• २८ चैत २०८२, शनिबार

सामाजिक कथा ‘कमला’

blog

उपन्यास ‘कमला’ नेपाली समाज र परम्परालाई सँगै राखेर लेखिएको समाजभित्रको यथार्थ हो । उपन्यासमा कमला पात्रको जीवन भोगाइ र पात्रले बाँचेको समयको सचित्र वर्णन पाइन्छ । एक महिला जो कर्ममा जोड दिन्छिन्, समाजले के भन्ला भन्ने डर उनमा छैन । सधैँ काममा आफूलाई व्यस्त बनाइरहने कमलाको स्वभाव छ । कमलाकी साथी द्रौपदीसँगको सम्बन्ध रोचक अनि रमाइलो छ । उन्यासकारले दुई परिवारबिचको सम्बन्धलाई यसरी उल्लेख गर्नुभएको छ, “नेवारी चाडबाडहरू प्रायः इन्त्रजात्रा, सिठी नख, म्हपूजा, गाईजात्रा आदिमा कमलालाई बोलाउँथिन्, कमला पनि भाइहरूलाई लिएर चिकंमुगल जात्रा हेर्न र भोज खान द्रौपदीकहाँ जाने गर्थिन्, पण्डित दिव्यमणि सप्ताह पुराण, सत्यनारायण पूजाआजा नेवारी भाषामै गर्न गर्दथे (पृ.३३) ।” 

नेपाली सामाजिक परम्परामा तत्कालीन समयमा महिलाले घरबाहिर काम गर्ने चलन खासै थिएन । विवाह भएर गएको परिवारसँगको सम्बन्ध कमलाले सोचे अनुरूपको नभइसकेपछि घटनाक्रमहरू नयाँ ढङ्गबाट अघि बढ्छन् । दुःखमनाउ गरी उपन्यासकी मुख्य पात्र कमलाले पिताको सल्लाहमा आफूलाई व्यस्त राख्ने प्रयत्न गर्छिन् । 

आफ्नो योग्यता र क्षमता जे छ, सोही अनुकूल स्वदेशदेखि विदेशसम्म कामकै सिलसिलामा पुग्नु र त्यसमै समाहित भएर रमाउनु कमलाको दैनिकी बन्छ । पण्डित परिवारसँग विवाह, कडा स्वभावका परिवारका सदस्यहरूले आफूमाथि गरेको अत्याचारमा कमलाले के कस्ता विद्रोह ग्रिन् ? कस्ता कदम चालिन् भन्ने नै उपन्यासको मुख्य विषय हो । तत्कालीन समयमा उपत्यकामा दरबारहरू थपिँदै जानु, राणा शासकहरूको विलासी जीवनशैलीलाई पनि लेखकले प्रस्ट्याउन खोज्नुभएको देखिन्छ । दरबारका अनेकौँ सदस्यको विभिन्न महिलासँगको सम्बन्धको कथा पनि उपन्यासमा लेखकले उजागर गर्ने प्रयास गर्नुभएको छ । सुसारे वा भान्से दरबारमा भएको ढोग स्वस्ती, घोडामा सयर गरेर गोदावरी घुम्न जाँदा आलु बेच्दै गरेकी युवतीलाई मन पराएपछि उनलाई आलुवा महारानी बनाइएको प्रसङ्ग पनि उपन्यासमा उल्लेख छ ।

कमला र द्रौपदी दरबारमा काम सघाउन बसेका हुन्छन् । कमलाले दरबारमा पूजा र भान्साको काम गर्छिन् । दरबारमा आउजाउ गर्ने पाहुनाका अनेक रोचक गतिविधिबारे कमला र द्रौपदीले सुन्ने गरेका हुन्छन् र चर्चा गर्छन् । सुसारे हुक्केहरूको प्रेमसम्बन्धको चर्चा हुन्छ । दरबारको कामबाट केही समयको अन्तरालपछि चिनेजानेकाहरूमार्फत कमलाले विदेशी नियोगका मानिसको घरमा काम सघाउन पुग्छिन् । मिस्टर एन्ड मिसेस क्रिपसन र उनीहरूका छोराछोरी जेनेफर र लोयलाको परिवारलाई खाना पकाउने र सानी छोरी लोयलाको हेरचाह गर्ने उनको मुख्य जिम्मेवारी हो । उपन्यासमा तत्कालीन समयको मौलिक काष्ठमण्डपको दृश्यलाई लेखकले समेट्नुभएको छ । उपत्यकामा बस्ने ब्राह्मण र नेवारी समुदायबिचको सौहार्द सम्बन्धलाई लेखकले वर्णन गर्नुभएको छ ।

कमला, ईश्वरी, द्रौपदीका उस्तै प्रकृतिका दुःख, वेदना र भोगाइ छन् । अर्कोतर्फ कमलाका पिता दिव्यमणि छोरीको घरमा आएको खटपटले चिन्तित छन् । योसँगै कमला पात्र उक्त अमेरिकी नागरिकको भान्से र सहयोगी भएर काम गर्दैगर्दा ती विदेशी पुनः आफ्नै देश फर्कन्छन् । उनीहरूसँगको निकट सम्बन्ध र सानी छोरी लोयलासँग बिताएको समय कमलाको मानसपटलमा घुमिरहन्छ । केही समयको अन्तरालपछि उनी फेरि अर्का विदेशी परिवारको सहयोगीका रूपमा उही भान्छे र बालबच्चा स्याहार्ने काम गर्छिन् । डा. न्युम्यान, मिसेस न्युम्यान, छोरा विलियम्स र छोरी मारियाको रेखदेखमा कमलाले समय दिन्छिन् ।

उपन्यासभित्र भाषागत हिसाबमा धेरै सुधार गर्नुपर्ने ठाउँ प्रशस्तै छन् । बिहानको ब्रेकफास्ट, मर्निङ वाक जस्ता शब्द अनावश्यक रूपमा धेरै ठाउँमा आउने गर्छन् । कतिपय शब्द बिनाअर्थ र सन्दर्भमा प्रयोग गरेको जस्तो देखिन्छ । बाल्टिमोर, हन्टिङ्टन कोलम्बस, केन्टी सिटीको विशेषता र रहनसहनलाई समेटिएको छ । सेलरोटी, अचार, दही, खसीको पक्कु हुँदै स्पागेटी, कफीको चर्चा पनि उपन्यासमा समावेश गरिएको छ । धेरै ठाउँमा यी खानेकुराको प्रसङ्ग पटक पटक आएका छन् तर त्यसमा नयाँपन खोजिएको छैन । हिउँमाथि गाडी चलाउँदाका अनुभूतिलाई रोचक बनाउन सकिने ठाउँहरू थिए तर लेखकले यसतर्फ चासो दिएको भान पाठकलाई हुँदैन । कमलाको वैवाहिक सम्बन्धमा समस्या देखिएपछि उनले चालेका अनेक कदम यो कृतिमा समेटिएका छन् । 

लेखक वामदेव सिग्देलले कमला पात्रको मनको गहिराइ अव्यक्त भावहरूको दायरालाई अझै फराकिलो बनाउन सक्नुहुन्थो कि ? कमलाको मनका आवेग, घुम्ती; उनको एकल जीवनका उतारचढाव उपन्यासमा समेट्न खोजिएको छ तर ती अपुग हुन् कि भन्ने भान हुन्छ ।

झन्डै चार दशकअघिको नेपाली समाज, तत्कालीन समयको सामाजिक मूल्यमान्यतासँग कमलाको विमति थियो कि ? यो पाटो लेखकले उजागर गर्न सक्नुभएको छैन । असहज परिस्थितिमा कमलालाई आडभरोसा दिइरहने मातापिता र दरबारमा काम गर्दा कमलाले उपहारस्वरूप पाएको बहुमूल्य गहनाबाट लोभिएका कमलाका ससुराबुवाको गतिविधिलाई पनि उपन्यासले उजागर गर्न खोजेको छ । कमलाका पिता पण्डित दिव्यमणि घरमा सन्तानसुखमा रमाएको नातिनातिनासँगको लगावको प्रसङ्ग जोड्न खोजिएको छ तर यसमा कमलाको आकाङ्क्षा र अन्तद्र्वन्द्वलाई लेखकले उजागर गर्न सक्नुभएको छैन । सत्य घटनामा आधारित उपन्यासमा काठमाडौँको काँठकी एक नारीको बालापन विवाह र दरबारभित्र सहयोगीका रूपमा काम गर्दै जाँदा सहायता नियोगका प्रतिनिधिसँगै लामो अमेरिका बसाइ र त्यहाँ कमला पात्रले आफ्नो दैनिकी चलाउन गरेका अनेकौँ कामको सेरोफेरोमा उपन्यास अघि बढेको छ । स्वदेशदेखि विदेशसम्म काम गर्दै जाँदा उनले भेटेका स्वदेशी विदेशी पात्रसँग भएको मित्रतालाई पनि लेखकले उजागर गर्ने प्रयास गर्नुभएको छ ।

लेखकले समयको चक्रलाई प्रस्ट्याउँदै भन्नुभएको छ, “जुली, लिलीफोन्सिन मार्गरेट, सावित्री आमा आदि सबै बितिसकेको रोग शोक काल गतिले  समय नै बलवान् रहेछ; समयको अगाडि हामी मानिस कमजोर रहेछौँ, कमला आफैँले हुर्काएका केटाकेटी आज वयस्क भई आआफ्ना काममा लागिसके ।” 

सरल भाषाशैलीमा लेखिएको उपन्यास भएर पनि प्रशस्तै हरफमा खानपान, यात्राका सन्दर्भहरू एउटै शैलीमा व्यक्त गर्दा पाठकले नयाँपन भेट्न सक्नुहुन्न । उपन्यास सहारा प्रिन्ट कनेक्सनले बजारमा ल्याएको हो ।