अमरराज नहर्की
तनहुँ, वैशाख ६ गते । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ । पर्यटकीय सिजन नभए पनि बिदाको समयमा घुम्ने संस्कृतिको विकासले गर्दा अहिले मानहुँकोटमा विगतको तुलनामा तेब्बर बढी पर्यटक पुग्न थालेका छन् ।
पर्यटकको चाप बढेपछि स्थानीय होटल व्यवसायीहरू उत्साहित भएका छन्। होटल भ्यू टावरका सञ्चालक प्रेमबहादुर राउतका अनुसार बिदाका दिनहरूमा पाहुनाले होटलहरू भरिभराउ हुने गरेका छन् । “यतिबेला पर्यटकको मुख्य सिजन त होइन, तर दुई दिने बिदाले गर्दा पहिलेभन्दा तेब्बर बढी पर्यटक मानहुँकोट आउन थालेका छन्, राउतले भन्नुभयो, पाहुनाको आगमनले हामीलाई निकै उत्साहित बनाएको छ ।’’
सदरमुकाम दमौलीबाट मात्र ६–७ किलोमिटरको दुरीमा रहेकाले पनि मानहुँकोटमा पर्यटकको सङ्ख्या बढाउन सहज भएको व्यवसायीहरूको भनाइ छ । यद्यपि, पूर्वाधारको कमीले भने चुनौती थपेको छ । व्यवसायी राउतले मानहुँकोटमा खानेपानीको चरम अभाव रहेको बताउँदै प्रतिलिटर डेढ रुपियाँमा पानी किनेर चलाउनुपर्ने बाध्यता रहेको सुनाउनुभयो । उहाँले सडकको अवस्था सुधार गर्न र पानीको दीर्घकालीन समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।
व्यास नगरपालिकाले मानहुँकोटको पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँकोटको प्रचारप्रसारका लागि मानहुँकोटदेखि पुलिमर्याङसम्म ‘अल्ट्राम्याराथन’ दौड जस्ता प्रतियोगिता आयोजना गरिँदै आएको जानकारी दिनुभयो । “मानहुँकोटको पर्यटन विकास हाम्रो पहिलो प्राथमिकतामा छ, नगर प्रमुखले भन्नुभयो, “अहिले देखिएको खानेपानीको समस्या समाधानका लागि नगरपालिकाको सक्रियतामा योजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ ।’’
शिर शिर चल्ने चिसो हावा, सूर्योदय, कुहिरोले ढपक्क ढाकेको दमौली बजारको दृश्य र हिमाली शृङ्ख्खलाको अवलोकनका लागि मानहुँकोट पछिल्लो समय नेपालकै चर्चित गन्तव्यमध्ये एक बनेको छ । यातायातको सहजता र प्रचारप्रसारसँगै यहाँ पूर्वाधार विकास भएमा आगामी दिनमा पर्यटकको सङ्ख्या बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।