गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २ गते । सांस्कृतिक संस्थानले नयाँ वर्षका अवसरमा सांस्कृतिक कार्यक्रम ‘शुभारम्भ साँझ–२०८३’ आयोजना गरेको छ । संस्थानले नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलगायतको सहकार्यमा मङ्गलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सातै प्रदेशको पहिचान झल्कने सांस्कृतिक प्रस्तुतिहरू गरिएको थियो ।
प्रतिनिधि सभा सदस्य पुकार बमले उद्घाटन गर्नुभएको कार्यक्रममा नेपालका सातै प्रदेशका सांस्कृतिक पहिचानसहितको सांस्कृतिक प्रस्तुतिका साथ सबै प्रदेशको प्रतिनिधित्व हुने रैथाने खानाको स्टलसमेत राखिएको थियो । कार्यक्रमको सुरुवात सांस्कृतिक संस्थानका कलाकारले विभिन्न वाद्यवादनका साथमा मिठो सांस्कृतिक धुनको प्रस्तुतिबाट गरेका थिए । सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले नेपाली मौलिक सांस्कृतिक पहिचानका गीत, नृत्य, बाजा, वेशभूषालाई सूचीकृत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको समृद्धिका लागि पर्यटन प्रवर्धनका विविध अवसर सिर्जना गरी ती अमूर्त सम्पदाको प्रस्तुति र प्रदर्शनलाई जोड दिन सके संस्कृति र सम्बन्धित जाति, समुदायले आर्थिक रूपमा प्रगति गर्ने विचार व्यक्त गर्नुभयो ।
बुद्धको समयको धार्मिक कथाको बखान गर्ने नाच चण्डालिकाको प्रस्तुतिपछि सुदूरपश्चिमको अपि हिमालवरपरका क्षेत्रमा प्रचलित छलियाले दर्शक/श्रोतालाई मन्त्रमुग्ध बनाएको थियो । छलिया नृत्यसहितको गीतले सो क्षेत्रको भौगोलिक अवस्थादेखि सबै स्थानीय पहिचानको बयान गर्दै सुन्दर वेशभूषा र गहनाले मौलिक पहिचान बचाएको छ । हास्यकलाकारद्वय दिनेश काफ्ले, ‘हाउडे दाइ’ र खड्गबहादुर पुनमगर ‘खबपु’ ले नेपालका मौलिक सांस्कृतिक पहिचानलाई अमूर्त सम्पदाका रूपमा सूचीकरण गरेर पर्यटन प्रवर्धन गर्नुपर्ने सन्देश हास्यव्यङ्ग्यमार्फत दिनुभएको थियो ।
त्यसै गरी ताप्लेजुङको वालुङ, धिमे, झिझिया, झाँक्री, मयूरनाचलगायत सातै प्रदेशका पहिचानका रूपमा स्थापित मौलिक सांस्कृतिक प्रस्तुतिले शुभारम्भ साँझको रौनक बढाएको थियो । नेपाल पर्यटन बोर्डले प्रवर्धन गरेको शुभारम्भ साँझका अवसरमा हिमाली, पहाडी र तराईका क्षेत्रमा प्रचलित खानाका परिकार, सेलरोटी, चुकौनी, भक्का, योमरी, माडा, सिस्नु, कागुनोलगायतका रैथाने खानाका स्टलसमेत राखिएको थियो ।