गोविन्द शर्मा
बाँके, वैशाख ७ गते । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर-१ होलियाको पिप्रहवा गाउँका बासिन्दाहरु केही समय अघिसम्म राप्तीनदी कतिबेला गाउँ पस्छ भनेर सधै त्रासमा हुन्थे ।
तर अहिले नदीले धार परिवर्तन गरि पुर्बतर्फ सरेपछि पिप्रहवा, टेपरी आसपासका गाउँका बासिन्दाहरु बाढीको त्रासबाट ढुक्क भएका छन् ।
स्थानीय राजकुमार शुक्लाले राप्ती नदीले धार परिवर्तन गरेपछि नदी कटान र बाढीको सधै उच्च जोखिममा रहेको बस्तीका बासिन्दा ढुक्कसँग निदाउन पाएको बताउनुहुन्छ ।
शुक्लाले भन्नुभयो, ‘‘केही बर्षअघिसम्म नदी गाउँनजिकै बग्थ्यो, बर्षातको समयमा गाउँभित्रै पनि नदी पस्थ्यो, अहिले भने नदी पुर्बतर्फ सरेपछि बाढीको त्राष अन्त्य भएको छ ।’’
डुडुवा-२ सन्तलियाका राजेशकुमार बर्माले बिगतमा डुडुवा नालाको किनारमा रहेका बस्तीहरु राप्तीनदी त्यही मिसिदा बाढी आएको भन्दै अहिले नदीले धार परिवर्तन गरेपछि बाढीको जोखिम कम भएको बताउनुभयो ।
डुडुवामा समेत बाढी नियन्त्रणका लागि ठाउँठाउँमा पक्कि तटबन्धको काम भईरहेको स्थानीय बासिन्दाले जनाएका छन् । राप्ती नदीको बाढीका कारण होलियाको पिप्रहवा, खडैचा, टेपरी, चौफेरी, सन्तलिया लगायतका गाउँहरु सबैभन्दा बढि प्रभावित भएकोमा अहिले नदीले धार परिवर्तन गरेपछि स्थानीयहरु बाढीको समस्या हटेको बताउँछन् ।
नदी पूर्वतर्फ स्थानान्तरण भएपछि राप्तीसोनारीको फत्तेपुर, नरैनापुरको भोजभगवानपुर लगायतका गाउँहरु बाढीको उच्च जोखिममा परेका छन् ।