• २८ चैत २०८२, शनिबार

विक्रम संवत् मिल्दामिल्दै नमिलेका पक्ष

blog

नेपालमा उपलब्ध भएका ऐतिहासिक सामग्रीहरूमा विक्रम संवत्को उल्लेख भएको त देखिन्छ तर त्यसमा एकरूपता पटक्कै देखिएका छैनन् । विक्रम संवत् उत्पत्ति भएको मुलुक भारत हो तर त्यहाँका विद्वानहरूबिच एकमत जस्तो देखिने गरेको छैन । त्यही भएर भारतीय विद्वान्हरूले के भन्ने गर्छन् र नेपालमा उपलब्ध भएका लिखित ऐतिहासिक सामग्रीहरूमा जे देखिए, ती कुरा यहाँ खुलस्त राख्न चाहन्छु । जुन यसप्रकार छन् :

  •   भारतीय विद्वान् पं गौरीशङ्कर हीराचंद ओझाले लेखेका ‘भारतीय प्राचीन लिपिमाला’ नामक पुस्तक मात्र पल्टाएर हेरियो भने पनि निम्न बुँदागत तथ्य भेट्टाउन सकिन्छ । 
  •   विक्रम संवत्को प्रारम्भ कलियुग संवत्को ३०४४ वर्ष बितेपछि भएको मानिन्छ । यसैको आधारमा यसको एक वर्ष भनेको कलियुग संवत् ३०४५ को बराबर हुन्छ ।
  •   विक्रम संवत्मा ५७ र ५६ घटाइएमा इस्वी सन् आउँछ र १३५ घटाइएमा शक संवत् आउँछ । 
  •   उत्तरी हिन्दुस्थानमा विक्रम संवत् चैत्र शुक्ल १ देखि  र  दक्षिण हिन्दुस्थानमा कार्तिक शुक्ल १ देखि प्रारम्भ हुन्छ ।
  •   उत्तरी क्षेत्रमा विक्रम संवत् पूर्णिमान्त अनुसार चल्छ । दक्षिणमा अमान्त अनुसार चल्छ तर शुक्ल पक्ष एउटा दुवैले एउटै लिएको छ । त्यसैले उत्तरी क्षेत्रको कृष्ण पक्ष दक्षिणको भन्दा एक महिना अघि पर्छ । 
  •   त्यसैले उत्तरी हिन्दुस्थानका मान्छेले वैशाख कृष्ण भन्दै आएकोलाई दक्षिणका मान्छेले चैत्र कृष्ण भन्ने गरेका हुन् (भारतीय प्राचीन लिपिमाला पृ.१६९) ।
  • भारतीय विद्वान् प्रो. कृष्णदत्त वाजपेयीसमेतको ‘ऐतिहासिक भारतीय अभिलेख’ नामक पुस्तकमा विक्रम संवत्को बारेमा केही तथ्यगत बुँदा निम्नबमोजिम औँल्याउन सकिन्छ :
  •   राजस्थानको नन्दसा युप अभिलेखमा २८२ लाई कृत संवत् भनिएको छ । यही कृत संवत् कालान्तरमा आएर विक्रम संवत् कहलिएको हो । तैपनि ४८१ सम्मका अभिलेखहरूमा विक्रम संवत्  भनिएको छैन । 
  •   मन्दसौरको अभिलेखमा ४६१ लाई  कृत संवत् र मालवा संवत् दुवै भनिएको छ तर विक्रम संवत् भनिएको छैन । त्यति मात्र होइन, ९३६ सम्म पनि विक्रम संवत् भनिएको छैन । त्यति बेलासम्म पनि यसलाई मालव संवत् नै भनिएको छ । 
  •   बिजापुरको विदग्धराजको अभिलेखमा मालवा संवत् ९७३ मा आएर बल्ल विक्रमकाल भनियो भन्ने तथ्य पाइन्छ । वसन्तगढको पूर्णपालको अभिलेखमा १०९९ लाई विक्रमादित्य काल भनियो भन्ने तथ्य देखिन्छ । यसमा कृत मालव  विक्रम संवत्का प्रवर्तक शक पार्थियाइ शासक वोनोनस् हुन् र उनले इसापूर्व ५८ मा आफ्नो राज्याभिषेक गर्न पाएको उपलक्ष्यमा कृत संवत् नामबाट संवत् सुरु भएको भन्ने तथ्य उद्घाटन गरिएको छ (ऐतिहासिक भारतीय अभिलेख, पृष्ठ २९ देखि ३१ सम्म) ।

सच्चिदानन्द भट्टाचार्यको ‘भारतीय इतिहास कोश’ नामक  पुस्तकमा चाहिँ विक्रम संवत् इसापूर्व ५८–५७ मा राजा विक्रमादित्यले चलाएको संवत् हो भनिएको मात्रै छ तर त्यतिबेला विक्रमादित्य नाम भएको कुनै राजाले शासन गरिरहेको थियो भन्ने पुष्टि गर्ने तत्व कुनै पनि दिइएको छैन । अतः यो संवत्को सिद्धान्तपद्धति के थियो भन्ने कुरा कतै स्पष्ट पाइँदैन ।  

यसरी भारतीय विद्वान्हरूकै बिच पनि विक्रम संवत्को विषयमा एउटै मान्यता र धारणा बनेको देखिँदैन । कसैले विक्रम संवत्मा ५७ र ५६ घटाएपछि इस्वी संवत् आउँछ भन्छन् । कसैले इसापूर्व ५८ मा सुरु भएकाले ५८ र ५७ घटाउने भन्छन् । यस्तो अवस्थामा नेपालका इतिहासकार तथा लेखकहरूले कुनै ठोस कुरा ल्याउन असम्भवप्रायः छ । त्यही भएर यहाँ विक्रम संवत्लाई आदर्श मानेर प्रशंसा गर्नुको कुनै औचित्य देख्दिनँ ।  

काठमाडौँ उपत्यकाभित्र विक्रम संवत् उल्लेख भएको पहिलो अभिलेख देखियो भनेको नेसं ५११ को पाटन वकुबहालको तामापत्र अभिलेख हो । त्यसमा विक्रम संवत्लगायत कलिगत संवत्, शक संवत्समेत गरी चार वटा संवत् एउटैमा उल्लेख गरिएको छ । त्यसमा नेपाल संवत् ५११, कलिराज वर्ष ४४९२, विक्रमराज वर्ष १४४४, शकराज वर्ष १३१३ भनी उल्लेख भएको छ । यसमा शकराज वर्ष १३१३ भनिए पनि त्यो शक संवत् होइन किनभने नेसं ५११ र शक संवत् १३१३ उल्लेख हुनेबित्तिकै त्यहाँ ८०२ वर्षको अन्तर टड्कारो देखिने भयो । नेपाल संवत् र शक संवत्बिच ८०० र ८०१ मात्र अन्तर हुने गर्छ, ८०२ अन्तर कदापि देखिने होइन । यहाँनिर विशेष ध्यान दिन जरुरी भएको कुरा नै यही हो । 

अर्को कुरा, १३१३ लाई शक संवत् मानियो भने त्यसमा १३५ जोड्दा विक्रम संवत् १४४८ लेखिएको हुनु पथ्र्याे । त्यसो नभई विक्रम वर्ष १४४४ मात्र अङ्कित छ । त्यही भएर नेपालमा पहिलो पटक विक्रम संवत् उल्लेखमा आएको नेसं ५११ को अभिलेख भए पनि यसमा विक्रम संवत् उल्लेख नमिल्दो अवस्था देखिन आउँछ । त्यसो हुनाले विक्रम संवत् हाम्रो भनेर दाबी गरी गौरव मान्नु गम्भीर भुल देखिन आउँछ । हस्तलिखित ग्रन्थका पुष्पिकाहरू केलायौँ भने पनि नेसं ५११ भन्दा अघिका पुष्पिका स्रोतहरूमा विक्रम संवत् उल्लेख देखिएको छैन । 

विक्रम संवत् उल्लेख देखिए पनि त्यहाँ रङ्गढङ्ग नमिलेका केही उदाहरण यसप्रकार छन् । जस्तै : 

  • भक्तपुर दरबारभित्र सुन्धारा चोकस्थित सुन्धाराको अभिलेखमा नेसं ८०८  अङ्कित छ । त्यही सुन्धारामाथिको पाटीमा पनि नेसं ८०८ अङ्कित भएकै अर्को ठुलो शिलालेख रहेको छ । त्यहाँ रहेको दुई वटै अभिलेखमा नेपाल संवत् भने ८०८ छ । विक्रम संवत् भने धारामा १७४५ उल्लेख छ र शिलालेखमा १७८९ अङ्कित छ । यो उदाहरण नै काफी छ कि नेपालमा विक्रम संवत् सुरुदेखि चलेर आएको किमार्थ होइनन्, त्यो त पछि घुसाउन ल्याइएको रहेछ भन्ने छर्लङ्ग हुन्छ । 
  • भक्तपुर दरबार मालतीचोकमा नेसं ८१८ को ठुलो शिलापत्र अभिलेख छ । त्यसमा पनि कलिगत भनेर ४७९९ विक्रम भनेर १७९९ श्रीशक भनेर १६२० उल्लेख छ । यहाँ पनि शक संवत् र नेपाल संवत्बिच ८०२ अन्तर देखिएको छ तर ८०२ वर्ष अन्तर देखिनु हुँदैन । अर्को कुरा १६२० लाई नै शक संवत् मानियो भने त्यसमा १३५ जोड गर्दा १७५५ हुनुपर्नेमा १७९९ उल्लेख हुनु भनेको अमिल्दो देखिन्छ । यसबाट पनि विक्रम संवत् नेपालमा सुरुदेखि आएको नभई पछि घुसाउन ल्याइएको भन्ने कुरा यसले पनि छर्लङ्ङ पार्छ ।
  • फेरि अर्को उदाहरण भनेको भक्तपुरकै क्वाथनुमठको शिलालेख हो । यसमा नेसं ८८८ कार्तिक वदी १० उल्लेख छ  । यस शिलालेखमा शाकाब्द भनी १६९०, विक्रमाब्द भनी १८२५ र कलिगताब्द भनी ४८६९ दिइएको छ । यो पनि नमिल्दो गरी प्रयोगमा आएको देखिन्छ किनभने नेसं ८८८ र शाकाब्द भनेको १६९० बिच ८०२ वर्षको अन्तर देखिनेबित्तिकै १६९० भनेको शक संवत् होइन भन्ने प्रस्ट हुन्छ । त्यही १६९० लाई नै शक मानेर त्यसमा १३५ जोडी विक्रम संवत् १८२५ ल्याइएको हो । त्यहाँ कार्तिक महिना पनि उल्लेख भइरहेको कुरा ख्याल राख्नु पर्छ । कार्तिक महिनामा नेपाल संवत् र विक्रम संवत्बिचको अन्तर ९३७ वर्ष देखाइएको छ, जुन सम्भव छैन । 

यही नेसं ८८८ को वर्षमा नेपालको इतिहासमा कान्तिपुरका राजा जयप्रकाश मल्लले आफ्नो राजपाठ सबै त्यागेको यही वर्षको भाद्रशुक्ल चतुर्दशीको घटना सम्झन सकिन्छ । उक्त दिन इस्वी सन्बाट १७६८ लेख्ने गरेको इतिहासका पाना पनि पल्टाएर हेर्न सकिन्छ । यहाँनिर विशेष ध्यान दिनु जरुरी छ किनभने विसं ९३६ र इसं ८७९ को कार्तिकमा नेपाल संवत् सुरु भएको कारणले विक्रम संवत् र इस्वी संवत्सित नेपाल संवत्बिचको अन्तर ९३५ र ८७८ हुने भएको हो । सोही अनुसार नेपाल संवत् ८८८ भाद्रमा विसं १८२३ र इस्वी १७६७ मात्र हुनुपर्ने सिद्धान्तले बोलेका कुरा हो तर देखिएको आधारमा विक्रम संवत् चाहिँ भाद्रमै विसं १८२५ र इस्वी चाहिँ १७६८ भइसके भन्दै गर्दा अघिको त्यो सिद्धान्त कता गयो भन्ने हुन्छ ? यस विषयमा इतिहासकारको प्रस्ट मत आउन सकेको पाइन्न ।

वास्तवमा बेलायतमा इस्वी संवत् १७५१ लाई संशोधन गरी १७५२ गरी दिएको कारण १७६७ हुन आउनुपर्ने इस्वी १७६८ हुन आएको हो । किनकि नेपाल संवत् सुरु हुँदा इस्वी ८७९ भएको हुनाले नेसं ८८८ कार्तिक भनेको १७६७ मात्र हुनुपर्ने हो । किनकि १७५१ मा एक वर्ष घचेटेर १७५२ बनाएकै कारणले इस्वी १७६८ हुन आएको हो । त्यस्तै नेपाल संवत् सुरु हुँदा विक्रम संवत् ९३६ कार्तिक भएकाले नेसं ८८८ हुँदा १८२३ हुने र वैशाखदेखि १८२४ हुनुपर्नेमा कार्तिकमै १८२५ गरियो । यो गम्भीर त्रुटि हो । यतातिर कसैले हेक्का नराख्दा नेपालको इतिहास दूषित भइरहेको हो । यहाँ पनि कसैको ध्यान गइरहेको छैन । 

जसरी इस्वीमा १७५१ मा एक वर्ष घचेटेर १७५२ बनाएदेखि १७६७ पनि घचेटिएर १७६८ हुन आएको हो । यहाँ विक्रम संवत्लाई पनि घचेटेर १८२५ बनाइनुमा कुनै तर्क छैन । विक्रम संवत् र इस्वी संवत्बिच ५६ वा ५७ अन्तरलाई समाएर इस्वी १७६८ मा ५७ फरक हुने गरी विक्रम संवत्लाई १८२५ गर्न ल्याइएको मात्र हो । यसको मतलब विक्रम संवत्को आफ्नै सिद्धान्त देखिन्न ताकि इस्वी संवत् जुन तालमा नाचे विक्रम संवत् पनि त्यही तालमा नाच्नुपर्ने पो देखियो । 

यसप्रकारले विक्रम संवत् नेपालमा जुनबेलादेखि प्रयोगमा ल्याइयो; त्यही बेलादेखि विक्रम संवत् र नेपाल संवत्बिचको अन्तर कहिले ९३३, कहिले ९३५, कहिले ९३६ र कहिले ९३७ देखिन आउने भए । कुनै अभिलेखमा त ९८१ वर्षसम्म पनि अन्तर देखिन आएकाले नेपालको इतिहास शुद्ध लेखनमा समस्या बनेको देखिन्छ । नेपालको इतिहास लेखन शुद्ध वैज्ञानिक बाटोमा लाने हो भने विक्रम संवत्को प्रयोगमा पुनर्विचार गर्नुपर्ने देखिन्छ ।

राणा शासनको इतिहासमा चन्द्रशमशेरले शासन गरेको अवधिलाई चरम निरङ्कुश शासन अवधि मानिन्छ । उनकै समयमा विक्रम संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिएर व्यवहार गराउन लगाइयो भन्ने चलन छ । यो भनेको विसं १९६० हो । यो बेलादेखि विक्रम संवत् नेपालमा राष्ट्रिय संवत्का रूपमा सरकारी कामकाजमा प्रयोग भएको कुरा इतिहासमा यत्रतत्र उल्लेख भएकै कुरा हो । यसो हुँदाहुँदै पनि स्वयम् चन्द्रशमशेरलाई नै विक्रम संवत्बारे न्यूनतम आधारभूत ज्ञान नै नभएको हो कि भन्ने देखिन्छ । किनकि विसं १९६० देखि गतेसमेत लागु गरेका चन्द्रशमशेरले राखेको विसं १९६९ को अभिलेखमा गतेको प्रयोग पाइन्न । त्यति मात्र होइन, नेपाल संवत् १०३२ लाई नेपाली संवत् त भनियो तर कार्तिक शुक्ल कुष्माण्ड नवमीमा विसं चाहिँ १९६९ भनी दिइयो । यसप्रकार कार्तिकमै ९३७ को अन्तर उनले देखाउनुलाई ज्ञान भएको भनेर पत्याउन मिल्दैन । यो कुरा पशुपति क्षेत्र देउपाटन ग्वल नवालीटोलको सुन्धाराको अभिलेखमा प्रस्टसँग देख्न पाइन्छ । विक्रम संवत् नेपालकै गौरवको विषय बनाउने हो भने सर्वप्रथम कार्तिकमै नेपाल संवत्सित ९३७ अन्तर देखिने गरेको कुनै एक पञ्चाङ्ग पात्रो अघि सार्नुपर्ने हुन्छ । 

निष्कर्ष

विक्रम संवत्लाई आधार बनाई लेखिएका जति पनि इतिहास छन्, ती कुनै पनि सिद्धान्त अनुकूल छैनन् । नेपालको मौलिक संवत् नेपाल संवत् नै हो, जुन वैज्ञानिक पनि छ । नेपाल संवत् मौलिक हो । यसमा शुक्ल पक्ष अघि र कृष्ण पक्ष पछि आउने गर्छ । यसलाई अमान्तमान पद्धति भनिन्छ । विक्रम संवत् पूर्णिमान्तमान भएकाले शुक्ल पक्ष चाहिँ हाम्रै लिएको छ । कृष्ण पक्ष चाहिँ हाम्रो नेपाल संवत्को कार्तिक कृष्ण पक्षलाई विक्रम संवत्ले एक महिनापछाडिको मङ्सिर कृष्ण पक्ष लिन पुग्छ । यसले गर्दा हामीले मान्ने गरेको यावत् सांस्कृतिक रीतिरिवाजमा प्रत्यक्ष असर पार्दै ल्याएको छ । परिणाममा चाडपर्वमा विग्रहको वातावरण ल्याइरहेको छ । विक्रम संवत् गतेमा आधारित भएको ३६५ दिनको सौरवर्ष हो । नेपाल संवत् ३५४ दिनको चान्द्रवर्ष हो । ३६५ दिनको वर्ष व्यावहारिक छ, ३५४ दिनको वर्ष अव्यावहारिक छ भन्ने जस्तो गलत भाष्य बनाई प्रचार गरिँदै आएको छ । 

नेपाल संवत् चान्द्र सौर दुवै भएको मैत्री संवत् भएकाले यसमा सङ्क्रान्ति, तिथि अधिकमास सबै आकर्षित छन् । विक्रम संवत्मा केवल सौरमास र पूर्णिमान्त मात्र आकर्षित भएकाले अधिकमास भनेको के हो भन्ने कुरा विक्रम संवत्लाई कुनै मतलब हुँदैन । अधिकमास कहाँनिर आएर बसेको हुन्छ, त्यसको अत्तोपत्तो नहुने; त्यति मात्र होइन नेपाल संवत्को कृष्णपक्ष जहिले पनि एक महिनापछाडि मनाइने भएकाले त्यसलाई व्यवस्थापन गर्न विक्रम संवत्को पञ्चाङ्ग बनाई आउनेहरूले गर्न सकेका होइनन् । नेपाल संवत् अनुसार कुनै दुई वटा सङ्क्रान्तिको बिचमा बस्न आएको चान्द्रमास जसले सङ्क्रान्तिलाई छोएको हुँदैन; त्यही चान्द्र महिनालाई अधिकमास भन्ने हो । यो परिभाषा विक्रम संवत्को पञ्चाङ्ग बनाई आउनेहरूले पालना गर्न सकेको छैन भन्ने कुरा ज्वलन्त प्रमाणका रूपमा यसपालि २०८३ को पञ्चाङ्गले देखाउँछ । यो २०८३ को पञ्चाङ्ग पल्टाएर हेरियो भने जेठ ३ बाट अधिकमास सुरु भएर आषाढको १ गतेसम्म देखाइएको छ । यो भनेको भ्रमको खाडलमा सोझै हाल्नु हो । किनभने अधिकमासले सङ्क्रान्ति देखेकै हुनु हुँदैन तर आषाढको १ गतेसम्म रहेको देखाउनु भनेको सिद्धान्तको लिक समातेन भन्ने हुन्छ । नेपाल संवत्ले २०८३ को अधिकमासको मान्यता अपनाउँदैन । नेपाल संवत्ले दुइटा सङ्क्रान्तिबिच सङ्क्रान्तिले नछोएको चान्द्रमासलाई मात्र अधिकमास मान्छ । त्यसकारण नेपाल संवत्मा सौरमासको गते, चान्द्रमासको तिथि र सौर चान्द्र दुवैको मिलानले उत्पन्न हुने अधिकमास सबै सम्मिलित भएको वैज्ञानिक संवत् हो । विक्रम संवत्मा केवल सौरवर्षको मात्र हिसाब हुन्छ ।