• १७ असार २०८१, सोमबार

नेपालगन्जमा सत्ता गठबन्धनका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता

blog

गठबन्धनबाट उम्मेदवारी दर्ता गराएपछि एकता दर्शाउँदै प्रमुख र उपप्रमुख पदका उम्मेदवार । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख १२ गते । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगन्जमा सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरुले  सोमबार उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट प्रमुख र उपप्रमुख पद पाएका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बाजागाजासहितको जुलुसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

जनता समाजवादी पार्टी बाँकेले आफ्नो पार्टी कार्यालयबाट र नेपाली काँग्रेस बाँकेले आफ्नो कार्यालयबाट छुट्टा छुट्टै जुलुससहित उम्मेदवारी दर्ता गराएका छन् । नेपालगनज उपमहानगरपालिकाको लागि प्रमुख पदमा नेपाली काँग्रेसका नगरसभापति प्रशान्त विष्ट र उपप्रमुख पदमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राईले उम्मेदवारी दर्ता गराउनु भएको नेपालगन्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताउनुभयो । 

उहाँले दुवै दलबाट २३ वटै वडामा वडा अध्यक्ष र वडा सदस्यले पनि छुट्टा छुट्ट उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यसअघि आइतबार नै राप्रपाबाट प्रमुखमा नन्दलाल वैश्य र उपप्रमुखमा बिन्दु चर्तिकला मगर लगायत २३ वटै वडाका वडा अध्यक्ष र सदस्यले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । 

 प्रमुख र उपप्रमुख नपाएपछि नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनबाट बाहिरिएको घोषणा गरेको थियो भने गठबन्धनमा रहेका दलहरु नेपाली काँग्रेस र जना समाजवादी पार्टीले वडाहरुमा गठबन्धन नगरेर मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेर सबै वडामा उम्मेदवारी दर्ता गराएका छन् । जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेककिपा र नेकपा एकिकृत समाजवादी पार्टीले पनि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको नेपालगन्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले बताउनुभयो ।