धनगढी समाचारदाता
धनगढी, वैशाख ६ गते । संरक्षण क्षेत्रबाहिर रहेको कैलालीको तीन वटा नदीमा दुर्लभ घडियालले अन्डा दिइरहेको स्थानीय संरक्षणकर्मीले बताउनुभएको छ ।
मोहना, पथरैया र कर्णाली नदीमा यस वर्ष पनि घडियाल गोहीले गुँड बनाएर अन्डा दिइरहेका उहाँहरूले बताउनुभएको छ । चैत–वैशाखमा घडियाल गोहीको अन्डा दिने सिजन मानिन्छ । यो सिजनमा यी नदीमा कम्तीमा पनि १५/१६ वटा पोथी घडियाल देखा परिरहेको जनाउँदै डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले धेरै जसोले अन्डा दिइसकेको र कतिपयले अझै पनि गुँड परीक्षण गरिरहेको फेला परेको बताउनुभयो ।
“घडियालले गुँड बनाउनुभन्दा पहिले बालुवा, तापक्रम, परिवेश सबै परीक्षण गर्छ,” उहाँले भन्नुभयो, “धेरै ठाउँमा गुँड बनाउन जाँच गरेको देखिएको छ । उनीहरूले अन्डा दिइरहेका छन् ।” घडियाल गोहीले तापक्रमदेखि सबै कुरा मिलेको उपयुक्त ठाउँमा मात्रै अन्डा दिने गरेको जनाइएको छ । घडियालले सबै अन्डा एकैचोटिमा निकाल्ने र पुर्ने गरेकाले यसको अन्डा भएको गुँड सिटिमिटी थाहा नहुने गरेको जनाइएको छ । पछि बच्चा निकालेपछि मात्रै धेरै जसो गुँड थाहा हुने गरेको ढुङ्गानाले बताउनुभयो ।
पुस/माघमा प्रजनन क्रियापछि पोथी घडियालले चैत/वैशाखतिर अन्डा दिने गरेको बताइएको छ । यिनीहरूले नदी किनारको बालुवामा गुँड (खाल्डो) बनाएर त्यसमा एकै पटक ४० वटासम्म अन्डा दिने गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताउनुभयो । खाल्डोमा अन्डा पुरेर गोही फेरि जलाशयमा फर्कने र बच्चा ननिस्केसम्म बेला बेला गुँडसम्म पुगेर रेखदेख गर्ने गरेको जनाइएको छ । उपयुक्त तापक्रम भएपछि ६० देखि ९० दिनको बिचमा अन्डा आफैँ फुटेर बच्चा निस्कने गरेको बताइएको छ ।
अन्डा आफैँ फुटेर निस्केका बच्चालाई माउले आफ्नो शरीरमा चढाएर पानीमा आहारविहार गराउने र हुर्काउने गर्दछन् । लोप हुने अवस्थामा पुगेको घडियाल गोही नेपालमा थोरै सङ्ख्यामा रहेको बताइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले घडियाललाई संरक्षित सरीसृप वन्यजन्तुको सूचीमा राखेको छ ।