• १७ असार २०८१, सोमबार

भारतमा सङ्क्रमण बढ्न थालेपछि नाकामा कडाइ

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, वैशाख १० गते ।  केही समयअघिदेखि निकै घटेको कोभिड–१९ सङ्क्रमण भारतमा पुनः बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । सङ्क्रमण बढ्दै गएपछि भारतबाट नेपाल आउनेमाथि निगरानी बढाउनुका साथै नाकामा रहेको हेल्थ डेस्कले फेरि एन्टिजेन परीक्षणको दायरा बढाउँदै लगेको छ । 

सङ्क्रमण भित्रिन नदिन जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा अहिले दिनहुँ शङ्कास्पद देखिएका १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण भइरहेको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरञ्जीवी ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार गत चैत महिनामा भारतबाट आएका छ हजार चार सय जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा मात्र कोरोना पोजेटिभ देखिएको थियो । अहिले परीक्षण बढाइए पनि वैशाखमा कसैमा पनि पोजेटिभ नदेखिएको उहाँले बताउनुभयो । 

भारतका ठूला सहरबाट आउनेहरूका लागि सीमा क्षेत्रमा खोप कार्ड अनिवार्य गरिएको पनि ज्ञवालीले बताउनुभयो । दोस्रो मात्रा खोप लगाएको प्रमाणित खोप कार्ड नभएकाको एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल भित्रिन दिइएको हेल्थ डेस्कले जनाएको छ । खोपका कारणले विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै हेल्थ डेस्कका अधिकृत ज्ञवालीले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको जानकारी दिनुभयो ।

वैशाख महिनामा जमुनाह नाकाबाट चार हजार आठ सय जना खोप कार्ड भएका नागरिकले आवागमन गरेको पाइएको छ । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजङ्ग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको उल्लेख गर्दै केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन गरिएको बताउनुभयो । 

भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका बिरामी नआएकाले शून्य अवस्था रहेको उल्लेख गर्दै तर भारतमा बढ्दै गएकोले यहाँ सर्तकता आवश्यक भएको बताउनुभयो । भारतको सङ्क्रमण अवस्थालाई देखेर नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य विभागले मातहतका कार्यालयलाई निर्देशन जारी गरिसकेको छ ।