• २८ चैत २०८२, शनिबार

नयाँ वर्ष (कविता)

blog

वनवाटिका लतामञ्जरी सारा छन् पुनर्रचित ।

जाडो गर्मी दुवै समान मौसम झन् सुसज्जित ।।

पशुपन्छी भमरा सारा सूरताल भर्दछन् ।

कुहूँ–कुहूँ स्वर भर्दै कोयली गीत छर्दछन् ।


दिव्य सुन्दर रङ्ग भर्दै प्रकृतिचाल चल्दछ ।

कलिला मञ्जरी पल्लवीले हरित भाव भर्दछ ।।

आँकुरा पिपिरा निस्के शोभा छर्दै जताततै ।

पृथ्वी भू–स्वर्ग भो मनमुग्ध क्षण उताकतै ।।


वनमा लालीगुराँस सुनाखरी गुलाफ छन् ।

मुन्टो देखाउँदै करविरले लालित्य कतै भर्दछन् ।

माधुर्य भर्दै धर्तीमा मनमोहक परिवेश जनाउँछ ।

वैशाख महिना प्रथम प्रभात नै अपूर्व नूतन बनाउँछ ।


नयाँमार्ग नवीनलक्ष्य नवचेतनामय खुल्छ नूतन ।

नयाँवर्ष हराभरा सुपरिवेश सर्वत्र पूजन ।।

धरा मनमुग्ध बनुन सारा नयाँवर्ष आरम्भले ।

नवीनता नै छ मूल्य जितिन्छ प्रारब्धले ।।