• ११ चैत २०८२, बुधबार

कालिका कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु

blog

भिमापोखरा खेलकुद विकास समिति काठेखोला र धौलागिरी मोबाई पसल बेनी म्याग्दीबिचमा भएको उद्घाटन भलिबल खेल । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) चैत ११ गते ।
चैत्राष्टमी मेला २०८२ को मुख्य आकर्षणको रुपमा रहेको खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । चैत्राष्टमी मेलाको उद्घाटनसँगै भलिबल प्रतियोगिताको पनि उद्घाटन गरिएको हो ।

भलिबल प्रतियोगिताको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले भलिबलका राष्ट्रिय रेफ्री प्रज्वल मल्ललाई भलिबल हस्तान्तरण र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले सर्भिस प्रहार गरेर उद्घाटन गर्नुभएको थियो ।

भिमापोखरा खेलकुद विकास समिति काठेखोला र धौलागिरी मोबाई पसल बेनी म्याग्दीबिचमा भएको उद्घाटन खेल भिमापोखरा खेलकुद विकास समितिले जितेको छ ।

भिमपोखराले बेनीलाई ३—१ मा जितेको हो । पहिलो र दोस्रो सेट लगातार जितेको भिमापोखराले तेस्रो सेट गुमाउँदा चौथो सेट आफ्नो पक्षमा पार्दै उद्घाटन खेलको नतिजा आफ्नो पोल्टामा पारेको हो । खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

द्वितीय हुनेले नगद १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ । महिलो भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र पाउने छन् ।

महिला भलिबलमा पनि विद्यागत रुमा उत्कृष्ट हुने खेलाडीलाई जनही पाँच हजारका दरले पुरस्कृत गरिनेछ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजना भइरहेको मेलामा भलिबल प्रतियोगिताको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल संघ बागलुङले सहकार्य गरेको छ । पुरुष भलिबल प्रतियोगितामा १० समूहको सहभागिता रहेको छ । मेलाको अवसरमा छेलो प्रतियोगिता पनि आयोजना गरिएको छ ।