पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख ९ गते । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले निम्त्याएको कटान जोखिम न्यूनीकरण गर्न तटबन्ध निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। नदी किनारमा भइरहेको यो बृहत् तटबन्ध निर्माणले स्थानीय बासिन्दा र उनीहरूको जग्गा–जमिनलाई सुरक्षित बनाउने विश्वास लिइएको छ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, कार्यालय चितवनका कार्यालय प्रमुख डा. नारायणप्रसाद सुवेदीका अनुसार सुस्ता क्षेत्रमा करिब नौ सय मिटर लम्बाइको तटबन्ध निर्माणका लागि करिब १४ करोड रुपियाँ लागतमा काम भइरहेको छ।
यसैक्रममा निर्माणाधीन तटबन्धको गुणस्तर र प्रगतिको अवस्थाबारे जानकारी लिन सरोकारवालाहरूको टोलीले स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीमा आयोजना कार्यालयका प्रमुख डा. सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख रुदल यादव र प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल सहभागी हुनुहुन्थ्यो।
अनुगमनका क्रममा सरोकारवालाहरूले तोकिएको समयमै र मापदण्डअनुसार गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। बर्खायाम अगावै तटबन्ध निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख डा. सुवेदीले नारायणी नदीको उच्च बहाव र कटान जोखिम रहेको सुस्ता क्षेत्रमा नौ सय मिटर लम्बाइको तटबन्ध निर्माण भइरहेको र यसले दीर्घकालीन रूपमा कटान नियन्त्रणमा सहयोग पुर्याउने बताउनुभयो।
त्यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख रुदल यादव र प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सुस्ता क्षेत्रको भौगोलिक संवेदनशीलतालाई मध्यनजर गर्दै यो तटबन्ध निर्माण अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँहरूले निर्माण कार्यमा आइपर्ने प्रशासनिक वा अन्य बाधा–अड्चन हटाउन प्रशासन सदैव समन्वय गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो।
नारायणी नदीको कटानका कारण वर्षेनी जोखिममा पर्दै आएको सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धले स्थानीयवासीमा ठुलो राहतको अनुभूति दिलाएको छ।