प्रमोद स्नेही
रेशमी बतासले झारेको
वसन्ती फूलहरूको पराग
टिपेर
प्रेमको एक अँजुली रङहरूले
समयको सुन्दर तस्बिर कोर्न
अभ्यस्त छु ।
सेतो सात घोडाहरूले उछिनेर
दुःखको मैदानहरूमा
लालीगुराँसको पत्रपत्रबाट
उदाएको सूर्यका उज्याला किरणहरूले
नवीन उत्साहको लोकगीत गाइरहेछन्
अनवरत
बालेर दियो मझेरीमा
नयाँ वर्षको उत्सव मनाइरहेका
मेरो जीवनको अप्राप्य आशाहरूको
सुखद पदचापका डोबहरू
मेरो छातीको भूगोलमा
दूबो झैँ माया फैलिरहेछ ।
जुनको उज्यालो टलकमा देखिएको
समयको रङ्गीन तस्बिर हेरेर
म हरेक सखारै बिहानीमा
सूर्य जस्तो बेसार घडामा भरेर
सँघार पोतिरहेछु
र यो नयाँ वर्षमा
सुनाखरी झैँ फुलेका सपनाहरूलाई
स्वागत गर्न पर्खिरहेको छु
यो वसन्तको आगमनसँगै !