• १७ असार २०८१, सोमबार

उम्मेद्वार बन्न दल फेर्दै स्थानीय नेता

blog

जानु पाण्डे 

कपिलवस्तु, वैशाख १० गते । स्थानीय निर्वाचनमा आफ्नो दलबाट टिकट नपाउँने संकेत मिले पछि कपिलवस्तुमा पार्टी परिवर्तन गर्ने लहर चल्न लागेको छ । उम्मेद्वार नहुने संकेत मिल्न लागेपछि जनप्रतिनिधि र राजनैतिक दलका नेताहरु धमाधम पार्टी परिवर्तन गर्न लागेको छन् । स्थानीय निर्वाचनको मनोनयन गर्ने दिन नजिकिदै जाँदा नेताहरुमा दल परिवर्तन गर्ने लहर चल्न लागेको छ । कपिलवस्तुमा गठबन्धन नहुने संकेत देखिएको र दल विच उम्मेद्वारीको आकांछी धेरै भएपछि आन्तरिक मिलाउन समेत सकस भएको छ ।

जिल्लाको विजयनगर गाउँपालिकाको अध्यक्ष पदको उम्मेद्वार नहुँने भएपछि काँग्रेस नेता जानकी प्रसाद यादव जसपा प्रवेश गर्नु भएको छ । यादव अघिल्लो स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिनु भएको थियो । निर्वाचनमा पराजय भए पछि काँग्रेस सांसद अभिशेख प्रताप शाहको पहलमा उहाँ काँग्रेस प्रवेश गर्नुभएको थियो । यादव काँग्रेस अधिवेशनमा क्षेत्रिय सभापतिमा समेत पराजित हुनु भएको थियो । यता यादव जसपा प्रवेश गरेपछि पार्टी समिति बेवास्था गरेको भन्दै विरोध प्रकट गरेका छन् ।  

यसैगरी कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुदीप पौडेल नगरप्रमुखको टिकट नपाउने भएपछि जसपा प्रवेश गर्नुभएको छ । उहाँ एक महिना अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाई एमाले प्रवेश गर्नुभएको थियो । पौडेल जसपा प्रवेश गरेपछि जसपाबाट नगरप्रमुखका आकांक्षी रामअचल यादवले जसपा त्यागेको घोषणा गर्नुभएको छ । 

यसैगरी कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका दुई वडा अध्यक्ष र काँग्रेस क्षेत्रिय सचिवले पार्टी परित्याग गरेका छन् । वडा नं. ११ का वडा अध्यक्ष जगदिश तिवारी वडा नं. १ का अध्यक्ष शिवप्रसाद वानियाले काँग्रेस परित्याग गर्दै एमाले प्रवेश गर्नुभएको छ । यसैगरी क्षेत्रीय सचिव गंगेश नाथ तिवारी समेत एमाले प्रवेश गर्नुभएको हो । 

वडा अध्यक्षको उम्मेद्वार बन्नका लागि जसपा शिवराज नगरकमिटिका सचिव पारस केवट लोसपा प्रवेश गरेका छन् । केवट कार्यकर्ता माझ लोकप्रिय नेता रुपको चिनिदै आएका छन् । उहाँले  पार्टी परित्याग गरेपछि जसपामा तरंग मच्चिएको छ ।