• १९ असार २०८१, बुधबार

अपाङ्गता भएका व्यक्तिको जीवन सहजताका लागि सहयोग

blog

अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर र सहायता सामग्री निःशुल्क उपलब्ध गराइँदै । तस्बिर :काठमाडौँ महानगरपालिका

काठमाडौँ, असार १७ गते । काठमाडौँ महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने अपाङ्गता भएका २५ जना व्यक्तिलाई ह्वील चेयर, ११ जनालाई सामाजिक विकास विभागले कमोट चेयरसहित सहायता सामग्री, खेल, खेलौनाजस्ता सहायक सामग्री निःशुल्क उपलब्ध गराइएको छ । वडाबाट सिफारिस भएका सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरुका लागि विभागले सामग्री उपलब्ध गराएको हो । 

यसरी प्रदान गरिएका सहायक सामग्रीमा वाकर, सेतो छडी, कमरपेटी छन् भने खेल सामग्रीमा फुटबल, क्यारिम बाेर्ड, ब्याटमिन्टन, बास्केट बल, स्टीलको लठ्ठी, सानो, मध्यम र ठूला साइजका डाइपर, इलेक्ट्रिक हट ब्याग, पुतलीहरु, रेजिस्ट्याण्ड ब्याण्ड, ह्याण्ड बल, क्रिकेट बल र ब्याट, खेल खेल्ने रिङ्, टेडी बियर, रबरको घोडा छन् । यसरी प्रदान गरिएका सामग्री अपाङ्गता भएका व्यक्तिहरुलाई खेल्न तथा थेरापीका लागि हुन् ।


सामग्री वितरण हुनुअघि उहाँहरुलाई सामग्री प्रयोग गरेर जीवनलाई सरल बनाउने विधि सिकाइएको थियो ।  कार्यक्रममा बोल्नुहुँदै कार्यपालिका सदस्य महेश नेपालीले भन्नुभयो, ‘‘अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, सुरक्षा, सम्मान र सहज जीवन यापनका लागि महानगरपालिकाले कार्यक्रम बढाउँदै लैजानेछ । सम्भव भएसम्म सामान्य जीवन बनाउन सहयोग गर्नेछ ।’’

सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरुका लागि यसरी सामग्री बाँडिएको यो पहिलो पटक हो । कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख बिमला कोइरालाले भन्नुभयो, ‘‘फिजियोथेरापीसहितको सहयोग कार्यक्रम सञ्चालन गर्ने अबको योजना हो । जसले जस्तो खालको सहयोग माग गर्नुहुन्छ । उहाँहरुलाई वडाको सिफारिसमा त्यस्तै सहयोग उपलब्ध गराउनेछौँ ।’’ विभागले आउँदो बर्ष राष्ट्रिय अपाङ्ग कोषसँगको सहकार्यमा सामग्री वितरण गर्दै जाने योजना बनाएको छ ।


अपाङ्गता भएका व्यक्तिहरुलाई लागत सहभागिता गराउँदा उहाँहरु सामग्री लिन अस्वीकार गर्नुहुन्छ । कोषका अध्यक्ष डेकराज भट्टराईले भन्नुभयो, ‘महानगरपालिकाको सहयोगबाट आउँदो वर्ष कोषले यस्ता सामग्री उत्पादन र वितरण गर्नेछ ।’’

यस्ता सामग्री बिग्रिए भने मर्मत गर्नका लागि बालाजु स्कूल अफ इञ्जिनियरिङ् एण्ड टेक्नोलोजीका मेकानिकल शाखा प्रमुख कुलप्रसाद तिमिल्सिनाले महानगरपालिकासँगको सहकार्यका बारेमा उल्लेख गर्नुभयो ।