नदी, खोला तथा पोखरीमा प्रशोधन नगरी ढल मिसाए तथा रासायनिक र विषालु पदार्थ मिसाए तीन वर्षसम्म कैद गर्ने प्रस्तावसहित सरकारले जलस्रोतसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । यस्ता कसुरमा पाँच लाख रुपियाँसम्म जरिबानासमेत हुन सक्ने व्यवस्था विधेयकमा प्रस्तावित छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका तर्फबाट प्रतिनिधि सभामा विधेयक दर्ता भएको छ । प्रस्तावित विधेयकमा प्रदूषणको मापदण्डविपरीतको कामलाई कसुर मानिएको छ । जलस्रोतलाई प्रदूषित बनाए तीन महिनादेखि तीन वर्षसम्म कैद प्रस्ताव गरिएको हो । जलस्रोतमा रासायनिक तथा विषालु पदार्थ हाल्ने, ढललगायतका प्रशोधन नगरी नदी, खोला तथा पोखरीमा पानी मिसाउने कार्यलाई पनि कसुर मानिएको छ । यस्ता कसुरमा पनि कम्तीमा तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय वा पाँच लाख रुपियाँसम्म जरिबानाको प्रस्ताव गरिएको छ । कसुर अनुसार दुवै सजायसमेत हुन सक्ने छ ।
राष्ट्रिय सभाका अध्यक्षको संयोजकत्वमा रहने समितिले अध्यक्ष र सदस्य सिफारिस गर्ने गरी विधेयक परिमार्जनको मागसहित मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता भएका छन् । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव नेतृत्वको समितिले अध्यक्ष तथा सदस्य सिफारिसको प्रस्ताव गरेको छ । सो व्यवस्थाको सट्टा सभाका अध्यक्षको नेतृत्वको समितिले सिफारिस गर्ने व्यवस्था हुनुपर्ने भन्दै संशोधन दर्ता भएको छ । सामूहिक र व्यक्तिगत गरी छ वटा संशोधन दर्ता भएका छन् । पदाधिकारी सिफारिस संरचना विधायिकी नेतृत्वमा गराउने प्रस्ताव संशोधनमा गरिएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यान्वयनमा रहेको कानुन संशोधन र नयाँ तर्जुमामा नागरिकले सोझै अनलाइनमार्फत सुझाव दिन मिल्ने गरी एकीकृत सुझाव सङ्कलनको अवधारणा अघि बढाएको छ । मन्त्रालयले छुट्टै संयन्त्र र अनलाइन पोर्टलबाट त्यस्ता सुझाव सङ्कलन गर्न लागेको हो । प्राविधिक परीक्षणको अन्तिम चरणमा उक्त कार्य भइरहेको मन्त्रालयले जनाएको छ । कानुन निर्माणमा नागरिक र सरोकारवालाको सहभागिता कम रहेको तथा स्वार्थ समूहको दबाबमा परिमार्जन हुने गरेको आक्षेप लागेको भन्दै मन्त्रालयले सुझाव सङ्कलनको एकीकृत (प्लेटफर्म) माध्यमको विकास गरेको हो । उक्त प्लेटफर्म कानुन मन्त्रालयको संयोजनमा चल्ने छ । भइरहेका कानुन परिमार्जन र नयाँमा सुझावको छुट्टै भाग पोर्टलमा रहने छ । दीर्घकालीन रूपमा भने मोबाइल एप्समा अपडेट गर्ने मन्त्रालयको तयारी छ ।
विशेष अदालतले मुद्दा फर्स्योटमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । विशेषले दर्ता अनुपातमा पहिलो पटक मुद्दा सङ्ख्या तीव्र रूपमा घटाएको छ । जेठ २० गते यता १०४ थान मुद्दा मात्र अब विशेषमा विचाराधीन छन् । विशेष अदालतमा दायर मुद्दा छ महिनाभित्र फर्स्योट गर्नुपर्ने कानुनी व्यवस्था छ । कानुनले तोकेको समयसीमाभित्र मुद्दा सक्ने लक्ष्य पछिल्लो समय अदालतले लिएको छ ।
सर्वोच्च अदालतले विचाराधीन भ्रष्टाचारका मुद्दामा धमाधम फस्र्योटको नीति अघि बढाएको छ । अभियान फाँट अन्तर्गतका मुद्दालाई प्राथमिकतामा राखेर विशेष अदालतबाट टुङ्गिएर विचाराधीन रहेका मुद्दाको फस्र्योटलाई सर्वाेच्च अदालतले प्राथमिकतामा राखेको हो । अदालतले आइतबार र सोमबार निरन्तर तीन वटा मुद्दाको सुनुवाइ सकेको छ । जसमध्ये एउटामा फैसला र दुई वटामा निर्णय सुनाउने मिति तोकेको छ । सर्वोच्चले अन्तिम किनारा लगाउन लागेका मुद्दा दुई दशक पुराना छन् ।
संवैधानिक परिषद्ले परिषद्का अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्न सक्ने व्यवस्थासहित संवैधानिक परिषद्सम्बन्धी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । १३ महिनापछि समितिले विधेयकको दफावार छलफल सकेको हो । २०८० वैशाख १५ गते विधेयक छलफलका लागि समितिमा पठाइएको थियो ।
संसद्को हिउँदे अधिवेशनमा सदनलाई अपेक्षित बिजनेस दिन नसकेको सरकारले बर्खे अधिवेशनका लागि विधेयकको प्राथमिकता तय गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अन्य मन्त्रालयसँगको परामर्शमा विधेयकको प्राथमिकता तय गरेको हो । पहिलो चरणमा मन्त्रालयले ६३ विधेयकलाई प्राथमिकताको सूचीमा राखेको छ । मन्त्रालयले दोस्रोमा ३८ र तेस्रोमा १५ विधेयकलाई प्राथमिकतामा राखेको छ । प्राथमिकता क्रम अनुसार नै अब मस्यौदा तर्जुमा र विधेयक संसद्मा पेस हुने छन् ।
अवरोधबिच उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि बढेको विवादमा संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) आमनेसामने भएका छन् । विवादबिच कार्यसूचीमा प्रवेश गरेको प्रतिनिधि सभामा सांसदहरू एकअर्काप्रति अभद्र व्यवहारमै उत्रिएका छन् ।
सङ्घीय संसद्को बजेट अधिवेशन (बर्खे) आजदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो । अघिवेशनको सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरेको छ । सभा सञ्चालन र विषयवस्तुसमेत समेटिएको क्यालेन्डर भने दलीय परामर्शमा अन्तिम रूप दिने सचिवालयको तयारी छ । शुक्रबार दिउँसो २ बजे अधिवेशनको पहिलो बैठक बोलाइएको छ ।
सञ्चार संस्थाका सञ्चालक तथा अध्यक्षले आफ्ना लगानीका व्यवसाय, क्षेत्र र स्रोतबारे मिडिया काउन्सिललाई जानकारी दिनुपर्ने व्यवस्थासहित सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका तर्फबाट राष्ट्रिय सभामा दर्ता मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सञ्चालक तथा अध्यक्षले सबै प्रकारका व्यवसायको लगानी र स्रोत पनि जानकारी दिनुपर्ने व्यवस्था प्रस्ताव गरेको हो ।
सर्वोच्च अदालतले सार्वजनिक निकाय तथा सरकारी कोषबाट हुने बोलपत्र, पूर्वयोग्यता, निर्माण तथा परामर्श सेवासम्बन्धी सेवा खरिद प्रक्रिया विद्युतीय प्रणालीबाट मात्र गर्ने व्यवस्था बदर गरेको छ । विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका–२०८० को दफा ४५ मूल ऐनसँग बाझिएको भन्दै पूर्ण बदर गरिदिएको छ । साथै दफा ५ को विद्युतीय प्रणालीबाट मात्र खरिद हुनुपर्ने निश्चित शब्दावली अदालतले बदर गरेको छ ।
लगानी सम्मेलन लक्षित गरी सरकारले अध्यादेशमार्फत नौ वटा कानुन संशोधनका लागि अध्यादेश ल्याउने भएको छ । लगानी सहजीकरणका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मन्त्रीपरिषद्को सोमबारको बैठकले पारित गरी राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।
विशेष अदालतले नेसनल पेमेन्ट गेटवे (एनपिजी) खरिद प्रकरणको भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई दोषी ठहर गरेको छ । अदालतले बहालवाला सचिव मधुकुमार मरासिनीसहित आठ जनालाई अभियोगबाट सफाइ दिएको छ । अदालतले पौडेलको हकमा वैशाख २५ गते सजाय निर्धारणको पेसी तोकेको छ ।
विधेयक अधिवेशनका रूपमा चिनिने सङ्घीय संसद्को हिउँदे अधिवेशनले तीन वटा मात्र विधेयक पारित गरेको छ । ७० दिन चलेको अधिवेशनबाट पारित विधेयकमध्ये दुई विधेयक अघिल्लो संसद्को कार्यकालमै माथिल्लो सदनमा उत्पत्ति भएका हुन् । आइतबार राति (१२ बजे) देखि हिउँदे अधिवेशन समाप्त भएको छ । सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिनको माग उठिरहेको विषय यथावत् नै राखेर अधिवेशन अन्त्य भएको हो ।
जिल्ला न्यायाधीशको लिखित परीक्षामा अब न्यूनतम ४० अङ्क ल्याए पुग्ने भएको छ । लिखित परीक्षामा ५० प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था हटाएर ४० अङ्क प्राप्त गरे पुग्ने व्यवस्था गर्न संसदीय समितिमा सहमति जुटेको छ । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले न्याय सेवा आयोग ऐनको दफा १३ (४) मा सरकारले गरेको संशोधन प्रस्ताव स्वीकार गर्दै सो व्यवस्था गरेको हो । उक्त सहमति सङ्घीय संसद्का दुवै सदनले स्वीकार गरेर पारित भएमा विद्यमान व्यवस्था परिमार्जन हुने छ ।