• १७ असार २०८१, सोमबार

बुटवल उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनबाट काँग्रेसका पाण्डेको उम्मेदवारी

blog

उम्मेदवारी दर्ताका क्रममा बुटवल उपमहानगरपालिकामा पुग्नुभएका प्रमुखका उम्मेदवार खेलराज पाण्डे लगायत नेता कार्यकर्ता । तस्वीर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख १२ गते । नेपाली काँग्रेसका खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी मनोनयन गर्नुभएको छ । पाँचदलीय गठबन्धनबाट उहाँले आज दिउँसो १ः०० बजे बुटवल उपमहानगरपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर पाण्डेले उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको हो ।

पाण्डे नेपाली काँग्रेस बुटवलका लगातार तीन कार्यकालदेखि नगर सभापति समेत हुनुहुन्छ । बुटवलमा गठबन्धनको तर्फबाट  प्रमुख नेपाली काँग्रेसले पाएको हो । उपमेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । समाजवादीबाट चीनबहादुर गुरुङले पनि उम्मेदवारी मनोनयन गर्नुभएको छ ।  बुटवलमा काँग्रेसले  प्रमुखसहित १६ वटा वडाध्यक्षमा उम्मेदवारी मनोनयन गरेको हो ।

मनोनयन दर्तापछि प्रमुखका उम्मेदवार पाण्डेले बुटवललाई देशकै सबल आर्थिक केन्द्र बनाउने प्रतिवद्वता जनाउनुभयो । उहाँले बुटवलको सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने  उहाँको दाबी छ । बुटवलको सिक्स लेन सडक सुधार गर्ने, मोतिपुर औद्योगिक क्षेत्रलाइ सबैको सहमतिमा अगाडि बढाउने, बुटवललाइ नमुना बनाउने प्रतिबद्धता जनाउनुभयो  ।

भाडामा बस्ने, पैदल हिंड्ने  

पाण्डे २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि बुटवल उपमहानगरको उम्मेदवार हुनुहुन्थ्यो । उहाँ एमालेका शिवराज सुवेदीसँग २३ सयको मतले पराजित हुनुभएको थियो । पराजित भए पनि खेलराज पाण्डेले विजेता सुवेदीलाइ खादा, माला र अबिर लगाएर तत्काले बधाइ दिनुभएको थियो । उहाँ र बिजेता सुवेदीबीच अङ्कमाल गरेको फोटोले चर्चा  पाएको थियो ।

यो पटक गठबन्धनबाट उम्मेदवार भएका पाण्डे बाजी मार्ने दाउमा हुनुहुन्छ । सरल स्वाभावका नेता पाण्डे काँग्रेसभित्र लोकप्रिय मानिनुहुन्छ । तर यो पटक भने काँग्रेसभित्र केही असन्तुष्टि पनि देखिन्छ । उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालले राजीनामा दिनुभएको छ । यद्यपी उहाँको राजीनामा स्वीकृत भएको छैन ।

पाण्डे २०२६ साल फागुन ५ गते कालिगण्डकी–२ स्याङ्जामा जन्मिनुभएको हो । स्याङ्जामा जन्मिएका भए पनि पाण्डेको राजनीतिक जीवन भने बुटवलमै बितेको छ । २०३९ सालदेखि राजनीतिमा सक्रिय  पाण्डेले आदर्श मावि स्याङ्जामा नेपाल विद्यार्थी सङ्घको सदस्य लिएर राजनीति सुरु गर्नुभएको थियो ।

बुटवललाई नै राजनीतिक थलो बनाएका पाण्डे हालै तेस्रो कार्यकालका लागि बुटवल नगरको सभापति हुनुहुन्छ । २०५२ सालमा नेविसङ्घ सचिव रुपन्देही, २०५९ सालमा तरुण दल रुपन्देही अध्यक्ष, २०६० सालमा तरुण दल केन्द्रीय सदस्य हुदै २०६७ मा नेपाली काँग्रेस नगर सभापति बनेका पाण्डे २०७२ सालमा नगर विकास समिति बुटवलको अध्यक्ष हुनुभयो । 

२०३८ सालमा बुटवल झरेका पाण्डेको पहिचान ग्रामीण क्षेत्रमा राम्रो रहेको स्थानीय जानकारहरु बताउँछन् । नेता पाण्डे अहिलेपनि भाडाको घरमा बस्दै आउनुभएको छ । उहाँले पैदलै हिडेर जनताको घरघरमा पुग्ने नेताका रुपमा पहिचान बनाउनुभएको छ ।