गोकुलप्रसाद शर्मा
दिनपछि साता, सातापछि महिना, अनि महिनापछि वर्ष व्यतित हुन्छन् । कामदारलाई सधैँ समयको अभाव खट्कन्छ । अर्कोतिर भने, काम नभएका र काम हुँदाहुँदै पनि जाँगर नचलाउने मानिसहरूका लागि दिन व्यतीत गर्न गाह्रो हुन्छ । दिन छिटो जाओस् भनेर उसले जपना गर्दछ । मानिस कर्मयोगी प्राणी हो । समयको सदुपयोग गर्दै सदा असल काम गर्ने मानिस नै महान र सफल भएको छ । महानता दामले किनिने वस्तु होइन । महान विचार भएको मानिसले असल र उपयोगी काम गरेर अरूका लागि बाटो देखाइदिन्छन् । सदा सत्मार्गमा लाग्नु मानिसको कर्तव्य हो । हाम्रो पुर्खाले देखाइदिएको बाटो सबैका लागि कल्याणकारी हुन्छ भन्ने बुझ्नु हाम्रो कर्तव्य हो ।
व्यतीत भएको २०७८ सालमा हाम्रो मुलुकमा के–के राम्रा र नराम्रा काम भए, तिनको लेखाजोखा यहाँ गरिन्न । वर्तमान २०७९ सालमा विगतमा भएका भूल, त्रुटि र कमजोरीलाई नदोहो¥याई वर्षैभरि असल र उपयोगी काममा मात्र देशवासीहरू संलग्न होउन् भन्ने आकाङ्क्षा गरिन्छ । कदाचित कतै कुनै त्रुटि फेला प¥यो वा त्यसो हुने सम्भावना छ भने, बेलैमा रचनात्मक सुझाउद्वारा त्रुटिहरूको परिमार्जन गरिहाल्नु बुद्धिमानी ठहर्छ । त्यसो नगरी, अर्थात् आफ्नो दोष ढाकछोप गरी, अनाहकमा निर्दोषमाथि हिलो छ्याप्न हुँदैन । नयाँ वर्षको पहिलो दिन सबै ठाउँमा बिदा दिइन्छ । बिदा आराम गर्ने अवसर हो । थाकेको शरीर, मन र मस्तिष्कलाई केही घण्टा आराम दिनु बिदाको मुख्य प्रयोजन हो । कतैकतै भने काम हुन्छ भद्रगोल । मनोरञ्जनको नाउँमा रुपियाँ पैसाको बाजी थापेर तास, कौडा, पासा, लङ्गुरबुर्जा वा अन्य प्रकारको खेलमा सम्मिलित हुनु राम्रो काम होइन । आदिकालदेखि नै नयाँ वर्षको शुभारम्भ र अन्य विभिन्न महत्वपूर्ण अवसरमा आफन्तहरूका बिच शुभकामना आदानप्रदान गर्ने परम्परा चलिआएको छ । विश्वका विभिन्न मुलुकहरूमा शुभकामना व्यक्त गर्ने आ–आफ्नै चलन र रीति छ । त्यस्तो अवसरमा हाम्रो मुलुकमा पनि विभिन्न विधि अपनाइन्छ । स्मृतिस्वरूप फूल, फलफूल, विभिन्न थरीका खाद्यपदार्थ रहेका बट्टा वा अन्य थोक उपहारस्वरूप प्रदान गरिन्छ । कसलाई कुन वस्तु दिन उपयुक्त हुन्छ, सो बुझी तदनुसार वस्तुको छनोट गरिन्छ ।
कुनै वस्तु समवयस्क व्यक्तिलाई समर्पित गर्दा क्षणभरका लागि उसलाई प्रगाढ आलिङ्गनमा आवद्ध गरिन्छ । यसबाट दुइटै पक्षलाई सुखद् अनुभूति प्राप्त हुन्छ । निःस्वार्थता र पारस्परिकताको विशुद्ध भावनामा लोटपोट हुँदा प्राप्त हुने आत्मीयता अलौकिक आनन्दको प्रतीक हो । समर्पित गरिने वस्तुको छनोटमा विशेष ध्यान दिइन्छ । त्यस्तो सुखद अवसरमा प्रेमोपहार दिने वस्तु पसलमा यसरी सजाएर राखिन्छ कि कुनै वस्तु ग्राहकको रुचि अन्तर्गत अवश्य पर्न आवस् । कसैलाई कुनै किसिमको असन्तुष्टि नहुने गरी यस्तो उल्लासमय अवसरमा शिष्टतापूर्वक वस्तु दिनु बेसै हो । यसको विपरीत खडा भएर उच्छृङ्खलताको प्रदर्शन गर्नु चाहिँ अपराध ठहरिन्छ । आत्मीयता र उदारता झल्कने गरी गरिएको कामको परिणाम सुखद हुन्छ । नयाँ वर्षको शुभारम्भमा केही मुलुकहरूमा गरिने हर्षोल्लास यसप्रकारका छन्– भारतका विभिन्न सहरमा गणेश र लक्ष्मीको पूजा गरी सामूहिक रूपमा नाचगान गरिन्छ । पञ्जाबमा झाँगड नृत्य गरिन्छ । बंगालमा देवीदेवताहरूको पूजा र आराधना गरिन्छ । भजनकीर्तन गरिन्छ । कुमाऊगढवालमा पहेँलो वस्त्र पहिरी बन्धुवर्गलाई कोसेली दिइन्छ ।
चीनमा नयाँ वर्षको एक साताअघि नै आतसबाजी गरिन्छ । नयाँ वर्षमा प्रेतात्मा आउने सम्भावना बुझी त्यसलाई धपाउन आगो बालिन्छ । रातभरि जाग्राम बसेर गुरु र आमाको सम्मान गर्दै उहाँहरूलाई मिठामिठा परिकार खुवाइन्छ ।
जापानमा घर वरपर हरिया बोट सजाइन्छ । प्रेतात्मालाई धपाउन घर अगाडि डोरी झुन्ड्यान्छ । गौतमबुद्धको पूजा गरिन्छ । जर्मनीमा मानिसहरूले पानी हालेको भाँडोमा सिक्का खसाल्छन् । सिक्काको आकृति नियालेर भविष्यवाणी गरिन्छ । बेलायतमा डिसेम्बर ३१ तारिखको राति ठिक १२ बजे रङ्गीचङ्गी पहिरनमा नाचगान गर्दै धुमधामका साथ नयाँ वर्ष मनाइन्छ । आदिवासीहरू भेला भएर इष्टदेव र सूर्यको पूजाआराधना गरिन्छ ।
इन्डोनेसियामा नयाँ वर्षलाई ‘गोलुगान’ भनिन्छ । मानिसहरू नयाँ पहिरनमा सजिएर नाचगान गरी मिठामिठा परिकारहरू खाँदै आपसमा शुभकामना बाँड्छन् । स्कटल्यान्डमा रातो पहिरनमा पुरुष वा महिला आएमा अशुभ मानिन्छ । कपाल कालो र कद अग्लो भएका पुरुष वा महिला आएमा शुभ मानिन्छ । यो बला आपसमा सुख र समृद्धिको कामना गर्दै हर्षोल्लासका साथ नाचगान गरिन्छ । रोममा पहिलो पहिले अक्टोबरको अन्त्यमा नयाँ वर्ष मनाइन्थ्यो । अब जनवरी १ तारिखमै नयाँ वर्ष मनाइन्छ । भूत धपाउँदै हर्षोल्लासपूर्वक नयाँ वर्ष मनाइन्छ ।