• १९ असार २०८१, बुधबार

रुपन्देहीमा निर्वाचन तयारी पूरा

blog

रुपन्देहीको बुटवल १२ स्थित नयाँगाउँ माध्यमिक विद्यालयमा मतदाता परिचयपत्र वितरण गरिँदै । तस्बिर : कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख २९ गते । रुपन्देही जिल्लामा स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको छ । मतदान केन्द्रको व्यवस्थापन गर्ने, जनशक्ति परिचालनलगायत कार्य सम्पन्न भएको छ ।निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीका अनुसार सबै मतदान अधिकृतलाई निर्वाचनका लागि आवश्यक सामग्री बुझाइसकिएको छ । परिचयपत्र वितरणको कामसमेत सुरु भइसकेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका रूपन्देहीमा सात सय मतदान केन्द्र र २०८ मतदानस्थल तोकिएका छन् । अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका छन् । सबैभन्दा धेरै मतदाता रहेका जिल्लामध्ये रुपन्देही चौथो जिल्ला हो । एक हजार मतदाताका लागि एक मतदान केन्द्र तोकिएको छ । यसअघिको प्रदेश एवं प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा २०८ मतदान स्थल र ६१० मतदान केन्द्र थिए । 

निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख भण्डारीले मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थपिएको बताउनुभयो । उहाँका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनका तुलनामा रुपन्देहीमा एक लाख नौ हजार ७५८ मतदाता बढेका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकामा अहिले बढेर छ लाख ३२ हजार ३६० पुगेका छन् । तीमध्ये तीन लाख २३ हजार ७७८ पुरुष र तीन लाख आठ हजार ५७४ महिला छन् । अन्य मतदाताको सङ्ख्या आठ रहेको छ । 

निर्वाचन कार्यालयका अनुसार बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ मतदाता छन् । अघिल्लो निर्वाचनमा ७६ हजार ७२० मतदाता रहेका थिए । नगरपालिकामा सबभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ८५ हजार ७४७ र सबभन्दा कम लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४३ हजार ८९० मतदाता रहेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तिलोत्तमामा ७१ हजार ७४ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३६ हजार ११५ मतदाता थियो ।

जिल्लामा रहेका १० गाउँपालिकामध्ये सबैभन्दा धेरै गैडहवा गाउँपालिकामा ३० हजार ३५१ र सबैभन्दा कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा गैडहवा गाउँपालिकामा २४ हजार ९२० र मर्चवारी गाउँपालिकामा १८ हजार ८१७ मतदाता रहेका थिए । रुपन्देहीमा ३८ दलले चुनावी प्रतिस्पर्धा गर्दै छन् । जिल्लामा रहेका ७९ राजनीतिक दलमध्ये छ ठूला दलले स्वतः चुनाव चिह्न पाइसकेका छन् । स्थानीय निर्वाचनका लागि जिल्लामा ३२ वटा दल दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।