टीकापुर समाचारदाता
टीकापुर, वैशाख ६ गते । अभिभावकको निगरानी नहुँदा बालबालिका बिग्रिने गरेका छन् । छोराछोरी पढाउने भनेर बाबुआमा बिदेसिने घरमा अधिकांश बालबालिका पढ्दै नपढ्ने भएका छन् ।
केही अभिभावक कामका लागि भारत जाँदा बालबालिका पनि लैजाने र फेरि ल्याएर पढाउन खोज्दा उमेर धेरै भएर तथा पढाइमा ध्यान नदिएको अभिभावकले गुनासो गरेका छन् ।
यसरी बिग्रिएका बालबालिका ठुलो भए पनि श्रम गर्न भारत नै जाने या कुलतमा लागेर सुधारगृहमा राख्नुपर्ने अवस्था आएको छ । “प्रविधिको विकास र सामाजिक परिस्थितिले बालबालिका बढी जोखिममा छन्,” टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला भन्नुहुन्छ, “जतिबेला असल अभिभावकको खाँचो हुन्छ त्यसैबेला अभिभावक सन्तानलाई आफन्तकहाँ छोडेर रोजगारीमा गएका छन्, उनीहरूलाई कसरी जोगाउने ?,” वडा नम्बर ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले सामाजिक सञ्जाल छाडा छ, त्यहाँ बालबालिकाको सहजै पहुँच छ र त्यसलाई व्यवस्थापन गर्ने नीति बनाउन ढिला भएको बताउनुभयो ।
टीकापुर नगरपालिका–९ का अभिभावक सीता दहित बिदाको बेला फुर्सद पाउने भएकाले बालबालिका लहलहैमा लाग्ने गरेको र अब हप्तामा दुई दिन बिदा हुँदा व्यस्त राख्न नसके झन् समाल्न गाह्रो हुने बताउनुहुन्छ । यहाँस्थित सेतीमैयाँ मावि झुङ्गाका प्रधानाध्यापक पतिराम चौधरी ४० प्रतिशत बालबालिकाका बाबुआमा वर्षमा कुनै न कुनै सिजन बाहिर बस्ने गरेको, बाजेबज्यै वा आफन्तलाई बालबालिकार्ले नटेर्ने गरेको बताउनुहुन्छ । यस्तै त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्र कठायत विद्यालय छोडेकालाई भिœयाउने कोसिस सफल भएको तर कक्षा ८ र ९ का विद्यार्थीलाई ड्रग्सबाट बचाउन नसकिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कक्षा ८ र ९ मा धेरै विद्यार्थी बिग्रिन थाले भनेर अभिभावक गुनासो गरिरहेका छन् तर बिग्रिसकेपछि केही नहुने रहेछ ।”
यहाँ कार्यरत गैरसरकारी संस्था विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) का कार्यव्रmम संयोजक पीताम्बर पौडेल बाबुआमा साथमा नहुने बालबालिका बढी जोखिममा रहेका र बालबालिकाको स्कुल छाड्ने दर बढ्दै गएको बताउनुहुन्छ । सकारात्मक अभिभावकत्व शिक्षा दिने, आत्मरक्षा तालिम, बाल सहभागिता वृद्धि गरी बालबालिकालाई सुरक्षित बनाउन सकिने पौडेलको अनुभव छ ।