भक्तपुर, मङ्सिर २२ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ ।
महाधिवेशन उद्घाटन हुन पाँच दिन बाँकी रहँदा उद्घाटन स्थलमा मञ्च निर्माण, शौचालय, अतिथि लगायतका लागि आवश्यक अस्थायी संरचनाहरू निर्माण तीव्र पारिएको नेकपा एमालेका पोटिलब्यूरो सदस्य महेश बस्नेतले बताउनु भयो ।
भक्तपुरको मौलिक पहिचान झल्किने गरी परम्परागत शैलीमा निर्माण हुने मञ्चका साथै अन्य संरचनाहरू निर्माण तीव्र गतिमा भइरहेको जानकारी दिँदै उहाँले उद्घाटनका दिनमा करिब पाँच लाख मानिसको कार्यक्रममा सहभागिता रहने अपेक्षा गरिएको बताउनुभयो ।
उद्घाटन स्थलमा १० हजार स्वयंसेवक परिचालन गरिने र ५५० जना स्वयंसेवक पोसाकसहित सहभागी हुने छन् । युवा सङ्घले ५० हजार कार्यकतालाई उद्घाटन स्थलमा ल्याउने र नेसनल भोलियन्टरले १० हजार कार्यकर्तालाई कार्यक्रमस्थलमा स्वयंसेवकका रूपमा परिचालन गर्ने भएको छ ।
महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट आउने प्रतिनिधिहरूको सवारी साधनलाई जगातीबाट इँटा–टायल कारखाना एवं स्थानीय प्लटिङमा पार्किङ गर्ने र र्यालीसहित सल्लाघारी उद्घाटन स्थलमा आउने र पश्चिमबाट आउने सवारी साधनलाई मध्यपुरथिमिको गट्ठाघरस्थित नागगरिक उड्डयन प्राधिकरणको खाली जग्गा एवं कमेरोटार क्षेत्रका खाली जग्गामा पार्किङ गरेर र्यालीसहित सल्लाघारी आउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
महाधिवेशनमा करिब दुई हजार पाँच सय प्रतिनिधिको सहभागिता रहने छ। पाँच प्रतिशत मनोनीत हुने प्रतिनिधिको छनोट प्रक्रिया शीर्षस्थ नेताहरूको टोलीले गरिरहेको उहाँले जानकारी दिनुभयो ।
यस पटकको महाधिवेशनमा एमालेले कुल प्रतिनिधि सङ्ख्यामा एक चौथाइ जेनजी युवाहरूलाई प्रतिनिधि बनाएको र केन्द्रीय कमिटीमा पनि जेनजीको प्रतिनिधित्व सुनिश्चित गरिने नेता बस्नेतले जानकारी दिनुभयो ।
यही मङ्सिर २७ गते १२ बजे उद्घाटन सत्र सुरु गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने तथा २८ र २९ गते भृकुटीमण्डपमा बन्द सत्र एवं निर्वाचनबाट नयाँ केन्द्रीय कमिटी चयान गर्ने भएको छ ।रासस