• १२ साउन २०८१, शनिबार

नेपालको कला विश्वकै चिनारी : उपराष्ट्रपति

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन । तस्बिरः मनोजरत्न शाही

काठमाडौं, वैशाख २ गते। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताउनुभएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताउनुभयो। 

उहाँले  राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो बनाउने काम गरेको स्मरण गर्नुभयो। उपराष्ट्रपति पुनले विश्वका जुनसुकै कुनामा पनि नेपाली कला पुगेकोमा खुसी व्यक्त गर्नुभयो।

 केही वर्षअघि अष्ट्रियाको भियानामा भएको एक कार्यक्रममा सहभागि हुने क्रममा नेपाली लोक, आधुनिक कला प्रदर्शनी देख्दा आफूलाई गौरवको अनुभूति भएको उहाँले  उल्लेख गर्नुभयो। उपराष्ट्रपति पुनले विश्वमा नेपालीको पहिचान स्थापित गर्नमा नेपाली कलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

नेपाली कलाको इतिहास दुई हजार वर्षदेखि कै रहेको र परम्परागत रुपमा धर्म, संस्कार र संस्कृतिका कला रहेकामा वर्तमानमा हरेक विधामा कला सिर्जना हुँदै आएकोे उहाँको भनाइ थियो। अन्य क्षेत्रमा जस्तै नेपाली ललितकलाको क्षेत्रले पनि समस्या र चुनौती भोगिरहेको तथा कलाकारलाई टिकाउनसमेत चुनौती रहेको उहाँले बताउनुभयो। 

ललितकलालाई बचाइ राख्न राज्यबाट आवश्यक सहयोगको खाँचो रहेको उपराष्ट्रपति पुनले औँल्याउनुभयो। कला साधना भएकाले ललितकलाप्रति आफ्नो पनि रुचि रहेको सुनाउँदै उहाँले नेपालको चिनारी र गौरव विश्वमाझ बचाइ राख्न ललितकलाको भूमिका अहम् छ भन्नुभयो।

समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले एक महिनासम्म चल्ने ललितकला प्रदर्शनी कला क्षेत्रकै लागि महोत्सव भएको बताउनुभयो। समारोहमा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले प्रदर्शनीमा ३६५ कलाकारका ४२६ चित्र समावेश गरिएको जानकारी दिनुभयो। 


उक्त समारोहमा उपराष्ट्रपति पुनले रु एक/एक लाख राशि रहेको ‘अरनीको प्राज्ञ सम्मान’ अग्रज कलाकार कृष्ण मानन्धर र सूर्यबहादुर चित्रकारलाई प्रदान गर्नुभयो। यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार पत्रकार देवेन्द्र थुम्केलीलाई र ललितकला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिएको छ। 

सो अवसरमा विधागत रुपमा सात कलाकारलाई राष्ट्रिय ललितकला पुरस्कार, १७ जनालाई ललितकला विशेष पुरस्कार तथा सात जनालाई ललितकला प्रादेशिक पुरस्कार प्रदान गरिएको थियो।