• १९ असार २०८१, बुधबार

लुम्बिनीमा बन्यो मुलुककै ठूलो सभाहल र ध्यानकेन्द्र

blog

लक्ष्मण पौडेल
भैरहवा, वैशाख २९ गते ।
बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम सकिएको छ । लुम्बिनी विकास कोषका अनुसार निर्माण सम्पन्न भएको ध्यान केन्द्रको आगामी जेठ २ गते बुद्ध जयन्तीका दिन उद्घाटन गरिनेछ । राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजनाअन्तर्गत अत्याधुनिक सुविधासहितको सभाहल निर्माण गरिएको हो । तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको हल कोभिड–१९ का कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको हो ।

मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएको थियो । दोस्रो चरणमा फिनिसिङ र सुन्दरीकरणको काम सम्पन्न भएको हो । पहिलो चरणमा ३१ करोड ७९ लाख रुपियाँ र दोस्रो चरणको काम २७ करोड लागतमा ठेक्का सम्झौता भएको थियो ।

“दोस्रो चरणको ९९ प्रतिशत काम सम्पन्न भयो” निर्माण कम्पनी लुम्बिनी, अर्घाखाँची बाबुल जेभीका साइड इन्जिनियर वसन्त क्षत्रीले भन्नुभयो–“बाहिरी ल्यान्डस्क्यापको एक प्रतिशत काम बाँकी छ । त्यो पनि छिट्टै सक्छौं ।”

प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ २ गते सभाहल र ध्यानकेन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उक्त हलबाट सोही दिन सम्बोधन गर्ने कार्यक्रम छ ।

ध्यान केन्द्र १० मिटर गहिराइका १४० वटा पाइल फाउन्डेसनमा निर्माण गरिएको छ । फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । आठ हजार ३०० वर्गमिटर क्षेत्रमा रहेको सभाहललाई बन्द राख्न चारैतिरबाट चाइनिज इँटाको पर्खाल लगाइएको छ । हलभित्र पस्न मुख्य तीन वटा सेन्सर ढोका छन् । त्यस्तै, ५२ वटा हाते ढोका छन् । हाते ढोका चार मिटर अग्ला र साढे दुई मिटर चौडाइका छन् ।

पाँच हजार जना अटाउने छाता शैलीको हलमा ध्यान केन्द्रको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने प्रविधिको राखिएको छ । ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने प्यानल प्रयोग गरिएको छ । साउण्ड प्रुफ छत छ । असिनापानीको आवाज आउँदैन । हलको भुइँमा चार वर्ग मिटरको ब्लक बनाएर मोज्याक बिछ्याइएको छ ।

भित्र उज्यालोका लागि छतमा ४७६ बत्ती जडान गरिएका छन् । वाईफाई जोन बनाइएको छ । “अत्याधुनिक र सुविधा सम्पन्न हल मुलुककै पहिलो हो,” लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले भन्नुभयो, “अब लुम्बिनीमा ठूलठूला कार्यक्रम गर्न सकिने भएको छ ।”

०७४ सालको बुद्धजयन्तीका दिन हावाहुरी र झरीले कार्यक्रम स्थल भत्काएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही बेला पाँच हजार क्षमताको ध्यानकेन्द्र लुम्बिनीमा बनाउने घोषणा गर्नुभएको थियो । १७ वैशाख ०७५ बुद्ध पूर्णिमाका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सभाहलको शिलान्यास गर्नुभएको थियो । म्युजियमदेखि करिब पाँचसय मिटर पूर्वतर्फ निर्माण गरिएको तीन सय ८६ दशमलव ८८ वर्गमिटर यो सम्मेलन केन्द्रको डिजाइन दक्षिण एसियामै नमुना भएको कोषको दाबी छ ।