डुङ्गा खियाएर नदीको एक किनाराबाट अर्को किनारासम्म पु¥याउने मानिसको परिचय त्यतिमै सीमित छैन उनीहरूले माछा मारेर खाने र बेच्ने पनि गर्छन् । विगतमा माझीको सहायताले खोला नतर्नेहरू कमै होलान् । माझीको आफ्नै वेशभूषा, भाषा र संस्कृति छ । २०७८ सालको जनगणना अनुसार नेपालका ६३ जिल्लामा एक लाख ११ हजार ३५२ माझीको बसोबास रहेको छ । माझी समुदायका आफ्नै चाडपर्व रहे पनि ती ओझेलमा परेका छन् । सङ्ख्यामा कमी हुनु, अनेक कारणले मूलधारमा आउन नसक्नु, राज्यले प्रोत्साहन नगर्ने कारणले ती चाडपर्व माझी समुदायमा मात्रै सीमित बनिरहेका छन् तर कतिपय स्थानीय तहले माझीका चाडपर्व प्रवर्धन गर्नमा जुटेको देखिन्छ ।
अन्न उत्पादन बढाउने र फूलको परागसेचन गराउन मुख्य भूमिका निर्वाह गर्ने किराफट्याङ्ग्राको सङ्ख्यामा कमी आएको छ । मानव जीवनसँग निकट सम्बन्ध राख्ने किराफट्याङ्ग्रा घट्दा त्यसले विश्वव्यापी रूपमा असर पार्ने भएकाले समयमै सचेत हुन खोजकर्ताले अनुरोध गरेका छन् । लामो समयदेखि युरोप र अमेरिकामा किरा कसरी लोप भइरहेको छ भन्नेबारे अध्ययन भए पनि अफ्रिका, दक्षिण अमेरिका र एसियाका धेरै क्षेत्रमा भने किरा लोप भएका बारे कमै अध्ययन भएको छ । नेपालमा पनि किरा लोप भएको बारेमा सरकारी स्तरबाट धेरै खोज हुन सकेको छैन तर त्यसको असर भने किसानलाई पर्न थालेको छ ।
पशु चिकित्सकको अभाव भइरहेका बेला नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको उत्तीर्ण दर सुखद देखिएको छ । पशु चिकित्सकको १९ औँ परीक्षाको नतिजामा ७९ प्रतिशत परीक्षार्थी उत्तीर्ण हुनुले चिकित्सक अभाव खड्किरहेका बखतमा राहत दिएको हो ।
मानिस, पशुपन्छी र कृषि उत्पादनको अन्तर्राष्ट्रिय स्तरमा हुने आवातजावत र ओसारपसारले कृषि तथा पशुपालनको क्षेत्रमा ठुला र डरलाग्दा समस्या ल्याएको छ । खुला सीमा र कमजोर क्वारेन्टाइन (चेकजाँच) का कारण नेपालमा त्यस्ता सङ्क्रमणको जोखिम बर्सेनि बढिरहेको छ ।
साँझ बिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या परेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेपछि किसान मर्कामा पर्न थालेका हुन् ।
डेढ वर्षभित्र विभिन्न छ वटा बाल सुधागृहमा झडप भएका छन् । भक्तपुरमा सुधारगृह नै तोडेर बालबालिका भागेका थिए । क्षमताभन्दा बढी बालबन्दी राखिएकाले अधिकांश बालगृहमा झडप हुने गरेको पाइएको छ । देशका नौ वटा बाल सुधारगृहको क्षमता ५७५ भए पनि ती गृहमा एक हजार १६० बालबालिका छन् । बाल सुधारगृहमा लगातार झडप हुन थालेको १८ महिना पुग्यो । २०७९ असार ६ गते रुपन्देहीको बाल सुधारगृहमा झडप भएपछि समस्या सुरु भएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३, फटकशिलाका कुलप्रसाद तिवारीको गाई मरेपछि किलो रित्तो भएको चार महिना पूरा भएको छ । आर्थिक रूपमा विपन्न उहाँ सरकारले उपलब्ध गराउने भनिएको क्षतिपूर्ति बापतको रकम पर्खिएर बस्नुभएको छ । उहाँले धेरै स्थानमा स्थानीय तहले राहत दिएको सुने पनि आफ्नो गाउँमा कहीँकतैबाट कुनै पनि सहयोग नपाएको गुनासो गर्नुभयो ।
सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको सङ्ख्या र सेवा बढे पनि उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका सम्बन्धमा नियमनकारी निकायले नहेर्दा यो समस्या बढ्दो छ । पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक सवारीसाधनका हकमा सङ्घीय सरकारले हरेक वर्ष विज्ञ समूहसँगको परामर्शमा भाडादर निर्धारण गर्ने गरे पनि विद्युतीय सार्वजनिक सवारीसाधन चल्न थालेको धेरै हुँदा पनि नियमनकारी निकायले वास्ता गरेको छैन । जसका कारण सञ्चालन खर्च निकै नै कम लाग्ने त्यस्ता विद्युतीय सवारीसाधनले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरहकै भाडा असुलिरहेका छन् ।
काठमाडौँबाट पूर्व एक नम्बरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखासम्मका गाउँमा बनेका घिउ, नौनी, पनिर र छुर्पी विगतमा काठमाडौँ उपत्यकामा सहजै पाइन्थ्यो । अझ चाडपर्वमा दूध–दही छेलोखेलो हुन्थ्यो। एकाध परिवारको मात्र विशेष कारणले दूध–दही हुँदैनथ्यो । अहिले गाउँमा अवस्था उल्टिएको छ । एकाध परिवारमा मात्र दूध–दही भेटिन्छ । जसको घरमा पाखुरा दह्रो भएको मान्छे सहर र विदेश पसेको छैन उसका घरमा मात्रै दूध–दही दिने गाई–भैँसी देखिन्छन् ।
कागजमा सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको छ तर व्यवहारमा भने गाडीलाई इन्धनसमेत भर्न नदिने गरी पत्राचार र त्यसै अनुसार कार्यान्वयन पनि भएको छ । आफ्ना कम्पनीका गाडीलाई निःशुल्क एक सय लिटर डिजेल दिने तर अरूलाई भने तेल भर्न नदिने निर्णय भएको छ । सिन्डिकेट हटाइएको छ वर्ष नबित्दै सात सयभन्दा धेरै बस सञ्चालन गर्ने पूर्व अरनिको यातायात सेवा प्रालिले सिन्डिकेटकै झल्को दिने गरी आफ्ना गाडीलाई विभिन्न पम्पमा डिजेल नहाल्ने सूचना जारी गरेको हो ।
यमपञ्चक अन्तर्गत दोस्रो दिन कुकुरको पूजा गरिँदै छ । कुकुरलाई मानव सुरक्षाको महìवपूर्ण र बफादार सहयोगीका रूपमा परम्परागत रूपमा नै लिने गरिएको छ । धार्मिक मान्यता अनुसार यमराजको दूतका रूपमा कुकुरलाई पूजा गरिन्छ । आधुनिक युगमा कुकुरलाई सुरक्षाका साथै अपराध अनुसन्धानमा पनि लगाइन्छ । नेपाल प्रहरीले सामान्य अनुसन्धानबाट नसुल्झिने जटिल घटनाको अनुसन्धानमा कुकुरलाई लगाइरहेको छ । त्यसरी अपराध अनुसन्धानमा कुकुरको स्वभाव अनुसार खटाउने गरिएको छ । ठुला, चुलबुले र चकचके प्रवृत्तिका कुकुरलाई लागुऔषधको अपराध अनुसन्धानमा खटाइने गरिएको छ । शान्त स्वभावका कुकुरलाई भागेका मान्छे ‘ट्र्याक’ गर्ने जिम्मेवारी दिइन्छ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यार्थीलाई मासिक ३० हजार रुपियाँसम्मको छात्रवृत्तिसहित स्नातकोत्तर र विद्यावारिधिको शैक्षिक कार्यक्रम सुरु गरेको छ । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा यही वर्षबाट स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक २५ हजार र विद्यावारिधिमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक ३० हजार रुपियाँको छात्रवृत्तिसहितको भर्ना कार्यक्रम सुरु गरेको छ । यो वर्ष विश्वविद्यालयले ३२ जना विद्यार्थीलाई अध्ययनका लागि भर्ना आह्वान गरेको हो । चित्लाङमा बिहीबार आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार विश्वका राम्रा विश्वविद्यालयसँग प्रतिस्पर्धा गराउन र अनुसन्धानमा आधारित अध्ययनलाई अघि बढाउने उद्देश्यले चार वटा विषयमा भर्ना सुरु गरिएको हो ।
दसैँमा सडक दुर्घटना बढाउने सम्भावनाका कारण रोकिएका टिप्परको आवागमन खुला गरेकै दिन टिप्परको अनियमितताको हद नाघेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ दिनसम्म टिप्पर सञ्चालनमा लगाएको रोक खुल्नेबित्तिकै मङ्गलबार राति बालुवा र गिट्टीको चुली बनाएका (ओभरलोड) टिप्पर सडकमा गुडेका थिए । तीमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले कारबाही गरेको छ तर प्रहरीको आँखा छलेर उत्तिकै टिप्पर पार भएका छन् ।
काभ्रेमा विगत सात वर्षमा ८४९ वटा सहकारी बेपत्ता छन् । तत्कालीन डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये ६४६ वटा मात्र फेला परेका छन् । जिल्ला सहकारी सङ्घले गरेको अध्ययनबाट ती सहकारी बेपत्ता भएको तथ्य सार्वजनिक भएको हो । सङ्घीयता कार्यान्वयनपछि डिभिजन सहकारी कार्यालयले १३ वटा स्थानीय निकायलाई दर्ता भएका सहकारीका कागजात बुझाएको थियो । त्यसपछिका अवधिमा सहकारीका बारेमा चासो र खोजी भएन । सङ्घले गणक खटाएर एक महिनासम्म अध्ययन गरेको थियो ।
मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुुसार एउटा स्वस्थ पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ।