धनगढी समाचारदाता
धनगढी, वैशाख २ गते । कैलालीको धनगढी उपमहानगरपालिकाको बलमिच्याइँका कारण करोडौँ रुपियाँको बजेट दुरुपयोग भएको छ । धनगढी उपमहानगरपालिका–७, देवहरिया वनस्पति उद्यानस्थित जाखोर तालपरिसरमा सिमेन्टको ब्लक लगाउने र सोलार बत्ती जडान गर्ने कार्यमा ठुलो बजेट दुरुपयोग भएको हो ।
देवहरिया वनस्पति उद्यान तथा अनुसन्धान कार्यालयको स्वामित्वमा रहेको ताल क्षेत्रमा धनगढी उपमहानगरपालिकाले उद्यान कार्यालयको असहमति हुँदाहुँदै बलमिच्याइँ गरेर तयार पारेको संरचना प्रायः उपयोगहीन बनेका छन् । जाखोर ताललाई पर्यटन गन्तव्य बनाउने र रातिको समयमा पनि पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ चार करोड ४९ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर ब्लक लगाउने र सोलार बत्ती जडान गर्ने कार्य भएको थियो । २०७६ मा ठेक्का भई काम अगाडि बढाइएको थियो । पालिकाले १२.५ हेक्टर क्षेत्रफल रहेको जाखोर तालको तीनतिर (उद्यान क्षेत्रतर्फबाहेक) वरिपरि ब्लक लगाउनुका साथै बत्ती जडान गरेको हो । २५४ खम्बामा ७६२ वटा सोलार बत्ती जडान गरिएका थिए । लगाएका ती बत्ती अहिले कुनै पनि बल्दैनन् । बनाइएका संरचना पनि तोडफोड भइरहेका छन् । जाखोर ताल क्षेत्रमा जडान गरिएका सोलार बत्ती गत वर्षदेखि नै बल्न छोडेको स्थानीय कमला चौधरी बताउनुहुन्छ । उहाँका अनुसार धेरै जसो बल्ब र सोलार ब्याट्री चोरी भइसकेका छन् । कतिपय बल्ब फुटाइएका छन् । चौधरीले भन्नुभयो, “अब सोलार र पोल मात्रै बाँकी छ । कुन दिन यो पनि रहँदैन ।”
नेपाल सरकारले २०५६ मा नै जाखोर तालको स्वामित्व वन अन्तर्गतको देवहरिया वनस्पति उद्यानलाई हस्तान्तरण गरेको थियो ।