• १७ असार २०८१, सोमबार

जीवन्त सहर तानसेन

blog

तानसेन (पाल्पा) सहर सम्झनामा आउनासाथ मनमा त्यहाँको करुवा, ढाका कपडाको टोपीलगायत अन्य वस्तु तथा मुखै रसाउने स्वादिलो चुकौनी । पश्चिम पहाडी जिल्ला पाल्पा माथि उल्लेख गरिएका बाहेक त्यस क्षेत्रको गौरवमय जीवन संस्कृति, कला कौशल, प्राकृतिक सौन्दर्य अनि देशकै एउटा प्रमुख शैक्षिक केन्द्रका रूपमा रहेको छ । लुम्बिनी प्रदेशमा रहेको यो पाल्पा राजधानी काठमाडौँबाट ३३२ किलोमिटर पर छ । त्यसै गरी भैरहवा तथा बुटवलबाट क्रमशः ५२ र ३९ किलो मिटरमा अवस्थित एउटा रमणीय सहर हो । यस सहरलाई दार्जिलिङ सहरसित पनि तुलना गरिन्छ तर अङ्ग्रेजको औपनिवेशिक कालमा विकसित दार्जिलिङको सौन्दर्यलाई कङ्व्रिmटको जङ्गलले बिगारिदिएको छ । बरु तानसेनलाई पूर्वी नेपालको सुन्दर सहर धनकुटासित दाँज्न उचित होला जस्तो लाग्छ । तानसेन बजार तराईको जस्तो समथर ठाउँमा नभई सामान्य उकालो ओरोलो भएको सहर हो । तानसेन बजार नजिक रहेको श्रीनगर बतासे डाँडा (समुन्द्र सतहबाट ४,५०० फिट) बाट यो सहरको नयनाभिराम दृश्य देखिन्छ । 

तानसेनको मुख्य बजारमा बहुसङ्ख्यक नेवार समुदायका बसोबास भए पनि पाल्पा जिल्लाभरि मगर समुदाय देशकै सबभन्दा बढी जनसङ्ख्या भएको क्षेत्र हो । त्यसैले यो पाल्पालाई उहिलेदेखि नै ‘मगरात’ भन्ने गरिएको छ । दक्षिणमा मौर्य साम्राज्यको उदयसँगै सोह्र महाजनको विघटन भएपछि लिच्छविको नेपाल प्रवेश भयो । किनकि त्यहाँ मुस्लिमको आक्रमणबाट आफ्नो अस्तित्व जोगाउन तिनीहरू सिम्रौनगढ (बारा जिल्ला) को बाटो भई काठमाडाँै प्रवेश गरे । प्राचीनकालमा विशाल भूभागमा फैलिएको लिच्छवि राज्य मध्यकालसम्म आइपुग्दा त्यो सरहद कायम रहन सकेन । भारतमा गुप्त साम्राज्यको पतनसँगै विभिन्न राज्यको उदय भएसँगै त्यही समयको सेरोफेरोमा नेपालमा लिच्छवि शासन अन्त्य भयो । बाह्रौँ शताब्दीको पूर्वार्धमा खस राज्यको स्थापना, १५ औँ शताब्दीको उरार्धमा खस राज्यको विघटनसँगै कर्णाली प्रदेशमा बाइसी र गण्डकी प्रदेशमा चौबिसी राज्यको उदय भयो । यही चौबिसी राज्य अन्तर्गत पाल्पाको रिब्दीकोटमा स्वतन्त्र सेन राज्यको उदय भयो । (निर्मल श्रेष्ठ)

ऐतिहासिक तथ्य अनुसार सेन वंशले यहाँ पाँच सय वर्षसम्म शासन गरे र राजा मुकुन्द सेनले पूर्वमा विजयपुर (सुनसरी) सम्म र पश्चिममा हरिद्वार (उत्तराखण्ड, भारत) सम्म आफ्नो राज्य विस्तार गरे । मकवानपुर र पाल्पा राज्यसँग गोरखालीको वैवाहिक सम्बन्ध जोडिएपछि गोरखालीलाई पश्चिमतिर राज्य विस्तार गर्न सजिलो भयो । यसै सन्दर्भमा पश्चिमतर्फ राज्य विस्तारको क्रममा साम्राज्यवादी बेलायती सेनालाई जितगढी (बुटवल) र सिन्धुलीगढीमा परास्त गर्नु चानचुने कुरा थिएन । यसै सन्दर्भमा नेपाल र बेलायतबिच भएको मुद्दाबारे मोहन मैनालीको ‘मुकाम र रणमैदान–नेपाल अङ्ग्रेज युद्ध बखान’ मा सविस्तार उल्लेख गरिएको छ । 

पाल्पा नामकरणबारे दुई अवधारणा चर्चामा छन् । पहिलो अवधारणा अनुसार विगतमा पालवंशी राजाले त्यहाँ शासन गरेकाले पाल्पा नाम रहन गएको हो । दोस्रोमा इटालीका पूर्वीय सभ्यताका अन्वेषक प्रोफेसर टुचीका अनुसार मङ्गोल शब्द ‘बालवा’ बाट अपभ्रंश भएर ‘पाल्पा’ शब्द बनेको हो, जसको अर्थ हुन्छ सिप वा कालीगढी । योगी नरहरिनाथका अनुसार पाल्लव शब्दबाट पाल्पा भएको हो । उहाँका अनुसार पाली भाषाको मूल केन्द्र पनि पाल्पा र पाल्हीमाझ खण्ड हो । पाल्पा नयाँ शब्द होइन, यो निकै पुरानो शब्द हो । यो पल्लव जाति बसेको, पाल वंशले शासन गरेको र मगराती भाषामा बासस्थान भन्ने अथ्र्याइएको छ । बाह्र मगरातभित्र पर्ने मगरात राज्य भनेर पनि पाल्पाको नाम आउँछ । (शर्मा, सैँजु २०६४ः ११) 

यो जिल्लाको अधिकतम उचाइ २,००० मिटर र न्यूनतम २०० मिटर रहेको छ । औसत तापक्रम २३ डिग्री तथा अधिकतम तापक्रम ३५ डिग्री र न्यूनतम तापक्रम ३.७ डिग्रीसम्म हुन्छ । जिल्लामा मगर समुदायको बाहुल्यता रहे पनि अन्य जातिमा बाहुन, क्षेत्री, कामी तथा नेवार छन् । हिन्दु धर्म तथा बौद्ध धर्ममा आस्था हुने बिच राम्रो सामञ्जस्य छ । तानसेनामा विशेष गरेर बज्राचार्य र शाक्य बौद्ध धर्मावलम्बीको बसोबास रहेको छ । तानसेन बजारमा नेवार समुदायको बाहुल्यता रहे पनि अन्य समुदायको पनि विविध संस्कृतिको सम्मिश्रणले यहाँको संस्कृति जीवन्त छ । दसैँ, तिहार, कृष्ण अष्टमी र भीमसेन जात्रा अत्यन्त भव्यताका साथ मनाइन्छ । तानसेनमा प्राचीन मन्दिरको चर्चा गर्दा अग्रपङ्क्तिमा भैरव मन्दिर आउँछ । यो सेनकालीन मल्लकालीन र राणाकालीन स्थापत्यकला (आर्किटेक्चर) को सम्मिश्रण भएको भान हुन्छ । अन्य हिन्दु मन्दिरमा झैँ यहाँ बाहुन पुजारी हुँदैनन् । परम्परा अनुसार दशनामी नाथसम्प्रदायका महन्त (पुजारी) मन्दिरको मूल पुजारी हुने व्यवस्था छ । पूजाको व्रmममा नगरा बजाउने चलन छ र मूल महन्तले कालभैरव, कीर्तिमुख भैरव र कालीलाई विशेष रोठ चढाइ सकेपछि मात्र मूल महन्तले पूजा सञ्चालन गर्छन् । विशेष गरेर वैशाख, मङ्सिर र नवदुर्गा पूजाको बेला स्वदेशी मात्र होइन, भारतीय भक्तजनको पनि यहाँ घुइँचो लाग्छ । 

काठमाडौँ बाहिर सम्भवतः तानसेनमा मात्र भव्य दरबार रहेको छ, जहाँबाट धेरै वर्षसम्म कैयौँ जिल्लास्तरीय सरकारी कार्यालय सञ्चालनमा हुन्थे तर २०६२ सालमा आगजनी गरी ध्वस्त भयो । यो दरबार तानसेनको एउटा धरोहर हो भन्ने कुराको हृदयङ्गम गरी पुरानै शैलीमा पनुर्निर्माण गरियो । यो दरबार चार तल्लाको छ, जहाँ ६४ कोठा र दुई बुर्जा छन् । तानसेन दरबारपछि कालीगण्डकीको तिरमा जनरल खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा एउटा भव्य महल निर्माण गर्न लगाएका थिए, जसलाई रानीमहल भनिन्छ । यो महललाई आगरा (भारत) को ताजमहलसँग तुलना गरिन्छ । त्यसै गरी श्री ३ जुद्धशमशेरले गुल्मी र पाल्पा दोभानमा अर्गली दरबार बनाउन लगाइ आफ्नो बाँकी जीवन यहीँ व्यतीत गरे । यसै गरी राज्यको सुरक्षाका लागि कालिका गढी, बल्ढेङ गढी, बाकुमगढी र माथा गढी निर्माण गरिएका छन् । तानसेन सहरभित्र र यस वरपर मन्दिरबाहेक चैत्य, विहार, छन् जसले हिन्दु धर्म र बौद्धधर्म बिच समन्वय भएको स्पष्ट हुन्छ । त्यसैले यो सहर हिन्दु धर्मावलम्बी तथा बौद्ध धर्मावलम्बीमा आस्था राख्नेका लागि दर्शनीय छ । यो विषय हालसम्म ओझेलमा छ । 

पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाममा नेपाल तथा भारतका हिन्दु धर्मावलम्बी आउँछन् तर पवित्र कालीगण्डकीको तिरमा रहेको ‘रुरु’ क्षेत्रको भने प्रवर्धन हुन सकेको छैन । भैरहवामा आधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि यस क्षेत्रमा पर्यटक आगमनमा ठुलो प्रभाव पर्ने अपेक्षा गरिएको छ तर त्यसो हुन सकेन । कम्तीमा थाइल्यान्ड, कम्बोडिया, सिङ्गापुर र भियतनामका बौद्ध धर्मावलम्बीलाई ल्याउन सके यस क्षेत्रले पर्यटनमा फड्को मार्ने थियो । भैरहवा, लुम्बिनी र बुटवलमा पर्यटकीय होटल/रिसोर्टहरू छन् । 

तानसेनको भौगोलिक अवस्थिति राम्रो छ र यसको वरिपरि पोखरा तथा चितवन जस्ता नेपालका प्रमुख पर्यटकीय गन्तव्य केही घण्टा भित्र पुग्न सकिन्छ । स्वदेशी तथा विदेशी पर्यटक सबैलाई परम्परागत शैलीका मौलिक रहनसहन, संस्कृति तथा खानपानले बढी आकर्षित गर्छ । तानसेन बजारमा हाल त्यहाँका रैथाने हुनेखाने सस्तोमा भए पनि घर बिक्री गरेर बुटवल, भैरहवा तथा काठमाडौँ बसाइँ सर्ने लर्को दशकौँदेखि निरन्तर चलिरहेको छ । बाहिरबाट आउनेलाई स्थानीय संस्कृतिको खासै चासो हुँदैन, त्यस्ताले मौलिक संस्कृतिलाई बेवास्ता गर्नाले तानसेनको मौलिक संस्कृतिमा विकृति आउनेतर्फ दृष्टि साप्ताहिकका सम्पादक तथा प्रकाशक शम्भु श्रेष्ठ बताउनु हुन्छ । 

भैरहवा तथा बुटवल जस्तो तानसेनमा यातायातका साधनको कर्कश आवाज छैन । स्वच्छ हावा, शान्त वातावरण र मौलिक संस्कृतिको जीवन्त सहरमा चलायमान बनाउन स्थानीय सरकार, स्थानीय व्यवसायी तथा नागरिक समाजका साथै प्रादेशिक तथा सङ्घीय सरकारको समेत सहयोग भएमा तानसेन नेपालको एउटा उत्कृष्ट गन्तव्य बन्ने प्रबल सम्भावना छ । एकताका मृतप्रायझैँ भएको बन्दीपुर सहर स्थानीयको सक्रिय सहभागितामा हाल नेपालको एक उल्लेखनीय पर्यटकीय गन्तव्य बनेको छ । तानसेनको ओज यथावत् कायम छ, मात्र यो ठाउँको पर्यटकीय उद्गमस्थलमा सशक्त ढङ्गले प्रचार प्रसार गर्ने हो भने यो जीवन्त सहरले काँचुली नफेर्ला भन्ने कुरामा शङ्का नगरौँ ।