काठमाडौँ, चैत २१ गते । सङ्घीय संसद् प्रतिनिधि सभाको सभामुख पदको उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डिपी) अर्यालको एकल मनोनयन दर्ता भएको छ । संसद् सचिवालयले उम्मेदवारीका लागि तोकेको समयसीमाभित्र रास्वपा उम्मेदवार अर्यालको मात्र मनोनयन दर्ता भएको हो । रास्वपाको प्रतिनिधि सभामा एकल बहुमत छ ।
अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहनुभएको छ । यस्तै समर्थकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहनुभएकी सोविता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र पार्टी महामन्त्री सुनील लम्साल हुनुहुन्छ । सचिवालयले शुक्रबार नै उम्मेदवारको नामावलीसमेत प्रकाशन गरेको छ । जसमा अर्यालको मात्र मनोनयन भएको विवरण उल्लेख छ । एकल मनोनयन दर्ता भएसँगै अर्याल सभामुखमा निर्विरोध हुने निश्चित भएको छ । तर औपचारिक रूपमा भने चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकले घोषणा गर्ने छ । एकल उम्मेदवारीका कारण प्रस्ताव निर्णयार्थ पेस हुने छैन । मनोनयन दर्तापछि सभामुखका उम्मेदवार अर्यालले संविधान, कानुन र विधिसम्मत रूपमा जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अर्यालले भन्नुभयो, “मलाई संवैधानिक रूपमा प्राप्त हुने जिम्मेवारी संविधान, कानुन र विधिसम्मत रूपमा पूरा गर्ने छु ।” एकाधबाहेक प्रतिनिधि सभामा सभामुख चयन प्रक्रिया सर्वसम्मत रूपमा हुँदै आएका छन् । २०५१ र २०७९ मा भने सभामुख चयन बहुमतीय प्रक्रियाबाट भएको थियो ।
नेपालको संसदीय अभ्यासमा त्यसबाहेक प्रतिनिधि सभा तथा संविधान सभामा समेत सभाध्यक्षहरू सर्वसम्मत चयन भएका थिए । सहमतिको अभ्यास ब्रेक गर्दै दुई दशकपछि २०७९ मा तत्कालीन सभामुख देवराज घिमिरे बहुमतबाट निर्वाचित हुनुभएको थियो । घिमिरेसँग नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले सभामुखमा प्रतिस्पर्धा गर्नुभएको थियो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा घिमिरे सभामुखमा निर्वाचित हुनुभएको थियो ।
२०५१ सालमा पनि सभामुख चयन बहुमतीय प्रक्रियाबाट भएको थियो । २०५१ मा रामचन्द्र पौडेल (वर्तमान राष्ट्रपति) बहुमतबाट निर्वाचित हुनुभएको थियो । पौडेलसँग नेकपा (एमाले) का चन्द्रप्रकाश (सिपी) मैनालीले प्रतिस्पर्धा गर्नुभएको थियो । पुनस्र्थापित प्रतिनिधि सभा र दुवै पटकको संविधान सभामा नेतृत्व निर्विरोध चयन भएको थियो । तिनै पटक एमालेका सुवास नेम्वाङ निर्विरोध हुनुभएको थियो । संविधान सभामा सभाध्यक्षले नै सभामुखको समेत भूमिका निर्वाह गर्ने व्यवस्था थियो ।
२०१५ को पहिलो संसद्मा देववीर पाण्डेको प्रस्ताव फिर्ता भएपछि कृष्णप्रसाद भट्टराई निर्विरोध सभामुख चयन हुनुभएको थियो । २०४८ सालमा पनि झलनाथ खनालको प्रस्ताव फिर्ता भएपछि दमननाथ ढुङ्गाना निर्विरोध हुनुभएको थियो । २०५६ मा कांग्रेसकै तारानाथ रानाभाट सभामुखमा निर्विरोध चयन हुनुभएको थियो ।
रूपान्तरित संसद् र त्यसपछि सङ्घीय संरचनामा भएका निर्वाचनपछिका प्रतिनिधि सभामा पनि सभामुख चयन निर्विरोध भएका थिए । रूपान्तरितमा नेकपा (माओवादी केन्द्र) की ओनसरी घर्ती निर्विरोध सभामुख चयन हुनुभएको थियो । सङ्घीय संरचनामा २०७४ मा भएको निर्वाचनपछि दुई पटक सभामुखको निर्वाचन भयो । दुवै पटक निर्विरोध निर्वाचित भएको नजिर छ । २०७४ फागुनमा भएको निर्वाचनमा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुनुभएको थियो । महराले राजीनामा दिएपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अग्निप्रसाद सापकोटा २०७६ माघमा निर्विरोध सभामुख चयन हुनुभएको थियो ।
उपसभामुखबारे छलफल भएको छैन
यसैबिच रास्वपा सभापति रवि लामिछानेले संवैधानिक व्यवस्था तथा व्यावहारिक पक्षलाई समेत हेरेर उपसभामुख चयन गरिने बताउनुभएको छ । सभामुख मनोनयन प्रक्रियापछि प्रतिक्रिया दिँदै सभापति लामिछानेले सभामुख निर्वाचनको प्रक्रिया पूरा गरेपछि मात्र उपसभामुखका विषयमा छलफल हुने बताउनुभयो ।