• १२ साउन २०८१, शनिबार

नयाँ वर्षका सङ्कल्प

blog

सुकृत नेपाल

काठमाडौँ, वैशाख १ गते । भित्तामा फेरिने नयाँ वर्षको क्यालेन्डरसँगै धेरैले नयाँ सपना बुन्न थाल्छन् । राम्रो काम गर्ने सङ्कल्प राख्न नयाँ वर्ष नै पर्खने एउटा बहानाजस्तै बनेको छ । सबैमा नयाँ वर्षको सङ्कल्प भरिदिन आउने २०७९ को सालबाट नेपाली सिने कलाकार किन अछुतो रहन्थे र ! कोभिडले आक्रान्त बनेका कलाकार अहिले जुर्मुराएका छन् । उनीहरूलाई पनि यसपालिको नयाँ वर्षले छोइसकेको छ । 

सङ्कल्पअनुसारको क्रियाकलाप हुन्छ वा हुँदैन भन्ने विषय महत्वपूर्ण हुन्छ, त्यसको लेखाजोखा भने अन्य पेसाका व्यक्तिहरूले मात्र होइन कालाकारले पनि कमै गर्ने गर्छन । आफ्ना चलचित्रले राम्रो व्यापार नगरेको अवस्थामा कलाकारहरू नयाँ वर्षमा मठमन्दिर गएर सङ्कल्प गर्छन् । चलचित्र राम्रो बनोस् अनि चलोस् भनेर प्रार्थना गर्छन् । कलाकार पुष्प खड्का आफ्नो नयाँ वर्षको सङ्कल्प यसरी सुनाउनुहुन्छ, अझ चलचित्रहरूमा राम्रो काम गर्दै जान्छु । अब म यो नयाँ वर्षमा एक्सन चलचित्रहरूमा नै केन्द्रित रहन्छु । उहाँ भन्नुहुन्छ, “म यो नयाँ वर्ष चलचित्र ‘एक्स–९’ मा नै बिताउँछु ।” 

नायिका स्वस्तिमा खड्का सङ्कल्प भनेको नयाँ वर्षको दिनमा मात्र राख्नुपर्छ भन्नेमा आफू सहमत नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सङ्कल्प भनेको सधैँ नै राखिन्छ । हामी सधैँ काम गर्छौं, आफूले अझ राम्रो गर्नुपर्छ भनेर सङ्कल्प गरेर नै हिँडिरहेका हुन्छौँ । त्यसैले नयाँ वर्षकै दिन यो गर्दिनँ, त्यो गर्दिनँ भनेर सङ्कल्प गर्नुपर्छ भन्ने पक्षमा म छैन ।” 

नयाँ वर्षलाई महत्व दिएर ठूलाठूला योजना बनाउने मात्र हुन्छन् भन्ने होइन । नयाँ वर्षलाई सामान्य रूपमा लिने कलाकार पनि छन् । हास्य कलाकार जितु नेपाल नयाँ वर्षमा मुन्द्रेको कमेडी क्लब फेरि सञ्चालनमा ल्याउन लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हिजोआज म अलि अल्छी भएकाले नयाँ वर्षदेखि ध्यान र योगमा अलि समय बिताउँछु । मेरो नयाँ वर्षको सङ्कल्प भनेकै राम्रो र नयाँ काम गर्ने प्रयास हो ।” 

कलाकार लक्ष्मी बर्देवा नयाँ वर्षमा आफ्नो दुईवटा गीत ‘दिल खोलेर कुरा गरन’ र आफ्नै निर्देशनमा ‘जे देख्छु, त्यो म होइन’ रिलिज हुने र आफू त्यसैमा व्यस्त रहने बताउनुहुन्छ । उहाँले अघिल्लो वर्ष मैले जे गरेँ, राम्रा, नराम्रा काम गरेँ, ती सबैलाई बिर्सेर यो वर्ष अघिल्लो वर्षभन्दा झन् राम्रा काम गर्ने सोचमा छु भन्नुभयो ।

धेरैजसो कलाकार नयाँ वर्षमा विभिन्न कार्यक्रममा व्यस्त हुन्छन् भने कोही परिवारसँग घुम्न जाने गर्छन् त कोही घरमै बसेर आफ्नो परिवारसँग रमाइलो गर्छन् । रङ्गकर्मी विजय बराल नयाँ वर्षमा नयाँ मण्डला थिएटरमा अझ नयाँ नयाँ काम गर्ने सोच बनाएको बताउनुहुन्छ । 

यस्तै कलाकार रवीन्द्र झा नयाँ वर्षमा आफ्नो खासै त्यस्तो सङ्कल्प नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राम्रो काम गर्दै जाने हो । यो, त्यो गर्दिनँ भनेर नयाँ वर्षकै दिन सङ्कल्प गर्नुपर्छ भन्ने छैन । आफूलाई हानि हुने आफ्नो नराम्रो बानीलाई जहिले छाड्दा पनि हुन्छ ।”