नेपालगन्जमा सत्ता गठबन्धनका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगन्जमा सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।
मालपोत र नापीशाखाको सेवा एक साताका लागि बन्द
रेखीराम रानापाल्पा, बैशाख ११ गते । जिल्लाको मालपोत कार्यालय र नापी कार्यालयको सेवा आजदेखि एक साताका लागि बन्द भएको छ । विशालबजार र असनटोलमा भाडामा रहेका यी दुई कार्यालयले नयाँ भवनमा कार्यालय व्यवस्थापन गर्न भन्दै सेवा बन्द गरेको हुन् । मालपोत र नापीको एकीकृत कार्यालय घरेलु कार्यालयसँगै निर्माण सम्पन्न भएकोले कार्यालय स्थानान्तरणका लागि सेवा बन्द गर्नुपरेको मालपोत कार्यालय पाल्पाका प्रमुख विष्णु खनालले जानकारी दिनुभयो । मालपोतले सूचना जारी गरेर ११ देखि १६ गतेसम्म कार्यालयको श्रेस्ता, लिखतलगायतका कागजात नयाँ भवनमा सार्ने र त्यसपछि नयाँ भवनबाटै सेवा सुचारु गरिने जनाएको छ । नापी कार्यालयले पनि सोहीअनुसारको सूचना जारी गरेको छ । पाल्पामा मालपोत र नापी कार्यालय टाढा हुँदा सेवाग्राहीलाई समस्या परेको थियो ।
रेसुङ्गा नगरपालिकामा पन्थीलाई उम्मेदवार बनाउने काँग्रसको निर्णय
गुल्मी नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको लागि रेसुङ्गा नगरपालिका प्रमुखमा खिलध्वज पन्थीलाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पाल्पामा सत्ता साझेदारदलद्वारा उम्मेदवार बाँडफाँड
पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ ।
उम्मेद्वार बन्न दल फेर्दै स्थानीय नेता
जानु पाण्डे कपिलवस्तु, वैशाख १० गते । स्थानीय निर्वाचनमा आफ्नो दलबाट टिकट नपाउँने संकेत मिले पछि कपिलवस्तुमा पार्टी परिवर्तन गर्ने लहर चल्न लागेको छ । उम्मेद्वार नहुने संकेत मिल्न लागेपछि जनप्रतिनिधि र राजनैतिक दलका नेताहरु धमाधम पार्टी परिवर्तन गर्न लागेको छन् । स्थानीय निर्वाचनको मनोनयन गर्ने दिन नजिकिदै जाँदा नेताहरुमा दल परिवर्तन गर्ने लहर चल्न लागेको छ । कपिलवस्तुमा गठबन्धन नहुने संकेत देखिएको र दल विच उम्मेद्वारीको आकांछी धेरै भएपछि आन्तरिक मिलाउन समेत सकस भएको छ ।जिल्लाको विजयनगर गाउँपालिकाको अध्यक्ष पदको उम्मेद्वार नहुँने भएपछि काँग्रेस नेता जानकी प्रसाद यादव जसपा प्रवेश गर्नु भएको छ । यादव अघिल्लो स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिनु भएको थियो । निर्वाचनमा पराजय भए पछि काँग्रेस सांसद अभिशेख प्रताप शाहको पहलमा उहाँ काँग्रेस प्रवेश गर्नुभएको थियो । यादव काँग्रेस अधिवेशनमा क्षेत्रिय सभापतिमा समेत पराजित हुनु भएको थियो । यता यादव जसपा प्रवेश गरेपछि पार्टी समिति बेवास्था गरेको भन्दै विरोध प्रकट गरेका छन् । यसैगरी कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदीप पौडेल नगरप्रमुखको टिकट नपाउने भएपछि जसपा प्रवेश गर्नुभएको छ । उहाँ एक महिना अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाई एमाले प्रवेश गर्नुभएको थियो । पौडेल जसपा प्रवेश गरेपछि जसपाबाट नगरप्रमुखका आकांक्षी रामअचल यादवले जसपा त्यागेको घोषणा गर्नुभएको छ । यसैगरी कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका दुई वडा अध्यक्ष र काँग्रेस क्षेत्रिय सचिवले पार्टी परित्याग गरेका छन् । वडा नं. ११ का वडा अध्यक्ष जगदिश तिवारी वडा नं. १ का अध्यक्ष शिवप्रसाद वानियाले काँग्रेस परित्याग गर्दै एमाले प्रवेश गर्नुभएको छ । यसैगरी क्षेत्रीय सचिव गंगेश नाथ तिवारी समेत एमाले प्रवेश गर्नुभएको हो । वडा अध्यक्षको उम्मेद्वार बन्नका लागि जसपा शिवराज नगरकमिटिका सचिव पारस केवट लोसपा प्रवेश गरेका छन् । केवट कार्यकर्ता माझ लोकप्रिय नेता रुपको चिनिदै आएका छन् । उहाँले पार्टी परित्याग गरेपछि जसपामा तरंग मच्चिएको छ ।
इँटा उद्योगका बाल श्रमिकलाई शैक्षिक सामग्री सहयोग
जानु पाण्डेकपिलवस्तु, वैशाख १० गते । कपिलवस्तुका इँटा उद्योगमा रहेका बाल श्रमिकलाई विद्यालय शैक्षिक सामग्री सहयोग गरिएको छ । इँटा उद्योगमा काम गर्दैआएका १ सय ६८ बालबालिकालाई स्कुल व्याग, स्टेश्नरी सामग्री र खाद्यान्न सहयोग गरिएको छ । नयाँ शैक्षिक सत्रमा इँटा उद्योगमा काम गर्ने बालबालिकालाई भर्ना गर्न र विद्यालयमा अध्ययन गर्दै आएकालाई पढाइमा निरन्तरता दिनका लागि सहयोग गरिएको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताउनुभयो ।समितिले कपिलवस्तुको शिवराज, महाराजगन्ज, कृष्णनगर र बुद्धभूमि नगरपालिकाका इँटा उद्योगमा काम गर्ने बालबालिकालाई लक्षित गर्दै कार्यक्रम गर्दैआएको छ । उद्योगबाट संकलन गरेको तथ्यांकअनुसार जोखिममा देखिएका बालबालिकालाई सहयोग गरिएको थियो । बालबालिकालाई झोला, कापी, कलम, कलर, इरेजर सँगै नुन, चामल, तेल दाललगायतका खाद्यान्न सहयोग गरिएको छ । बुद्धभूमि नगरपालिका ६ का वडा अध्यक्ष नन्दलाल यादवले सहयोगपछि बालबालिकाको पढाई निरन्तर हुनुपर्ने बताउनुभयो । सञ्चालनमा रहेका अधिकांश इँटा उद्योगमा बालबालिका काँचो इँटा ओसार्ने, माटो बोक्ने, फ्रेममा राखेर इँटा बनाउनेजस्ता काममा लगाइएका छन् । गत वर्षको तथ्यांकअनुसार ४ पालिकामा गरेको सर्वेक्षणमा ७५० भन्दा धेरै बाल श्रमिक इँटा उद्योगमा कामदारको रुपमा फेला परेको थिए । यो वर्ष बाल श्रमिकको संख्या ५ सयको हाराहारीमा पुगेको बताइएको छ ।
पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जानु पाण्डेकपिलवस्तु वैशाख १० गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा पाठेघर खस्ने रोगको निःशुल्क शिविर सञ्चालन गरिएको छ । गाउँपालिका १ मा रहेको दूधाधारी माध्यमिक विद्यालय गुगौलीमा शनिबार स्वास्थ्य शिविर सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो ।भारतीय सीमा क्षेत्रसँग जोडिएको पालिकामा ग्रामीण क्षेत्र र विपन्न परिवारको महिलालाई लक्षित गर्दै उपचार सिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोेपालवहादुर थापाले बताउनुभयो । गाउँपालिकाको आर्थिक सहयोगमा सिविर सञ्चालन गरिएको छ ।गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीका अनुसार पाठेघर खस्ने रोगका समस्या भएका महिलाको पहिचान गरी उपचारको व्यवस्था मिलाएको बताउनुभयो । महिला स्वास्थ्य स्वयम्सेविकासँग टोल टोलमा पुगेर पाठेघर खस्ने समस्या भएका बिरामीको पहिचान गरी उपचारको प्रवन्ध मिलाइएको छ । उपचारका लागि शिवराज अस्पताल र विजयनगर गाउँपालिकाका स्वास्थ्यकर्मी खटेका थिए ।
प्रचण्ड गर्मीमा विद्युत अनियमितताले सर्वसाधारणलाई सास्ती
नेपालगञ्ज, वैशाख १० गते । सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपालगञ्जसहित बाँकेमा विद्युतको अघोषित लोडसेडिङ र समस्याबाट चर्को गर्मीको समयमा आमनागरिकले सास्ती खेप्न बाध्य छन् । केही समययता बढेको अत्याधिक गर्मीकाबीच अघोषित रुपमा भैरहेको घण्टौको लोडसेडिङ र विद्युत आपूर्ति असहज हुँदा आम नागरिकको जीवन कष्टकर बन्दै गएको छ । प्रचण्ड गर्मीको बेला पटक पटक विद्युत आपूर्ति बन्द हुने र घण्टौसम्म नआउने हुँदा अधिकांश जिल्लावासी अत्याधिक सास्ती खेप्न बाध्य भएको स्थानीय अगुवा कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले विद्युतमा भैरहेको अघोषित लोडसेडिङका बारेमा पटक पटक प्राधिकरणको ध्यान आकर्षण गराउँदा समेत कुनै सुधार नभएको विद्युत अनियमितता जारी नै रहेको गुनासो गर्नुभयो । बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय बासिन्दा विद्युत आपूर्ति असहज हुँदा झन आक्रोशित बनेको नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवि ओलीले बताउनुभयो । उहाँले विद्युत अनियमित हुँदा एकातिर गर्मीको बेला स्थानीयलाई समस्या भएको र अर्कोतिर उद्योग व्यवसायमा पनि अत्याधिक नराम्रो प्रभाव परेको बताउनुभयो । विद्युत समस्याकै कारण अधिकांश उद्योगले आवश्यक परेको उत्पादन गर्न नसकेर घाटा सहन बाध्य भएको गुनासाहरु दैनिजसो संघको कार्यालयमा आइरहेको बताउनुभयो । यस्तै, सामाजिक अभियन्ता विवेक कुमार श्रेष्ठले दिनदिनै जतिबेला मन लाग्यो त्यति बेला विद्युत कटौती गरिने गर्दा नेपालगञ्जवासी हैरान बनेको बताउनुभयो । उता, विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले नेपालको लाइनबाट विद्युत आपूर्तिमा लोडका कारण समस्या भैरहेकाले विद्युत अनियमित हुने गरेको वितरण केन्द्र प्रमुख दिवाकर प्याकुरेलले बताउनुभयो । उहाँले सो आपूर्ति सिस्टमबाट हुने गरेकाले अलिकति लोड बढ्ने वित्तिकै सिस्टमबाटै विद्युत आपूर्ति बन्द हुने गरेको जनाउँदै त्यसका लागि कोहलपुरमा थप उपकरण जडान गरिएकोले समस्या समाधान हुने बताउनुभयो । प्रमुख प्याकुरेलका अनुसार नेपालगञ्जमा भारतीय क्षेत्रबाट १० मेगावाट र नेपालको राष्ट्रिय प्रसारण लाइनबाट २० मेगावाटसम्म विद्युत आपूर्ति भइरहेको भए पनि राष्ट्रिय प्रसारण लाइनबाट हुने आपूर्तिमा सिस्टमबाटै समस्या भैरहेको छ । गर्मीका बेला हरेक वर्ष नेपालगञ्जको विद्युत आपूर्तिमा यस्तै समस्या हुँदै आए पनि यसको दीर्घकालीन निकासका लागि ठोस काम हुन सकेको छैन ।
भारतमा सङ्क्रमण बढ्न थालेपछि नाकामा कडाइ
केही समयअघिदेखि निकै घटेको कोभिड–१९ सङ्क्रमण भारतमा पुनः बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । सङ्क्रमण बढ्दै गएपछि भारतबाट नेपाल आउनेमाथि निगरानी बढाउनुका साथै नाकामा रहेको हेल्थ डेस्कले फेरि एन्टिजेन परीक्षणको दायरा बढाउँदै लगेको छ ।