• १९ असार २०८१, बुधबार

मतगणना स्थलमा सीसी क्यामरा

blog

घोराही, वैशाख ३० गते । स्थानीय तह निर्वाचनका लागि दाङ जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा १० पालिका र एक सय वडा रहेका छन् । प्रदेश निर्वाचन कार्यालय घोराहीका अनुसार निर्वाचनका लागि मतदान स्थलमा कर्मचारी टोली पुगेपछि नयाँ मतदातालाई परिचयपत्र वितरण गरिएको छ । परिचयपत्र लिन आउने मतदातालाई मतदान गर्ने विषयमा शिक्षासमेत दिइएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले मतदान केन्द्रलाई व्यवस्थित गर्नका लागि तारबार गर्नेदेखि महिला, पुरुष र अशक्त, ज्येष्ठ नागरिकलगायतकालाई मतदान गर्ने छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । 

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१७ को वडाध्यक्षका उम्मेदवारको मृत्यु भएकाले सो ठाउँमा जेठ ३ गते निर्वाचन हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निर्वाचन प्रचारकै क्रममा मृत्यु भएको थियो ।

निर्वाचनमा सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो । निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरीको सुरक्षा परिचालन रहनेछ । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा आवश्यकताअनुसार संवेदनशील मतदान केन्द्रमा नेपाली सेनाले सुरक्षा दिनेछन् ।

दाङमा निर्वाचनका लागि एक सय ५३ मतदान स्थलमा चार सय ६१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा तीन हजार ६८८ कर्मचारी र ३५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित काठेकोहल स्कुलमा रहेको केन्द्र जिल्लाकै ठूलो मतदान केन्द्र हो । जहाँ करिब १० हजार मतदाता रहेका छन् । सो केन्द्रअन्तर्गत १० वटा मतदान स्थल तोकिएका छन् । जिल्लामा चार लाख नौ हजार ९०२ मतदाता रहेका छन् । जसमा दुई लाख ७९९ पुरुष, दुई लाख नौ हजार ९९ जना महिला र अन्य दुई जना मतदाता रहेका छन् । 

दाङका मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको छ । स्थानीय तह निर्वाचनको मतगणनालाई सुरक्षित बनाउन यसपटक सीसी क्यामरा जडान गरिएका छन् । जिल्लाका १० वटै पालिकामा सीसी क्यामराको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार मतगणना स्थलमा सीसी क्यामरा जडानसँगै सुरक्षाका लागि तारबारको व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो, “निर्वाचनको तयारी पूरा भएको छ । मतदान स्थल निर्माणदेखि मतगणना स्थल निर्माणका काम तयारी अवस्थामा छन् ।”

मतगणनालाई सुरक्षित र पारदर्शी बनाउन तारबार र सीसी क्यामराको व्यवस्था गरिएको प्रजिअ रेग्मीले जानकारी दिनुभयो । पालिकामा आवश्यकताअनुसार पाँचदेखि १० वटासम्म सीसी क्यामरा जडान गरिएका छन् । उम्मेदवारका मतगणना प्रतिनिधि यस पटक मतगणना स्थलमा जान पाउने छैनन् । तारजालीभन्दा बाहिरपट्टि उम्मेदवारका मतगणना प्रतिनिधि बस्नेछन् । 

जिल्लाको तुलसीपुर उपमहानगरपालिकाबाहेक अन्य स्थानीय तहमा निर्वाचनपछि केन्द्रमा मतपेटिका सङ्कलन गरिनेछ । त्यसपछि सर्वदलीय बैठकले समय टुङ्गो लगाएअनुसार मतगणना सुरु हुने जनाइएको छ ।प्रजिअ रेग्मीका अनुसार तुलसीपुर उपमहानगरपालिका–१७ को निर्वाचन जेठ ३ गते हुने भएकाले सो पालिकाको मतगणना पछि हुनेछ ।


Author

लीलाधर वली