शान्तिपूर्ण रूपमा मतदान सम्पन्न
लुम्बिनी प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । जिल्ला समाचारदाताहरूका अनुसार मतदानमा मतदाता उत्साहपूर्ण रूपमा सहभागी भए । मतदानपछि गणना स्थलमा मतपेटिका लैजाने काम भएको छ । रातिदेखि नै गणना गर्ने तयारी गरिएको छ ।
दाङमा ५६ प्रतिशत मत खस्यो
दाङमा ५६ प्रशितश मत खसेको छ । शुक्रबार दिउँसोसम्म जिल्लाका १० पालिकाका, ९९ वडामा ५६ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
रुकुमकोटमा किरियापुत्रीद्वारा मतदान
रुकुम पूर्वमा किरियापुत्रीले मतदान गर्नुभएको छ । स्थानीय तह निर्वाचनको मतदानको दिन जिल्लाको सिस्ने गाउँपालिका–५ टाकुराका एकाघरका चारजना किरियापुत्रीले मतदान गर्नुभएको हो । गीता शाह, मोहन शाह, सरिता शाह र डम्मरी कुमारी शाहले मतदान गर्नुभएको हो ।
मतगणना स्थलमा सीसी क्यामरा
घोराही, वैशाख ३० गते । स्थानीय तह निर्वाचनका लागि दाङ जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा १० पालिका र एक सय वडा रहेका छन् । प्रदेश निर्वाचन कार्यालय घोराहीका अनुसार निर्वाचनका लागि मतदान स्थलमा कर्मचारी टोली पुगेपछि नयाँ मतदातालाई परिचयपत्र वितरण गरिएको छ । परिचयपत्र लिन आउने मतदातालाई मतदान गर्ने विषयमा शिक्षासमेत दिइएको छ ।मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले मतदान केन्द्रलाई व्यवस्थित गर्नका लागि तारबार गर्नेदेखि महिला, पुरुष र अशक्त, ज्येष्ठ नागरिकलगायतकालाई मतदान गर्ने छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाध्यक्षका उम्मेदवारको मृत्यु भएकाले सो ठाउँमा जेठ ३ गते निर्वाचन हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निर्वाचन प्रचारकै क्रममा मृत्यु भएको थियो ।निर्वाचनमा सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरीको सुरक्षा परिचालन रहनेछ । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा आवश्यकताअनुसार संवेदनशील मतदान केन्द्रमा नेपाली सेनाले सुरक्षा दिनेछन् ।दाङमा निर्वाचनका लागि एक सय ५३ मतदान स्थलमा चार सय ६१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा तीन हजार ६८८ कर्मचारी र ३५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित काठेकोहल स्कुलमा रहेको केन्द्र जिल्लाकै ठूलो मतदान केन्द्र हो । जहाँ करिब १० हजार मतदाता रहेका छन् । सो केन्द्रअन्तर्गत १० वटा मतदान स्थल तोकिएका छन् । जिल्लामा चार लाख नौ हजार ९०२ मतदाता रहेका छन् । जसमा दुई लाख ७९९ पुरुष, दुई लाख नौ हजार ९९ जना महिला र अन्य दुई जना मतदाता रहेका छन् । दाङका मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको छ । स्थानीय तह निर्वाचनको मतगणनालाई सुरक्षित बनाउन यसपटक सीसी क्यामरा जडान गरिएका छन् । जिल्लाका १० वटै पालिकामा सीसी क्यामराको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार मतगणना स्थलमा सीसी क्यामरा जडानसँगै सुरक्षाका लागि तारबारको व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो, “निर्वाचनको तयारी पूरा भएको छ । मतदान स्थल निर्माणदेखि मतगणना स्थल निर्माणका काम तयारी अवस्थामा छन् ।”मतगणनालाई सुरक्षित र पारदर्शी बनाउन तारबार र सीसी क्यामराको व्यवस्था गरिएको प्रजिअ रेग्मीले जानकारी दिनुभयो । पालिकामा आवश्यकताअनुसार पाँचदेखि १० वटासम्म सीसी क्यामरा जडान गरिएका छन् । उम्मेदवारका मतगणना प्रतिनिधि यस पटक मतगणना स्थलमा जान पाउने छैनन् । तारजालीभन्दा बाहिरपट्टि उम्मेदवारका मतगणना प्रतिनिधि बस्नेछन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचनपछि केन्द्रमा मतपेटिका सङ्कलन गरिनेछ । त्यसपछि सर्वदलीय बैठकले समय टुङ्गो लगाएअनुसार मतगणना सुरु हुने जनाइएको छ ।प्रजिअ रेग्मीका अनुसार तुलसीपुर उपमहानगरपालिका–१७ को निर्वाचन जेठ ३ गते हुने भएकाले सो पालिकाको मतगणना पछि हुनेछ ।
लुम्बिनीमा बन्यो मुलुककै ठूलो सभाहल र ध्यानकेन्द्र
बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम सकिएको छ । लुम्बिनी विकास कोषका अनुसार निर्माण सम्पन्न भएको ध्यान केन्द्रको आगामी जेठ २ गते बुद्ध जयन्तीका दिन उद्घाटन गरिने छ ।
रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशील
शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन अवधिका लागि रुपन्देहीमा चार हजार ६०४ सुरक्षाकर्मी परिचालन गरिएको हो । मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् ।
बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन
बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् । शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । बाँकेमा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल रहेका छन् ।
रुपन्देहीमा निर्वाचन तयारी पूरा
रुपन्देही जिल्लामा स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको छ । मतदान केन्द्रको व्यवस्थापन गर्ने, जनशक्ति परिचालनलगायत कार्य सम्पन्न भएको छ ।निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीका अनुसार सबै मतदान अधिकृतलाई निर्वाचनका लागि आवश्यक सामग्री बुझाइसकिएको छ । परिचयपत्र वितरणको कामसमेत सुरु भइसकेको छ ।
सासूको मृत्युपछि बुहारी उपप्रमुख पदको उम्मेदवार
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका उपप्रमुख पदका उम्मेदवारको मृत्यु भएपछि नयाँ उम्मेदवार चयन गरिएको छ । नेपाली कांग्रेसबाट उपप्रमुख पदका उम्मेदवार दिनुभएका सुभावती कुर्मीको हृदयाघातबाट मृत्यु भएपछि सो पदमा उहाँकै बुहारीलाई उम्मेदवारी बनाइएको छ ।