाई सहयोग गर्ने प्रस्ट पार्नुभयो । जेनजी अभियन्ताले जेनजी पुस्ताले उठाएका माग सम्बोधन गरेर निर्वाचनतर्फ अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले सचिव गोकर्ण विष्ट र नेपाली कम्युनिस्ट पार्टी नेत्री पम्फा भुसालले निर्वाचनतर्फ दलहरू अघि बढेको बताउनुभयो । जेनजी अभियन्ता पुरुषोत्तम यादवले निर्वाचन अगाडि जेनजी पुस्ताले उठाएका माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो ।
दलहरू निर्वाचनप्रति प्रतिबद्ध
महामन्त्री शर्माले फागुन २१ गतेका लागि सरकारले तय गरेको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने निर्णय भइसकेकाले राजनीतिक गतिविधि गर्न र स्वतन्त्र रूपमा जनतामा जाने वातावरण तयार गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमार्फत राजनीतिक निकास दिनु पर्छ । संविधानको रक्षा, लोकतन्त्र सुदृढीकरण र जेनजी पुस्ताले समग्र रूपान्तरणका लागि उठाएका आवाजलाई संस्थागत गरेर देशलाई नवीन गन्तव्य प्रदान गर्नु पर्छ ।”
एमाले सचिव विष्टले र नेकपा नेत्री भुसालले निर्वाचनमा जान दलहरू तयार रहेको बताउनुभयो । सचिव विष्टले लोकतन्त्रको आधार जनादेश भएको र जनादेशमा विश्वास गर्ने एमाले निर्वाचनका लागि तयार रहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “एमाले निर्वाचनमा जान तयार छ । तयारी गर्छ । निर्वाचन आयोगमा दल दर्ता गर्नु नै प्रतिस्पर्धामा जान, जनताको जनादेश प्राप्त गर्न, जनताको अनुमतिले जनताको सेवा गर्नका लागि हामी प्रतिबद्ध छौँ भन्ने प्रस्ट हुन्छ ।”
नेत्री भुसालले सरकारलाई राजनीतिक दलले पनि निर्वाचनको माहोल बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रको संस्थागत विकास र निरन्तर सुदृढीकरणको अभ्यासका लागि निर्वाचन निर्विकल्प रहेको बताउनुभयो । उहाँले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नेसहित सबै प्रमुख दलले निर्वाचन आयोगमा दल दर्ता गरेकाले देश निर्वाचनतर्फ उन्मुख भएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनप्रतिको उत्साह र माहोल सुरु भएको हो यो । सरकारले पनि ‘यी नेताको अनुहार हेर्न मन छैन’ भने जस्तो नगरी परामर्शमार्फत निर्वाचनका लागि वातावरण तयार गर्ने प्रक्रिया सुरु गरेको छ ।”
‘हाम्रा माग पूरा गरियोस्’
जेनजी अभियन्ता पुरुषोत्तम यादवले भदौ २३ र २४ गते जेनजी पुस्ताले उठाएका माग सम्बोधन नगरी निर्वाचनमा जान नसकिने प्रस्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री सुशीला कार्कीले सत्ताको जिम्मेवारी लिँदा जेनजीका माग पूरा हुने प्रतिबद्धता गर्नुभएको र माग पूरा भएपछि निर्वाचनमा सहभागी हुने बताउनुभयो ।
उहाँले अहिले निर्वाचनको माहोल बनाउने सरकार र निर्वाचन आयोगको दायित्व भएको बताउनुभयो साथै उहाँले जेनजी पुस्ताको जनसङ्ख्याको प्रतिशतका आधारमा समान अनुपातमा सहभागी गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दलले ४० प्रतिशतसम्म जेनजी पुस्तालाई निर्वाचनमा प्रत्यक्ष र समानुपातिक सिटमा सहभागी
गराउनु पर्छ ।”
सरकारलाई सहयोगको प्रतिबद्धता
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले सचिव गोकर्ण विष्ट र नेकपा नेत्री पम्फा भुसालले निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्ने बताउनुभयो । महामन्त्री शर्माले अन्य राजनीतिक दलहरूसँग संवाद गरी निर्वाचनमा उत्साहपूर्वक सहभागी हुने वातावरण बनाउनेतर्फ केन्द्रित हुने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्बद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्नु पर्छ । राजनीतिक दलका कार्यक्रममा अवरोध गर्नु हुँदैन । दलहरूले पनि सरकारलाई निर्वाचनतर्फ केन्द्रित भएर सहयोग गर्नुपर्छ ।”
सचिव विष्टले सरकारले निर्वाचनको वातावरण बनाउनका लागि संवाद गर्नु सकारात्मक रहेको र सबै राजनीतिक पार्टीलाई निर्वाद ढङ्गले जनताका बिचमा गएर आफ्ना राजनीतिक कार्यक्रम अघि बढाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनबिना लोकतन्त्र जोगिँदैन । सबैभन्दा पहिला सरकारले त्यस्तो वातावरण निर्माणका लागि व्यवहारमै आफ्नो कर्तव्य पूरा गर्नु पर्छ ।”
नेत्री भुसालले निष्पक्ष, धाँदलीरहित र स्वतन्त्र ढङ्गले निर्वाचन हुनुपर्ने, राजनीतिक दल, सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारी सबै पालिका तथा वडासम्म गएर निर्वाचनको माहोल बनाउन खटिने गरी वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दल, नागरिक समाज, सरकार र सुरक्षा निकायको सही संयोजनले निर्वाचनको सुनिश्चितता हुन्छ । दलहरूले पनि त्यो जिम्मेवारी बोध गर्नु पर्छ । सरकारले त्यसको दायित्व र नेतृत्व गर्नै पर्छ र अरू सबै निकायलाई संयोजन गरेर निर्वाचनको माहोल बनाउनु पर्छ ।”
निवेदन दिने समय चार दिन थप
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले निवेदन दिने समय चार दिन थप्ने निर्णय गरेको छ । यसअघिको स्वीकृत कार्यक्रम अनुसार यही मङ्सिर १ देखि १० गतेसम्म समय दिइएकामा विभिन्न पक्षको आग्रहमा आयोगको बुधबारको बैठकले समय थप्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
१० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि १०६ वटा दलबाट निवेदन प्राप्त भएको जनाइएको छ । आयोगमा दर्ता कायम रहेका ठुलालगायत नयाँ–पुराना अधिकांश दलले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रयोजनका लागि निवेदन दिइसकेका छन् । आयोगमा हालसम्म दर्ता कायम रहेका दलहरूको सङ्ख्या १३७ रहेको छ ।