काठमाडौँ, भदौ २६ गते । जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ अनिश्चित समयका लागि स्थगन गरेको छ । आगजनीबाट मुद्दाका मिसिल, सूचना व्यवस्थापन तथा पेसी व्यवस्थापन प्रणाली र इजलासमा समेत पूर्ण रूपमा क्षति पुगेको छ । क्षतिका कारण मुद्दाको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो । सर्वोच्चसँगै उच्च अदालत पाटनले पनि अर्को सूचना जारी नभएसम्मका लागि सुनुवाइ स्थगित गरेको छ । काठमाडौँ जिल्ला अदालतमा पनि मुद्दा तत्काल सुनुवाइ हुने अवस्था छैन ।
उपत्यकाका अदालतमध्ये ललितपुर जिल्ला अदालत र भक्तपुरले भने निषेधाज्ञाको अवस्था अन्त्य भएसँगै सुनुवाइ गर्ने जनाएका छन् । यी दुई अदालतमा प्रदर्शनकारीले क्षति पु¥याएका छैनन् । आन्दोलनले परिस्थिति अनुकूल नरहेको र निषेधाज्ञा जारी रहेकाले न्यायिक काम कारबाही भने तत्काल हुन सकेको छैन । सर्वोच्च अदालतका मुख्य रजिस्टार विमल पौडेलले सूचना जारी गर्दै मिसिल, इजलास र सर्भरमा पूर्ण रूपमा क्षति पुगेकाले अर्को सूचना नभएसम्मका लागि सुनुवाइ स्थगितको जानकारी गराउनुभएको छ । आगजनीले अदालतका सम्पूर्ण कागजातमा क्षति पुगेपछि पौडेलले अदालतको लेटरहेडमा हस्तलिखित सूचना जारी गर्नुभएको छ । पौडेलले जारी गर्नुभएको सूचनामा भनिएको छ, “मिति २०८२/५/२५ गते भएको आगजनीका कारण सर्वोच्च अदालत प्रशासन पूर्ण रूपमा जली अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलाससमेत नष्ट भएको हुँदा आजका लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको र भोलिदेखिका पेसीमा रहेका मुद्दाको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरासमेत जानकारीका लागि अनुरोध छ ।”
मङ्गलबार दिउँसोबाट सर्वोच्चमा भएको आगजनी बुधबार दिउँसो दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो । सर्वोच्चमा रहेका नयाँ र अभिलेखमा रहेका झन्डै ६० हजार मुद्दामध्ये कति मिसिलमा क्षति पुग्यो भन्ने यकिन नभएको सर्वोच्च प्रशासनले जनाएको छ । अभिलेखका लागि राखिएको एनेक्स भवनमा रहेका मिसिलमा पनि क्षति पुगेको छ । जसमा तत्कालीन प्रधान न्यायालयदेखिका अभिलेख थिए । तीमध्ये धेरै जलेका र केही आधा जलेको अवस्थामा फेला परेका छन् ।
आगलागी नियन्त्रणपछि कर्मचारी र कानुन व्यवसायीले केही मिसिल भने सुरक्षित गरेका छन् । एनेक्स भवनमा रहेको सम्पादन शाखामा समेत आगजनी हुँदा धेरै पुराना दस्ताबेज पनि जलेको अनुमान गरिएको छ । बुधबार सुरक्षित गरिएका मिसिल पनि कतिपय आधा जलेको अवस्थामा रहेका छन् । निकालिएको सामग्री भवनबाहिर राख्नुपर्ने भएकाले त्रिपाललगायतका आवश्यक सामग्री उपलब्ध गराउन अदालत प्रशासनले अपिल पनि गरेको छ ।
सर्वोच्च मात्र होइन काठमाडौँ जिल्ला अदालतमा पनि अधिकांश मिसिलमा क्षति पुगेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ र विशेष सरकारी वकिल कार्यालयमा रहेका मुद्दासँग सम्बन्धित धेरै फाइल जलेका छन् । सरकारवादी मुद्दाका धेरै मिसिल र निर्णय जलेका हुन् ।
उपत्यकासँगै प्रदर्शनकारीले क्षति पु¥याएका उपत्यकाबाहिरका अन्य अदालतमा पनि मुद्दाको सुनुवाइ प्रभावित छ । कास्की जिल्ला अदालतमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । उच्च अदालत जनकपुर र राजविराज इजलास र निषेधाज्ञा आदेश जारी भएका सबै क्षेत्रका अदालतका कामकारबाही ठप्प छन् ।