सुर्खेत समाचारदाता
सुर्खेत, चैत ११ गते । डिभिजन वन कार्यालयले वन्यजन्तु र जडीबुटीको चोरीसिकारी नियन्त्रणमा सक्रियता बढाएको छ । चालु आर्थिक वर्षको चैत दोस्रो सातासम्मको अवधिमा करिब १८६ क्युफिट काठ बरामद गरेको छ भने ४९ टन गुजरगानो नियन्त्रण गर्न सफल भएको छ । कार्यालयले यो अवधिमा नौ वटा मुद्दा दायर गरेको छ । यसमा वन पैदावरतर्फ छ वटा र वन्यजन्तुतर्फ तीन वटा मुद्दा दायर गरेका छन् । गत मङ्सिरमा सुर्खेतको लेकबेँसी नगरपालिकको आरनटुँडाबाट ४९ टन गुजरगानो जडीबुटी बरामद गरिएको छ । प्रतिबन्धित गुजरगानो नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी वरिष्ठ वन अधिकृत नवराज पौडेलले बताउनुभयो ।
यस्तै वन्यजन्तुतर्फ जरायो र बँदेलको मासु बरामद गरिएको छ । यी मुद्दा अनुसन्धानको चरणमा रहेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा चार वटा मुद्दाको फैसला गरिएको छ । जुन सबै वन पैदावारसम्बन्धी रहेका छन् । यसमा २९१ केजी झ्याउ, १२ केजी सिस्नुको पात र ७९ क्युफिट साल काठ बरामदको मुद्दा थियो । यो सबै फैसला भइसकेको जानकारी सूचना अधिकारी पौडेलले दिनुभयो । सो अवधिमा तीन लाख ७१ हजार ४०८ रुपियाँ जरिबाना सङ्कलन भएको छ ।
यसै गरी यो अवधिमा वराहतालको गिरीघाट जङ्गलमा जेनजी आन्दोलनको मौका छोपेर निर्माण गरिएको ४६ वटा अवैध घरटहरा हटाइएको छ । उहाँले मौका छोपेर त्यहाँ बनाइएका अस्थायी घरटहरा सबैको सहयोगबाट हटाइएको बताउनुभयो । उहाँका अनुसार वन्यजन्तु चोरीसिकारी, जडीबुटीको चोरीनिकासीमा नियन्त्रण गर्ने कार्यमा वन कार्यालय सक्रिय भएको छ ।