• ७ वैशाख २०८३, सोमबार

राष्ट्रपति रनिङ शिल्डको उपाधि घोराहीलाई

blog

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता घोराहीको टोलीमा सहभागी खेलाडीहरू । तस्बिर : लिलाधर वली

लिलाधर वली
घोराही, वैशाख ७ गते ।
दाङ जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ घोराही उपमहानगरपालिकाले जितेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा तथा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को संयोजनमा बेल्झुण्डी रंगशालामा सम्पन्न प्रतियोगितामा घोराहीले उपाधि जितेको हो ।

प्रतियोगितामा घोराहीले २८ स्वर्ण, १६ रजत र २६ कांस्यसहित कुल ७० पदक हात पार्दै शिल्ड जित्न सफल भयो । विजेता घोराहीले रनिङ शिल्ड तथा ट्रफी प्राप्त गरेको छ ।

एक स्वर्णको झिनो अन्तरले पछि परेको साविक विजेता तुलसीपुर उपमहानगरपालिकाले २७ स्वर्ण, १६ रजत र २६ कांस्यसहित ६९ पदक प्राप्त गर्दै उपविजेतामा चित्त बुझाउनुपर्‍यो । यसैगरी लमही नगरपालिकाले ६ स्वर्ण, ९ रजत र ६ कांस्यसहित तृतीय स्थान हासिल गर्‍यो भने शान्तिनगर गाउँपालिकाले २ स्वर्ण, ७ रजत र ८ कांस्यसहित सान्त्वना स्थान प्राप्त गरेको छ ।

दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियारको अध्यक्षता तथा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरनदाज गौतमको प्रमुख आतिथ्य र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेको विशिष्ट आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये तेक्वान्दो छात्रातर्फ तुलसीपुरकी आशिका पुन, छात्रतर्फ घोराहीका किशोर रोका मगर, कराँते छात्रतर्फ घोराहीका मनिष घर्ती मगर र छात्रातर्फ घोराहीकी रितु पुन उत्कृष्ट घोषित हुनुभयो ।

त्यस्तै कबड्डी छात्रातर्फ घोराहीकी सविना खातुन, छात्रतर्फ राप्ती गाउँपालिकाका विनय घर्ती मगर, एथलेटिक्स छात्रतर्फ सन्देश रोका मगर र छात्रातर्फ घोराहीकी गरिमा चौधरी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । भलिबल छात्रातर्फ घोराहीकी शर्मिला डाँगी र छात्रतर्फ घोराहीका दिनेश भण्डारी उत्कृष्ट घोषित हुनुभयो ।

यसैगरी उसु सान्सौ छात्रतर्फ तुलसीपुरका गणेश बुढा, छात्रातर्फ तुलसीपुरकी जुनिता विक, थाओलु छात्रातर्फ शान्तिनगरकी कञ्चन घर्ती र छात्रतर्फ तुलसीपुरका निश्चल केसी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । सबै उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।