रङ्गेली समाचारदाता
विराटनगर, चैत ११ गते । कोशी प्रदेशका मोरङ–सुनसरीका १० वटा फर्मका कुखुरामा एचफाइभ एनवान (बर्डफ्लु) र मौसमी इन्फ्लुएन्जा (एचवान एनवान) देखिएपछि नष्ट गरिएको छ । अहिलेसम्म दुई जिल्लाका आठ वटा फार्ममा लेयर्स र दुई वटा फार्मका ब्रोइलर कुखुरा नष्ट गरिसकिएको छ ।
व्यवसायीले अहिलेको सङ्क्रमण देखिनुलाई दुई आधार मानेका छन् । जसमा चैतमा हुनुपर्ने बराबरको तापक्रम नहुनु र माघमा विहारमा बर्डफ्लु सङ्क्रमण फैलँदा नेपालका नाकाबाट कुखुरा प्रवेश नरोक्नु ।
नेपाल लेयर्स कुखुरापालक सङ्घ सुनसरी–मोरङका अध्यक्ष होम बाँस्तोलाका अनुसार अहिलेसम्म बर्डफ्लुबाट सङ्क्रमित ३५ हजार कुखुरा र त्यससँग सम्बन्धित सम्पूर्ण सरसामग्री, खोरको सुली र खोरलाई निःसङ्क्रमण गर्ने काम गरिएको छ । त्यसबाहेक दुई लाख २४ हजार कुखुरामा देखिएपछि नष्ट गरिएको छ ।
जिल्ला पशु कार्यालय मोरङका प्रमुख अजयकुमार साहका अनुसार सुरुमा मोरङको सुन्दरहरैँचा–४ स्थित हलेसी महादेव कृषि फार्म र उर्लाबारी–८ स्थित अठियाबारी कृषि फार्मका कुखुरामा देखिएको थियो । त्यसपछि क्रमशः विस्तार हुँदै मोरङ र सुनसरीमा फैलिइरहेको छ । अन्डा उत्पादनका लागि पालिएका लेयर्स सबैभन्दा बढी प्रभावित देखिएको साहले जानकारी दिनुभयो । हालसम्म मोरङका पाँच र सुनसरीका पाँच फार्ममा सङ्क्रमण देखिएको हो ।
मासु व्यवसायी सङ्घ मोरङका अध्यक्ष सुवा शिवाकोटीले कुखुरामा देखिएको सङ्क्रमणको असर व्यवसायमा देखिन थालेको बताउनुभयो । शिवाकोटीले राज्यले सङ्क्रमण फार्मलाई डिस्पोज गर्ने र सुरक्षित फार्मलाई अझै बढी सुरक्षा प्रदान गर्ने कुरामा ध्यान दिनुपर्ने र किसानलाई सहयोग गर्नुपर्ने माग गर्नुभयो ।
भारतको विहारमा गत फागुन पहिलो हप्ता फैलिएको बर्डफ्लुका कारण ८० प्रतिशत फार्मका कुखुरा नष्ट गरिएको व्यवसायीको दाबी छ । त्यहीबेला नेपालमा फागुपूर्णिमा फागुन १९ गते र निर्वाचन फागुन २१ मा परेको थियो । माग उच्च भएका बेला भारतबाट सङ्क्रमित कुखुरा भित्रिएकाले यहाँ समस्या भएको एकाथरीको बुझाइ छ ।
अहिले कुखुरामा देखिएको सङ्क्रमण तापक्रम कम हुँदाको असर भएको नेपाल लेयर्स महासङ्घका अध्यक्ष बाँस्तोला बताउनुहुन्छ । अघिल्लो वर्ष फागुन १५ गतेदेखि तापक्रम बढ्दै जान्थ्यो । चैतमा ३० डिग्री सेल्सियस हुन्थ्यो तर यस पटक फागुनमा तापक्रम बढेन, चैतको पहिलो हप्ता जताततै असिनापानी परेपछि चिसो बढ्यो । जसको असर कुखुराको फार्ममा परेको दाबी छ ।
अध्यक्ष बाँस्तोलाका अनुसार १५ देखि ३० डिग्री सेल्सियस तापक्रममा कुखुरामा लाग्ने यो सङ्क्रमण सबैभन्दा धेरै फैलिन मद्दत पुग्छ । अहिले वातावरण नै अनुकूल भइदिएका कारण यसको सङ्व्रmमण बढ्दो देखिएको हो । तापक्रम ३० देखि ३५ डिग्री सेल्सियस हुने हो भने यो आफैँ कम हुने दाबी गरिएको छ ।