काठमाडौँ, चैत ८ गते । तरकारी खाँदा स्वादिलो, पाकेको खाँदा झनै मिठो र स्वस्थकर अनि सहजै बिक्री हुने रुख कटहरका बोट सुक्न थालेपछि किसान चिन्तामा परेका छन् । मध्यपहाडी काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली जिल्लामा एकै पटक कटहरका बोट सुक्ने समस्या देखिएको छ तर सबैभन्दा धेरै समस्या भने काभ्रेपलाञ्चोकमा छ । तरकारी, पशुपालन र कृषिबाहेक राम्रो आम्दानी हुने र बजारको समस्या नभएको रुख कटहरले राम्रो आम्दानी लिइरहेका त्यहाँका किसान बोट सुक्न थालेपछि चिन्तामा परेका हुन् ।
कुनैबेला बोटले थेगिनसक्नु फल्ने कटहरका बोट धमाधम मर्न थालेपछि चिन्ता बढेको मण्डनदेउपुर नगरपालिका–१० का कृष्ण नेपालले गुनासो गर्नुभयो । सुकेका बोटको राम्रोसँग परीक्षण गरेर रोगको कारण पत्ता लगाएर उपचारमा सहयोग गर्न उहाँले सरकारसँग अनुरोध गर्नुभयो । पालिका र वडामा कटहरका बोट सुकेको जानकारी गराए पनि चासो नै नदिएको नेपालले उल्लेख गर्नुभयो ।
एक सिजनमा एउटै बोटबाट पाँचदेखि १० हजारसम्म आम्दानी हुने गरेकोमा अहिले कटहरका बोट सुकेसँगै किसानको आम्दानीमै समस्या पारेको उहाँले बताउनुभयो । कटहर बेचेर लाखौँ रुपियाँ भित्र्याउने किसानले आम्दानीको राम्रो स्रोत गुमाएको बताउनुभयो ।
साउन लागेपछि कटहर खानकै लागि टाढा टाढाबाट जाने आन्तरिक पाहुना घटेको दुःखेसो उहाँको छ । महादेवस्थानका महेश्वर दाहालले यसअघि अन्य फलफूलका बोट सुके पनि कटहरका रुख सुकेको पहिलो पटक भएको र कृषिविज्ञका लागि पनि चुनौतीको विषय बनेको बताउनुभयो ।