नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख ७ गते । संघ सरकारको निर्णय विपरीत बागलुङका दुई स्थानीय तहले विद्यार्थी भर्ना तथा पठन–पाठन अभियान थालेका छन् । केन्द्र सरकारले वैशाख १५ गतेदेखि भर्ना र २१ देखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । तर स्थानीय तहले उक्त निर्णय विपरीत भर्ना र पठनपाठनको सूचना निकालेका छन् ।
बागलुङको बडिगाड गाउँपालिकाले २ वैशाखदेखि भर्नासँगै नियमित पठन पाठन गर्न चैत ३० गते नै सूचना जारी गरेको थियो ।
बडिगाडले वैशाख २ गतेदेखि भर्ना र पठनपाठन सञ्चालन गर्ने सूचना निकालेको छ भने गलकोट नगरपालिकाले वैशाख ३ गतेदेखि भर्ना अभियान र वैशाख ७ गतेदेखि नियमित पठन–पाठन गर्न विद्यालयलाई खबर गरेको छ । संविधानअनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनसम्बन्धी अधिकार स्थानीय तहको भएको विद्यालय शैक्षिक सत्र सुरु गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ ।
बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले केन्द्रको निर्देशन अटेरी नगरेको बताउदै व्यवहारिक रुपमा शैक्षिक क्यालेण्डर अनुसार अघि बढेको बताउनुभयो । विद्यार्थीको अन्योलताले विद्यार्थी निजी तर्फ जान सक्ने भन्दै भर्ना सहित पठन पाठन अघि बढाएको बताउनुभयो ।
“यस गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालले वैशाख २ गतेदेखि भर्ना अभियान तथा नियमित पठन–पाठन सञ्चालन गर्न÷गराउन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ” गाउँपालिका अध्यक्ष अधिकारीले भन्नुभयो “शैक्षिक क्यालेण्डर बाहिर जादा विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन समस्या भएकाले अघि बढाइएको हो, अन्यथा निर्देशन नमानेको भने हैन ।”
यस्तै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले शैक्षिक क्षेत्रमा गम्भिर असर पर्र्नेे भएकाले र अविभावक समेत अन्योलमा परेकाले वैशाख ३ गतेदेखि भर्ना र ७ गतेदेखि नियमित पठन–पाठन सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।
केन्द्रले भर्ना किन रोकेको समेत कारण पत्ता नलागेको र विद्यार्थी टिकाउन असहज भएकाले बाध्य भएर भर्ना अभियान खोलेको नगर प्रमुख गैरेले जानकारी दिनुभयो । शैक्षिक क्यालेन्डर तयार भइसेकाले शैक्षिक सत्र सुरु गरिएको उहाँले बताउनुभयो । शैक्षिक क्यालेण्डर लागु समेत गर्न नपाए स्थानीय तहको अधिकार के रह्यो भन्ने समेत प्रश्न पैदा भएको उहाँको भनाइ छ ।
विद्यार्थी आफ्नो गाउँपालिकाबाट अर्को ठाउँमा जान नदिन भर्ना अभियान सुरु गरिएको उहाँको भनाइ छ । यस विषयमा जिल्ला शिक्षा तथा समन्य इकाईका सूचना अधिकारी दल थापाले पालिकाहरुले भर्ना खुला गरेको विषयमा जानकारी नआएको बताउनुभयो ।